कांग्रेस विशेष महाधिवेशनका सहभागी भन्छन्- 'पार्टीमा पुस्तान्तरणका लागि यहाँ आएका हौं'

विशेष महाधिवेशनमा सहभागीले कांग्रेसभित्र नयाँ अनुहारको खोजी र पुस्तान्तरणको मागलाई अघि सारेका छन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Participants of the Congress special general convention say - 'We came here for generational change in the party'

What you should know

काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सक्रियतामा भएको यो महाधिवेशनलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

कतिपयले पार्टीमा रुपान्तरणका लागि यो कदम भएको बताइरहेका छन् भने कतिपयले पार्टी नै टुक्रिने हो कि भन्ने आँकलन गरिरहेका छन् ।

विभिन्न भूगोलबाट महाधिवेशनस्थल आएका प्रतिनि र सहभागीहरू भने यो महाधिवेशनबाट पार्टीमा पुस्तान्तरण हुने विश्वास लिएका छन् । ताप्लेजुङबाट आएका कोशी प्रदेश कार्यसमिति सदस्य इन्द्र केदेम अबको परिवर्तनमा नयाँ अनुहार ल्याउनकै लागि महाधिवेशनमा आएको बताउँछन् ।

‘हाम्रो उद्देश्य नियमित महाधिवेशन हो । नियमित महाधिवेशन नभएपछि हाम्रो विशेष अधिवेशनमा समर्थन हो,’ उनी भन्छन्, ‘शेरबहादुर देउवा हाम्रो अभिभावक हुनुहुन्छ । तर अबको परिवर्तनमा नयाँ अनुहार आउनुपर्छ जसले चुनावमा जान सहज हुन्छ ।’ ताप्लेजुङबाट उनीसहित १३ जना महाधिवेशनस्थलमा आएका छन् ।

गगन थापालाई नै सभापति बनाउनुपर्छ भन्ने उद्देश्यले आएको बताउने केदेम कांग्रेस नफुट्ने कुरामा विश्वस्त छन् ।  ‘अहिले जेनजीहरूको माग गगन थापाहरूले स्वीकार गर्नुभएको छ । उहाँहरू पनि विशेष महाधिवेशले पार्टी नफुट्ने कुरामा विस्वस्त हुनुहुन्छ । हामी पनि छौँ,’ उनी भन्छन् ।

नेपाल विद्यार्थी संघ काभ्रेका उपसभापति सौरभ थापा पनि  देशमा पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रमले अब पुराना मूलधारका पार्टी रुपान्तरण हुन आवश्यक ठानेर हामी उत्साहका साथ महाधिवेशस्थल आएको बताउँछन् । ‘भदौ २३/२४ को आन्दोलनले पार्टीहरूलाई सच्चिने अवसर दिएको छ । कांग्रेस पनि रुपान्तरण हुनुपर्छ भनेर आएका हौँ । अब युवापुस्ताले कांग्रेस पार्टीलाई हाँक्नुपर्छ,’ उनी भन्छन् ।

भक्तपुर क्षेन नम्बर १ कि महासमिति सदस्य सरु बानियाँ महामन्त्रीद्वयले आफूहरूले अभियानलाई नेतृत्व लिएकाले यहाँसम्म आएको बताउँछिन् ।

‘जेनजी आन्दोलनले हामीमाझ नेपाली जनता रुष्ट रहेछन् भन्ने थाहा भयो । परिवर्तन आउनुपर्छ भनेर जिल्लाजिल्लाबाट हस्ताक्षर अभियान गर्यौँ । त्यो हस्ताक्षर अभियानलाई महामन्त्रीद्वयले स्वीकार्नुभयो र हाम्रो अभियानलाई नेतृत्व लिनुभयो,’ उनी भन्छिन्, ‘त्यसैले हामी यहाँ पुस्तान्तरणको लागि आएका हौँ । यो विशेष महाधिवेशनले विधान मात्र हैन नेतृत्व चयन पनि गर्छ ।’

धादिङबाट शुभेच्छुक बनेर आएका विशेष महाधिवेशनका सहभागी राजकुमार उर्लाकोटी अब युवाहरूले पार्टी नेतृत्व लिएर चुनावमा जानुपर्ने बताउँछन् ।

‘अब कांग्रेसले जनताको माझ जाँदा नयाँ अनुहार लिएर जानुपर्छ । यहाँको तमाम उपस्थितिले नयाँ नेतृत्व खोजिरहेको बताउँछ,’ उनी भन्छन् ।  

कान्तिपुर

Link copied successfully