चुनावी गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई-चार सिट बढी आए पनि समानुपातिकमा मत घट्ने र कांग्रेसलाई दीर्घकालीन हानि हुने कोइरालाको भनाइ
काठमाडौँ — कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने बताएका छन् । सोमबार आफ्नै सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूको छलफलमा उनले अहिले राष्ट्रिय सभा र प्रतिनिधिसभाकै उम्मेदवार टुंग्याउनुपर्ने बताएका हुन् ।
माघ ६ गतेपछि विशेष महाधिवेशन पक्षधरसँग छलफल गरेर केन्द्रीय समितिले नै महाधिवेशन बोलाउँदा एकताको सन्देश जाने पनि कोइरालाको भनाइ छ ।
त्यस्तै उनले कांग्रेसले प्रतिनिधिसभा चुनावमा कसैसँग गठबन्धन गर्न नहुनेसमेत बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई-चार सिट बढी आए पनि समानुपातिकमा मत घट्ने र कांग्रेसलाई दीर्घकालीन हानि हुने उनको भनाइ छ ।
छलफलमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीभित्र देखिएको विवाद समाधानमा लागि आफूहरूले शीर्ष नेताहरूसँग भेटघाट गरिरहेको बताइन् । उनले आफूहरू कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको जनाइन् । छलफलमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले बिशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रूपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।
छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायतका नेता थिए ।
