राजनीतिमा नयाँ आएका नेतृत्वलाई पनि प्रश्न गर्न थाल्नुपर्छ : तनुजा पाण्डे

नेपालमा मात्र नभई पश्चिम एसियामै नेतृत्वलाई भगवान् मानेर पूजा गर्ने प्रचलन रहेको भन्दै जेन-जी अभियन्ता तनुजा पाण्डेले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने गरिएको बताइन् ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

New leaders in politics should also be questioned: Tanuja Pandey

काठमाडौँ — राजनीतिमा नयाँ आएकाहरुलाई पनि प्रश्न गर्न थाल्नुपर्ने नेपालकी जेन-जी अभियन्ता तनुजा पाण्डेले बताइन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको दुई दिने ‘कान्तिपुर कन्क्लेभ-२०२६’ को सोमबारको पहिलो सत्र ‘आन्दोलनबाट अवसरतर्फ’ मा उनले यस्तो बताएकी हुन् । 

‘हामी जहाँ छौं त्यहाँ हुनका लागि हाम्रा अभिभावकहरुले धेरै गरे तर उहाँहरुले नेतृत्वलाई प्रश्न गर्न बिर्सनुभयो,’ उनले भनिन्, ‘उहाँहरुले राजनीतिक नेतृत्वलाई पूजा गर्नुभयो । हामीले यो दोहोर्‍याउनु हुँदैन । त्यसैले हामीले नयाँ अनुहारलाई पनि प्रश्न गर्न थाल्नु पर्छ । '

नेपालमा मात्र नभई पश्चिम एसियामै नेतृत्वलाई भगवान् मानेर पूजा गर्ने प्रचलन रहेको भन्दै पाण्डेले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने गरिएको समेत बताइन् । यी सबै अभ्यास र प्रकृयालाई तोड्ने यो ऐतिहासिक समय रहेको उनको भनाइ छ ।

‘धेरै युवाहरु पपुलिजमको आडमा राजनीतिक यात्रा तय गरिरहेका छन्, यो लोकतन्त्रका लागि यो एक किसिमको खतराको संकेत पनि हो,’ उनले भनिन्, ‘यही अभ्यासलाई निरन्तरता दिने हो भने हाम्रो अवस्था यो भन्दा नराम्रो पनि हुन सक्ने सम्भावना छ ।’

संस्थागत स्मृतिलाई बलियो बनाउन समेत काम गर्नुपर्ने उनले सुनाइन् । ‘हरेक वर्ष कुनै न कुनै आन्दोलन हुने गरेको देखिरहेको छौं । यसले हामीलाई रित्तो हात बनाउँछ,’ उनले भनिन्, ‘फेरि हामीले शून्यदेखि सुरुवात गर्नुपर्ने स्थिति छ । हामीले यी आन्दोलनबाट सिकेका डकुमेन्टलाई संस्थागत ‘ममोरी’का रुपमा संग्रह गर्नुपर्छ ।’

कान्तिपुर

Link copied successfully