लामिछाने आन्तरिक छलफलमा व्यस्त,बालेन भने अमरेशकुमार सिंह, जेन-जी प्रतिनिधिसँगै रास्वपा र उज्यालो नेपालका नेताहरूसँग छलफलमा
काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि छलफल हुने भएको छ । आगामी निर्वाचनमा मिलेर जानेबारे थप छलफल गर्ने भएका हुन् ।
बिहीबार लामिछाने र शाहबीच करिब साढे २ घण्टा छलफल भएको थियो । छलफलपछि सभापति लामिछानेले राम्रो कुराकानी भएको प्रतिक्रिया दिएका थिए । उनले शाहसँग भएको छलफलबारे थप केही बताउन चाहेनन् ।
लामिछाने र शाह निकटका व्यक्तिहरूले दुवै जनाबीच फेरि कुराकानी हुने बताएका छन् । 'उहाँहरू फेरि वार्तामा बस्नेगरी उठ्नु भएको हो, चाँडै फेरि बस्नुहुन्छ,' दुवैपक्षले भनेका छन् ।
शाहसँगको भेटपछि लामिछाने पार्टीको आन्तरिक छलफलमा छन् । बालेन भने अमरेशकुमार सिंह, जेन-जी प्रतिनिधिसँगै रास्वपा र उज्यालो नेपालका नेताहरूसँग छलफलमा छन् । उनी आफ्ना सल्लाहकार कुमार बेनको ललितपुर ज्वागलस्थित घरमा राजनीतिक छलफल गरिरहेका छन् ।
बालेनले बिहीबार बिहान ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, कांग्रेस पूर्वसांसद डा. सुनील शर्मासँग भेटेपछि लामिछानेसँग भेटेका हुन् ।
