कांग्रेस महाधिवेशनमा १३ सय २७ प्रतिनिधिले नाम दर्ता गराए, ८ स्टलमा दर्ता जारी

विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

1,327 delegates registered for the Congress general convention, registration continues at 8 stalls

काठमाडौँ — कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा दिउँसोमस्म १ हजार ३ सय २७ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

महामन्त्रीद्वय  गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।

आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा दिउँसो १ः३० बजेसम्म एक हजार ३२७ प्रतिनिधिले नाम दर्ता गरेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशनको केहीबेर अगाडि भृकुटीमण्डमा उद्घाटनसमेत भएको छ ।  संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।

कान्तिपुर

Link copied successfully