'नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ भने नराखे हुन्छ ।'-कांग्रेस महामन्त्री शर्मा
काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेश डाक्दैमा पार्टी नफुट्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकअगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै महाधिवेशन आह्वान गरेको बताएका हुन् ।
उनले भने, 'नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ भने नराखे हुन्छ ।'
विधानअनुसार नै महाधिवेशन आह्वान गरेको पनि महामन्त्री शर्माको भनाइ छ । 'यो परिस्थितिमा नयाँ नेतृत्वसहित नै चुनावमा जाने कुरा हुनुपर्ने हो । त्यसैले निर्धारित समयमा गर्न सकिएन । विकल्पका रूपमा विशेष महाधिवेशन नै हो,' उनले भने ।
संस्थागत रूपमै विशेष महाधिवेशनका बारेमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरोस् भन्ने आफूहरूले चाहेको पनि उनले बताए ।
नियमित महाधिवेशन हुन नसकेको, विधानले तोकेको समयसीमा नाघिसकेको र नेतृत्व–नीतिप्रति असन्तुष्टि चुलिँदै गएको सन्दर्भमा विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण बढेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७-२९ मा विशेष महाधिवेशन बोलाउने निर्णय लिएका छन् ।
के भन्छन् महामन्त्री शर्मा ?
विधानअनुसार कुनैपनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ । धेरै पार्टीका साथीहरूले आशंका व्यक्त गर्नुभएको छ सबैलाई ढुक्क बनाउन चाहन्छु ।
दोस्रो, अहिलेको राष्ट्रिय परिस्थिति जे छ यो परिस्थितिको बेलामा नेपाली कांग्रेस पार्टीको महाधिवेशन गरेरै, नेतृत्व, नीति र दृष्टिकोण सबै बनाएरै जानुपर्थ्यो । त्यसको लागि हामीले महाधिवेशनको मिति तय गर्यौं । तर त्यो मितिमा मात्र सीमित रह्यो त्यसपछि हामीले सूचना जारी गरेर जानकारी दिएका हौँ ।
