एमालेको समानुपातिक सूची : आदिवासी जनजातिको पहिलो नम्बरमा उपाध्यक्ष थापा र महिलामा सचिव अर्याल

एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पहिलो, दोस्रो र तेस्रो पुस्ताको संयोजन गरी बुझाएको जनाएको छ ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

UML's proportional list: Vice President Thapa is number one among indigenous peoples and Secretary Aryal among women

काठमाडौँ — एमालेले उपाध्यक्ष रामबहादुर थापालाई आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा राखेर समानुपातिक सूची बुझाएको छ । त्यस्तै, महिला क्लस्टरबाट सचिव पद्मा अर्याल एक नम्बरमा परेकी छन् । एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पहिलो, दोस्रो र तेस्रो पुस्ताको संयोजन गरी बुझाएको जनाएको छ ।

पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा, गुरु बराल, पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छ भने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।

पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएको छ । साथै अपांगता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सूचीमा समावेश गरिएको छ ।

नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ । त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ ।

एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेद्वारको सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रूप दिएपछि निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची बुझाउने आज अन्तिम दिन पार्टीले बन्दसूची बुझाएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully