संस्थापनलाई पठाइयो प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानेसहितका ८ बुँदे प्रस्ताव

प्रस्तावमा कुनै दलसँग चुनावी गठबन्धन नगर्नेदेखि टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्नेसम्मका विषय समेटिएका छन्।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

An 8-point proposal, including announcing Gagan Thapa as the Prime Ministerial candidate, was sent to the establishment.

काठमाडौँ — संस्थापन पक्षसँग भएका वार्ता र छलफलहरू टुंगोमा नपुगिरहेको पृष्ठभूमिमा विशेष महाधिवेशन पक्षधरहरूले ८ बुँदे प्रस्ताव पठाएका छन्।

विशेष महाधिवेशन पक्षधरहरूले पठाएको ८ बुँदे प्रस्तावमा कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने र प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानुपर्ने लगायतका विषय समेटिएका छन्।

८ बुँदे प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिनुपर्ने, कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्नेदेखि टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्नेसम्मका विषय समेटिएका छन्। विशेष महाधिवेशन पक्षधरहरूले पठाएको प्रस्तावमा टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने देखि उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउनेसम्मका विषय समेटिएका छन्। त्यस्तै, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने कुरा पनि उक्त प्रस्तावमा उल्लेख गरिएको छ।

प्रस्तावमा सबै बुँदा कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने र जसमा कार्यवाहक सभापति, २ महामन्त्री र थप २ नेता रहने कुरा पनि उल्लेख गरिएको छ।

सहमति खोज्नका निम्ति मंगलबार दिनभर र बुधबार बिहानैदेखि जारी वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

यी हुन् ८ बुँदे प्रस्तावः

१. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने।

२. परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने।

३. सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने।

४. उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने।

५. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने।

६. कुनै पनि दलसँग गठबन्धन नगरी नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने।

७. नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने।

८. यी सबै कार्यको समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेता रहने।

कान्तिपुर

Link copied successfully