शेखर निकट केन्द्रीय सदस्य गोविन्द पोखरेलले धेरै प्रयास गर्दा पनि निर्वाचन अगाडि नियमित महाधिवेशन गराउन चाहे पनि आफू बहुमतको निर्णय मान्न बाध्य भएको जानकारी गराएको बताए ।
What you should know
काठमाडौँ — कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरुले आफैंले सुरु गरेको विशेष महाधिवेशनको मुद्दा किन छोडेको भन्दै नेता शेखर कोइरालालाई प्रश्न गरेका छन् ।
कोइरालाले शनिबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा आफ्नो पक्षका पदाधिकारीसहित केही हस्ताक्षरकर्ताहरुलाई बोलाएर पछि हट्न आग्रह गरेका थिए । हस्ताक्षरकर्ता अभियानका नेता देवराज चालिसेले आफैंले सुरुआत गरेको विशेष महाधिवेशनबाट फर्कन मिल्दैन भन्दै उल्टै कोइरालालाई यसको नेतृत्व लिन आग्रह गरेको बताए । ‘तपाईं आफैले सुरुआत गरेको विशेष अधिवेशनको बीचबाट फर्कन मिल्दैन । बरु, यसलाई स्वामित्व लिएर पार्टी एकता र रुपान्तरण गर्ने सवालमा कसरी परिणत गर्न सकिन्छ ? कसरी उपलब्धिपूर्ण बनाउन सकिन्छ ? कसरी सबैले जित्ने अवस्था निर्माण गर्न सकिन्छ ? सुखद् सन्देश दिनेगरी कसरी प्रतिनिधिहरुलाई जिल्ला–जिल्ला फर्काउन सकिन्छ । त्यो अवसरका रुपमा लिनुहोस् भनेर मैले भनेँ,’ चालिसेले सुनाए, ‘तर उहाँले खासै प्रस्ट जवाफ दिनु भएन ।’
उनले जिम्मेवारीबाट भागेर समस्या समाधान नहुने भन्दै कोइरालालाई यसको नेतृत्व लिएर पार्टीले नै विशेष महाधिवेशन आयोजना गराउने वातवरण बनाउन आग्रह गरेका थिए । ‘विशेष महाधिवेशनबाट हामीहरु एक इन्च पनि पछि हट्न सकिँदैन । त्यसमा संझौता गर्न सकिन्न भनेर हामीले प्रस्ट कुरा राखेका छौं,’ चालिसेले थपे ।
शेखर निकट केन्द्रीय सदस्य गोविन्द पोखरेलले धेरै प्रयास गर्दा पनि निर्वाचन अगाडि नियमित महाधिवेशन गराउन चाहे पनि आफू बहुमतको निर्णय मान्न बाध्य भएको जानकारी गराएको बताए । ‘मैले अनौपचारिक रुपमा सकिन्छ भने नियमित नै गरौं, सकिँदैन भने वडासम्मको गरौं, त्यो पनि नसकिए क्रियाशील सदस्यताको काम सम्पन्न गरेर बसौं भन्दा पनि निर्वाचन अगाडि संभव नहुने कुरा आयो,’ कोइरालाको भनाइ उद्धृत गर्दै पोखरेलले भने,‘सबै सहभागी हुनेगरी केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाऊभन्दा पनि सहमति भएन । नभएपछि बहुमतको निर्णय मान्न बाध्य भएँ ।’
कोइरालाले यसअघि निर्वाचन अगाडि नै नियमित महाधिवेशन बोलाउनुपर्ने अडान लिँदै आएका थिए । नियमित नभए केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउनुपर्ने उनको धारणा थियो । विशेष महाधिवेशन माग गर्नेमा कोइराला निकटका प्रतिनिधिहरुले पनि हस्ताक्षर गरेका छन् । आफू नजिक रहेका हस्ताक्षरकर्ताहरुलाई बोलाएर संझाउँदै फिर्ता गराउने प्रयास थालेका छन् ।
‘विशेष महाधिवेशन बोलाउने वैधानिक जिम्मेवारी हो । विधानभन्दा माथि कोही हुन्न । पार्टीका नेताहरुले नै विधान मान्दिनँ भन्ने, देशको नागरिक संविधान मान्दिनँ भन्ने हो भने लोकतान्त्रिक पद्धतिमा सुहाउने कुरा होइन,’ चालिसेले भने,‘त्यसैले विशेष महाधिवेशन हुन्छ । यो कसैले रुची र अरुचीको विषय बन्न सक्दैन । विधानको व्यवस्था पालना गर्नेतिर जानुपर्छ भन्ने नै नेताहरुलाई हाम्रो सुझाव छ ।’
शनिबार नै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको कानुनी वैधताको विषयलाई लिएर कानुन व्यवसायीहरुसँग परामर्श गरेका थिए ।
