प्रवक्ता प्रकाशशरण महतले क्रियाशील सदस्यता टुंग्याउने र नियमित महाधिवेशन गर्ने विषय नै बैठकको एजेन्डा हुने बताएका छन् ।
What you should know
काठमाडौँ — कांग्रेस महाधिवेशनसम्बन्धी विवाद चुलिएपछि पार्टी कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाइएको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले क्रियाशील सदस्यता टुंग्याउने र नियमित महाधिवेशन गर्ने विषय नै बैठकको एजेन्डा हुने बताएका छन् । अपराह्न ३ बजेलाई कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।
पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २७–२८ पुसमा विशेष महाधिवेशन बोलाउने तयारी गरेपछि पार्टीभित्र गुटगत विवाद चुलिएको छ । महामन्त्रीद्वयकै दबाबमा पार्टीले २६–२९ पुसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याएको थियो । तर, देशैभरको क्रियाशील सदस्यताको विषय नै टुंगिन नसक्दा नियमित महाधिवेशन नहुने भएको छ ।
नियमित नहुने भएपछि महामन्त्रीद्वयले विधानअनुसार विशेष महाधिवेशन बोलाउने तयारी गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षधर संस्थापन पक्षीय नेताहरु विशेष महाधिवेशन स्विकार्न तयार छैनन् । तोकिएको मितिमा नियमित महाधिवेशन नभएपछि अब २१ फागुनको आम निर्वाचनपछि गर्नुपर्ने पक्षमा उनीहरु देखिन्छन् । महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको फरक-फरक अडानले चुनावको मुखमा पार्टीमा विवाद चुलिएको छ ।
‘पार्टीको महाधिवेशन तयारी वा क्रियाशील सदस्यता टुंग्याउने जिम्मेजारी जसले लिनुपर्ने हो । उसलै फन्डा गरिरहेका छन्,’ देउवा निकट नेता महतले भने, ‘जो धामी उही झाँक्री जस्तो भयो । आम चुनावको मुखमा पार्टीको तलदेखि माथिसम्मको पंक्ति चुनावमा होमिने कि ? पार्टीको महाधिवेशनमा ?’
यसैबीच, कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न संस्थापन पक्षका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन बोलाउने निर्णय लिएसँगै दबाबमा रहेको संस्थापन पक्षले सहमतिका लागि सम्भावित विकल्पबारेमा छलफल गर्न बैठक बोलाएको एक केन्द्रीय सदस्यले बताए । बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
