आयोगमा प्रतिक्षा गरिरहेका प्रचार विभागका प्रमुख मीन विश्वकर्माले केहीबेरमा सूची आइपुग्ने जानकारी दिए।
काठमाडौँ — कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची करिब टुङ्ग्याएको छ। आयोगमा प्रतिक्षा गरिरहेका प्रचार विभागका प्रमुख मीन विश्वकर्माले केहीबेरमा सूची आइपुग्ने जानकारी दिए।
अहिले पार्टी कार्यलय सानेपा नजिकै रहेको एक कटेजमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नामको अन्तिम टुङ्गो लगाइरहेको छ।
कांग्रेसभित्रका विभिन्न समूहका नेताबीचको रस्साकस्सीले उम्मेदवार छनोटमा समस्या उत्पन्न भएको एक केन्द्रीय सदस्यले बताए। उनले सम्भवतः केहीबेरमा नाम टुङ्ग्याइने बताए। संस्थापन पक्ष र इतर पक्षबीच नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच बागमती र कोशी प्रदेशमा उम्मेदवार छनोटमा विवाद देखिएको छ।
कोशीमा नेता शेखर कोइरालाले आफ्नो प्रभुत्व स्थापित गर्न खोजेपछि थापाले बागमतीमा आफ्नो प्रभुत्व कायम गर्न खोजेका हुन्। उम्मेदवार छनोटमा सहजता ल्याउन संस्थापन पक्षले साठी प्रतिशत र इतर पक्षले चालिस प्रतिशत सिट पाउने व्यवस्था तय गरिएको थियो।
