नेमकिपासहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरे
काठमाडौँ — फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।
आयोगका अनुसार आइतबार दिउँसोसम्म नेमकिपासहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन् । तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची आयोगमा पेस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आइतबार र सोमबार बन्दसूची पेस गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूची पेस गर्ने कामलाई दुई चरणमा गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए । निस्सा लिएपछि बन्दसूची पेस गर्नका लागि दर्ता गरिने उनको भनाइ छ ।
'आज यतिबेलासम्म ३ वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची यहाँ भेरिफाइड भइसकेको छ । निस्सा लिएर बन्दसूची पेस गर्ने चरणमा उहाँहरू हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहका लागि तयारी अवस्थामा रहेका छौँ,' प्रवक्ता भट्टराईले भने ।
