१४ पुसभित्र समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएपछि प्रत्यक्ष उम्मेदवार छान्ने तयारी
What you should know
काठमाडौँ — प्रतिनिधिसभा पुनःस्थापनालाई मुख्य मुद्दा बनाएको एमाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोटको गृहकार्यमा लागेको छ । प्रदेश र जिल्ला कमिटीहरूले सिफारिस गरेका नामलाई केन्द्रीय कार्यालयमा ‘स्क्रिनिङ’ गरिरहेको एमालेले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक उम्मेदवार छनोटको जिम्मा महासचिव शंकर पोखरेललाई दिएका छन् । प्रतिनिधिसभामा भाग लिने राजनीतिक दलहरूले सोमबारभित्र समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ ।
एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी सर्वोच्च अदालतमा निवेदन दिएको छ । यो रिट छिनोफानो कहिले हुने भन्ने निश्चित नभएकाले एमालेले चुनावी तयारी पनि सँगसँगै अघि सारेको छ । एमालेले चुनावलक्षित पार्टी संगठनहरू परिचालन गरेको छ । मंसिर अन्तिम साता भएको महाधिवेशनमा एमालेले प्रतिनिधिहरूलाई अरू सांगठनिक कार्यक्रमसँगै चुनावको तयारीमा लाग्न निर्देश गरेको थियो । सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा पुनःस्थापन गरिदिए राम्रो, त्यो नभए पनि चुनावमा जाने छँदै छ’ भन्दै एमालेले आफ्ना गतिविधि जारी राखेको छ ।
एमाले सचिव भानुभक्त ढकालले पार्टी लोकतन्त्रप्रति प्रतिबद्ध भएकाले निर्वाचन आयोगका कार्यक्रममा सहभागी भइरहेको बताए । चुनाव हुने वातावरण नभएकाले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने एमालेको निष्कर्ष रहेको उनले बताए । ‘चुनाव हुने अवस्थामा एमाले भाग्दैन,’ उनले भने ।
महाधिवेशनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा प्यानल बनाएर प्रतिस्पर्धा गरी जितेका पदाधिकारीसँग समानुपातिक उम्मेदवारका विषयमा संस्थापन पक्षले परामर्श गरेको छैन । उक्त पक्षले समानुपातिक सूची तयारीका विषयमा सल्लाह नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
उपमहासचिव योगेश भट्टराईले समानुपातिक उम्मेदवारका लागि जिल्लाबाट सिफारिस मागिएको सुनेको भए पनि त्यसबारे पार्टीमा छलफल नभएको बताए । ‘समानुपातिक उम्मेदवारबारे पार्टीमा औपचारिक छलफल भएको छैन । जिल्ला–जिल्लाबाट उम्मेदवारको नाम मागिएको सुनेको छु,’ उनले भने, ‘विगतका निर्वाचनमा पार्टी बैठक बसी मापदण्ड तोकेर नाम माग्ने गरिन्थ्यो ।’
पार्टीले समयमै चुनावमा जाने निर्णय नगर्दा सोचेजस्तो तयारी हुन नसकेको भट्टराईको भनाइ छ । ‘हामीले सुरुदेखि नै चुनावलार्ई प्राथमिकता दिऔं भनेर प्रस्ताव गरेका थियौं तर पार्टी नेतृत्वले बुझेन,’ उनले भने, ‘चुनाव हुने भएपछि जानैपर्ने हुन्छ । समयमै चुनावमा जाने निर्णय गरेको भए तयारी राम्रो हुन्थ्यो ।’
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । समानुपातिक उम्मेदवारका लागि करिब पाँच सय जनाको सिफारिस आएको एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जनकारी दिए । ‘त्यसबाट स्क्रिनिङ गरेर ११० जनाको सूची निर्वाचन आयोगमा पेस गरिनेछ ।’
एमालेले पार्टी नीतिप्रति प्रतिबद्ध, पार्टीको काममा निरन्तरता, समाजमा स्थापित, लोकप्रिय, स्वच्छ छवि भएका व्यक्ति सिफारिस गर्न निर्देशन दिएको थियो । समानुपातिक निर्वाचनका लागि युवालाई पनि प्राथमिकतामा राख्ने एमालेको तयारी छ । केन्द्रीय पदाधिकारीको छिट्टै बैठक बसी समानुपातिक उम्मेदवारको टुंगो लगाउने तयारी छ ।
समानुपातिक उम्मेदवारको सूची तयार गरिसकेपछि एमालेले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि पनि उम्मेदवार छान्ने प्रक्रिया थाल्नेछ । कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलले चुनावमा जाने निर्णय गरिसकेकाले एमालेलाई औपचारिक निर्णय गर्न दबाब छ । निर्वाचनको माहोल बढ्दै जाँदा एमाले नेताहरूको अभिव्यक्ति पनि चुनावप्रति सकारात्मक हुँदै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुने अवस्थामा नभाग्ने बताइसकेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दल कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच शनिबार निर्वाचनको वातावरण बनाउनेबारे बालुवाटारमा छलफल भएको छ । भेटवार्तामा शीर्ष नेताहरुले सरकारले शान्ति सुरक्षाको व्यवस्था मिलारु निर्वाचनको वातावरण मिलाउन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन् ।
मंगलबार पनि मंगलबार पनि शीतल निवासमा संवाद भएपछि चुनावप्रति देखिएको संशय कम हुँदै गएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको संयोजनमा भएको सरकार र प्रमुख तीन दलका शीर्ष नेताहरूको भेटवार्ता चुनावमा केन्द्रित भएको थियो । एमाले अध्यक्ष ओलीले सरकारले नै नेताको स्थान हद गरेको, पार्टीको कार्यक्रम गर्ने वातावरण नबनाएको भन्दै प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको वातावरण बनाउन शुक्रबार प्रमुख तीन दलका नेतालाई निवासमै गएर भेटेका छन् । उनले देउवालाई महाराजगन्ज, ओलीलाई गुन्डु र दाहाललाई हात्तीवनमा भेटेका हुन् ।
शीर्ष नेताहरूलाई भेटपछि खरेलले चुनावको वातावरण बन्दै गएको बताएका छन् । उनले २४ भदौमा आगजनी गरिएका कांग्रेस केन्द्रीय कार्यालय सानेपा, एमाले केन्द्रीय कार्यालय च्यासल र नेकपाको कार्यालय पेरिसडाँडाको मंगलबार अनुगमन गरेका थिए । त्यस अवसरमा उनले चुनावको वातावरण बनाउन सघाउन दलहरूलाई आग्रह गरेका थिए ।
