'अहिले बाहिरबाट हेर्दा कांग्रेसमा झगडा भएको देखिन्छ, तर हामीलाई के लागेको छ भने यो झगडा होइन । यो रूपान्तरणको प्रयास हो, जुन अरूले गर्न सकेनन् त्यो हामीले गरेर देखाउँदै छौँ ।'
काठमाडौँ — नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीभित्र देखिएको वर्तमान बहस र विवादलाई ‘झगडा’ नभई ‘रूपान्तरणको प्रस्थानविन्दु’ भएको टिप्पणी गरेका छन् ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै नेता चालिसेले बाहिरबाट हेर्दा कांग्रेसभित्र कलह देखिए पनि त्यो वास्तवमा पार्टीलाई सुदृढ बनाउने प्रयास भएको दाबी गरे । 'अहिले बाहिरबाट हेर्दा कांग्रेसमा झगडा भएको देखिन्छ, तर हामीलाई के लागेको छ भने यो झगडा होइन,' उनले भने, 'यो रूपान्तरणको प्रयास हो, जुन अरूले गर्न सकेनन् त्यो हामीले गरेर देखाउँदै छौँ ।'
नेता चालिसेले पार्टीको कार्यशैली र संवादको स्वरूपमा आएको परिवर्तनलाई रोचक ढंगले प्रस्तुत गरे । उनले पहिले र अहिलेको तुलना गर्दै भने, 'पहिले-पहिले कांग्रेसमा झगडा पनि सल्लाह गरेजस्तो लाग्थ्यो, सुनुँ-सुनुँ लाग्ने । तर अहिले सल्लाह पनि झगडा जस्तो देखिन्छ, अन्तर मात्र त्यति हो ।'
