रवि-बालेन समझदारीका साक्षी केपी खनाल भन्छन्- जनतामा आशा जाग्यो, कुलमानजीहरू पनि यहीँ आउनुहुन्छ

खनाल भन्छन्- कुलमान लगायतका जो परिवर्तनका लागि आउनुभएको छ, उहाँहरु सबै एकठाउँमा आउनुपर्छ । किनभने यहाँ व्यक्ति, चिन्ह, चुनाव र पदभन्दा पनि यो निराशापनको जुन एउटा छायाँ गाडिएको छ, देशमा यसलाई चाँहि सफा गर्नु छ ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

KP Khanal, witness to the Ravi-Balen understanding, says - Hope has risen among the people, even the clan leaders come here

What you should know

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच रातभर भएको छलफल र समझदारी हुँदा उपस्थित जेन-जी केपी खनालले यो निर्णयले जनतामा आशा जागेको बताएका छन् । 

‘केहीअघि भएको जेनजी आन्दोलनका बेला जे माग उठेका थिए, त्यसको नतिजा देखिन्छ भन्ने अपेक्षा पनि यो समझदारीबाट जागेको छ,’ उनले भने, ‘मेयर सा’बलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाँदै गर्दा पार्टी मात्र होइन, देशको प्रणाली नै जागृत गर्न उर्जा ल्याउँछ भन्ने लागेको छ ।’ यो निर्णयपछि अरु वैकल्पिक शक्ति समेत यहीँ उभिने उनले बताए । 

‘बालेन शाहज्यू पनि नयाँलाई कसरी लिएर आउने भन्नेमा हुनुहुन्थ्यो, सभापति रवि लामिछाने पनि आन्तरिक गृहकार्यमा हुनुहुन्थ्यो, त्यसैले समझदारीमा ढिलाइ भएको थियो,’ खनालले कान्तिपुरसँग भने, ‘उहाँहरुको फेरि कुलमान लगायतका जो परिवर्तनका लागि आउनुभएको छ, उहाँहरु सबैसँग कुरा हुन्छ र एकैठाउँमा आउनुहुन्छ ।’ 

प्रस्तुत छ, खनालसँग मध्यरातिसम्म भएको छलफलपछि भएको समझदारीमा केन्द्रीत भएर गौरव पोखरेलले गरेको कुराकानी : 

काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह र रवि लामिछानेबीच जुन समझदारी भएको छ, त्यसले चुनावमा जाँदै गर्दा कस्तोे प्रभाव पार्ला ? 

युवा माँझ परिवर्तनको आशा जगाएको छ । केही अघि भएको जेनजी आन्दोलन र मानिसहरुले जे मागेका थिए, त्यसको नतिजा देखिन्छ भन्ने अपेक्षा जनतामा जागेको छ । अब उहाँ जनतामा जानुभयो, जनताले उत्तर दिने समय आयो । पहिले मेयर सा’बले केही गर्नुभएन, मौन बस्नुभयो भनेर जनताले भन्नुहुन्थ्यो । तर, उहाँहरुले एउटा मार्ग देखाउने काम गर्नुभयो, अब जनताको हातमा छ । यो चुनावले के नतिजा दिन्छ भन्ने कुरासँग जोडिएको विषय हो । अब जनता माँझ गएर हामीलाई जनताको कुरा सुन्नु छ । 

आम जनता माँझमा जुन निराशापन छाएको थियो, आम जनता माँझ एउटा परिवर्तनको आकांक्षा थियो, कहाँबाट यसको नतिजा आउँछ भन्ने थियो । जनतामा त्यो आशा जागेको छ जस्तो लाग्छ । ‘बालेन फर पीएम’ अबको प्रधानमन्त्री बालेन शाह भनेर जाने सोच आएको छ, यो संकल्पले आमजनता माँझ अब पार्टी होइन अब प्रणालीलाई जागृत गर्नका लागि उर्जा ल्याउन सक्छ जस्तो लाग्छ । र, यसको प्रभाव चुनावमा प्रत्यक्ष रुपमा पर्छ भन्ने लाग्छ । 

केही दिनदेखि दुई नेताबीच निरन्तर कुराकानी भइरहेको थियो, गएराति चाहिँ कसरी समझदारी भयो ? 

अब यो कुरा कुरामा चाही सामाजिक संजालमा एक किसिमको भ्रमको पनि अलिकति फैलावट देखिन्थ्यो । मेयर सा’ब एउटा कुरामा स्पष्ट हुनुहुन्थ्यो उहाँलाई पद र प्रतिशतभन्दा पनि देशलाई कसरी विकास गर्ने ? म यदि राष्ट्रिय राजनीतिमा गएँ भने त्यसको प्रभाव के हुन सक्छ जसले गर्दा चाही समाज बदलिन सक्छ भन्ने कुरामा उहाँ स्पष्ट हुनुहुन्थ्यो ।

जस्तो बाहिर रबि लामिछाने र बालेन शाह बीच अझै सहमति हुन सकेन भन्ने खालका जुन किसिमको गतिविधिले जनतामाँझ निराशा फैलिएको थियो । त्यो भ्रम थियो । उहाँहरुबीच दुईतीन दिनदेखि निरन्तर भएको ‘वान टु वान’ वार्तामा पनि उहाँहरु दुईजना स्पष्ट भइसक्नु भएको थियो कि अब हामी पद भन्दा देश पहिलो राखेर एउटा चाहिँ विकास र निकासलाई चाहिँ मार्गदर्शन बनाएर जाने भन्ने कुरामा चाहिँ उहाँहरु एकदमै स्पष्ट भइसक्नु भएको थियो । 

तर ढिलाइ यस कारणले भएको थियो कि मेयर सा’बले चाहिँ केवल रवि लामिछाने र बालेन शाह मात्रै गएर परिवर्तनमा केही कमी हुन सक्छ । यसमा अहिले नयाँ आइरहेका कुलमान लगायतको टोलीलाई पनि अगाडि लाउनु पर्छ र उहाँहरुलाई पनि सँगै लिएर जानुपर्छ भन्ने उहाँ मेयर बालेन शाहको एउटा सोच थियो ।

त्यही सोच अन्तर्गत चाहिँ हिजो पनि सायद रवि लामिछाने आफ्नो आन्तरिक तयारीमा हुनुहुन्थ्यो होला भने बालेन शाह ज्यू पनि नयाँलाई कसरी लिएर आउने भन्नेमा हुनुहुन्थ्यो ।

तर, कुलमान घिसिङ समझदारीमा आउनुभएको देखिएन नि ?

उहाँ समझदारीमा आउनका लागि पहिले सहमतिमा आउनु पर्‍यो नि ! तीन पक्ष भेटघाट तब हुन्थ्यो, जब दुई पक्षीय भेटघाट सहमति भएर अर्को पक्षसँग तयार हुनुहुन्थ्यो । त्यो भनेको बालेन शाहज्यू र कुलमानज्यूबीचकै कुराकानी समझदारीमा आउन नसक्दा सायद नतिजा आउन सकेन । त्यसकारणले गर्दा समझदारी हुँदा बालेन शाह र रवि लामिछानेज्यू मात्रै त्यहाँ देखिनु भयो ।

फेरि पनि उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग कुराकानी हुन्छ ?

त्यो त नहुने भन्ने कुरै छैन । किनभने, कुलमान लगायतका जो परिवर्तनका लागि आउनुभएको छ, उहाँहरु सबै एकठाउँमा आउनुपर्छ । किनभने यहाँ व्यक्ति, चिन्ह, चुनाव र पदभन्दा पनि यो निराशापनको जुन एउटा छायाँ गाडिएको छ, देशमा यसलाई चाहिँ सफा गर्नु छ । त्यसकारणले गर्दा सबै आउनु पर्छ र सबै आउनुहुन्छ भन्ने उहाँहरुमा एउटा विश्वास छ । 

कान्तिपुर

Link copied successfully