कार्यवाहक सभापति खड्काले बोलाए कांग्रेस पदाधिकारी बैठक

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले विशेष महाधिवेशनको औचित्व समाप्त भएको भनेर निर्णय गरेपछि कांग्रेसभित्र विवाद चर्किएको छ । 

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Acting President Khadka calls meeting of Congress office bearers

काठमाडौँ — कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा बैठक बस्न लागेको हो । 

पार्टीभित्र विशेष महाधिवेशन विवाद र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले विशेष महाधिवेशनको औचित्व समाप्त भएको भनेर निर्णय गरेपछि कांग्रेसभित्र विवाद चर्किएको छ ।

महामनत्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाविधेशन बोलाउनु विधानको बाध्यता रहेको भन्दै पुस २७–२९ का लागि भृकुटीमण्डपको हल बुक गरिसकेका छन् । 

विशेष महाधिवेशनलाई सिंगो कांग्रेसको स्वामित्व लिनेगरी कार्यवाहक सभापति खड्कालाई औपचारिक रूपमा बोलाउन महामन्त्री शर्माले शनिबार भेटेरै आग्रह गरेका थिए । पार्टी केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाएर नीतिगत निर्णय गर्ने र पार्टी एक भएको सन्देश लिएर निर्वाचनमा जाने प्रस्ताव महामन्त्रीले शर्माले गरेका छन् ।

यता माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा संविधान जारी गर्ने सबै राजनीतिक दलहरूबीच भागबण्डा गरेर जाने विषयमा समेत अनौपचारिक छलफल भइरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच अनौपचारिक संवाद भइरहेका छन् । 

‘यसअघि कांग्रेस र एमालेबीचमा मात्रै भागबन्डा गरेर मिल्ने भन्ने भइरहेको थियो, हिजोबाट संविधान निर्माणमा एकठाउँमा रहेका दलहरूबीचमै साझा सहमति बनाएर जाउँ भन्ने कुराकानी भएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

कान्तिपुर

Link copied successfully