'फेरि पनि त्यस्तै आन्दोलन गर्न नपरोस् भनेर सुझाव दिन चाहन्छु, जति जना १८ वर्ष पुग्नुभएको छ, भोट हाल्नुहोस् ।'
काठमाडौँ — नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले नेपालमा भएको जेन-जी आन्दोलनले आफ्नो ध्यान खिचेको बताएकी छन् ।
आजदेखि काठमाडौंमा सुरु कान्तिपुर कन्क्लेभ-२०२६ मा मुख्य मन्तव्य दिने क्रममा शिरिनले गत भदौ २३-२४ को जेन–जी आन्दोलनको प्रसंग झिक्दै १८ वर्ष पुगेकाहरुलाई आगामी चुनावमा भोट हाल्न सुझाइन् । 'युवाले उठाएको आवाजका कारण अबको १९ दिनमा चुनाव हुँदै छ । त्यो कुराले म खुसी छु । फेरि पनि त्यस्तै आन्दोलन गर्न नपरोस् भनेर म तपाईंहरुलाई सुझाव दिन चाहन्छु,' उनले भनिन्, 'जति जना १८ वर्ष पुग्नुभएको छ । तपाईंहरु भोट हाल्नुहोस् ।'
नेपालमा जेन-जी आन्दोलन किन र कसरी भयो भनेर निकै चासोका साथ हेरेको उनले बताइन् । 'लोकतन्त्रका लागि गरिएको आन्दोलनले म खुसी भएँ,' उनले भनिन्, 'आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति म हार्दिक श्रदाञ्जली अर्पण गर्न चाहन्छु ।'
