नेतृत्व परिवर्तनको दबाबबीच ओलीको ‘ह्याट्रिक’

केन्द्रीय कमिटीमा ओली पक्षकै वर्चस्व बनेको छ भने पदाधिकारीमा ईश्वर पोखरेल पक्षका दुई जना मात्र निर्वाचित भए। ओली प्यानलका उपाध्यक्ष उम्मेदवार गुरु बराल तथा उपमहासचिव उम्मेदवार विष्णु रिमाल र पोखरेल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित भएका छन्।

पुस ४, २०८२

गंगा बीसी, जयसिंह महरा

Oli's 'hat trick' amid pressure for leadership change

What you should know

काठमाडौँ — केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । काठमाडौंमा भएको ११ औं महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनी यसअघि २०७१ को नवौं महाधिवेशन र २०७८ को दसौं महाधिवेशनबाट पनि उनी अध्यक्ष निर्वाचित भएका थिए ।

जेन–जी आन्दोलनपछि पुराना दलमा नेतृत्व हस्तान्तरणको दबाब परिरहेका बेला एमाले महाधिवेशनले भने ओलीको नेतृत्वलाई तेस्रो कार्यकालका लागि पनि अनुमोदन गरेको हो । पार्टीमा आन्तरिक लोकतन्त्र, विधि, पद्धतिको मुद्दा लिएर प्रतिस्पर्धामा उत्रिएका ईश्वर पोखरेल पक्षले पदाधिकारी र केन्द्रीय कमिटीमा ठूलो जित हासिल गर्न नसके पनि पार्टी जीवनको लोकतान्त्रिक अभ्यासलाई ब्युँताएको छ ।

एमाले पदाधिकारीमा ओली प्यानलकै वर्चस्व देखिएको छ । पोखरेल पक्षका दुई पदाधिकारी मात्र विजय भएका छन् । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका हुन् । केन्द्रीय कमिटीमा संस्थापन पक्ष करिब ७० प्रतिशत भएकाले ओली ‘कम्फर्टेबल’ अवस्थामा छन् । केन्द्रीय कमिटी (३०१) मा पोखरेल प्यानलबाट खुला केन्द्रीय सदस्यमा एक दर्जन केन्द्रीय सदस्य मात्र निर्वाचित भएका छन् । 

अध्यक्षमा ओलीले १ हजार ६ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत ल्याए । महासचिवमा शंकर पोखरेल दोहोरिएका छन् । अध्यक्ष ओलीले आफ्नै पक्षका नेताहरूको दबाबबीच महासचिवमा पोखरेललाई जिताउन ठूलो कसरत गर्नुपर्‍यो । अध्यक्ष ओलीले पोखरेललाई जिताउन प्रतिनिधिहरूलाई आन्तरिक निर्देशन दिएका थिए । शंकर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई २२९ मतले पराजित गरे । पोखरेलले (१२२८) र पाण्डेले (९९९) मत ल्याए । पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भए । 

Oli's 'hat trick' amid pressure for leadership change

यो प्रतिस्पर्धाले पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्ने बाटो फराकिलो बनाएको पाण्डेले बताए । ‘एमालेभित्र प्रतिस्पर्धामा अवरोध हुँदै आएको थियो । यो महाधिवेशनबाट प्रतिस्पर्धाको बाटो सम्भव र फराकिलो बनाउन सकेका छौं,’ उनले भने, ‘यो विषम परिस्थितिमा महाधिवेशन र स्वतन्त्र प्रतिस्पर्धा गर्ने अवस्थामाथि आशंका भए पनि सम्भव भयो ।’ 

पाँच उपाध्यक्षतर्फ ओली पक्षका पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा (१५१६) र रघुजी पन्त (१२५८) विजयी भए । पोखरेल पक्षका गोकर्ण विष्ट (१३६८) पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । पन्तलाई दुवै पक्षले उम्मेदवारको सूचीमा राखेका थिए । पराजित हुने उपाध्यक्ष उम्मेदवारहरूमा गुरुप्रसाद बराल (११३७), बिन्दा पाण्डे (९२१), परशुराम मेघी गुरुङ (४६१), अरुण नेपाल (४३९), टंकप्रसाद कार्की (३५८) र भीमप्रसाद आचार्य (२६५) छन् । 

एमालेमा नेतृत्व हस्तान्तरण मुद्दा उठाएका पोखरेल पक्षका योगेश भट्टराई उपमहासचिवमा विजयी भए । ओली पक्षका दुई उम्मेदवारले उपमहासचिव जिते । प्रतिनिधिहरूले पूर्वमाओवादी धारलाई जिताएका छन् । उपमहासचिवमा लेखराज भट्ट (१४५२), रघुवीर महासेठ (१३६८) र भट्टराई (१३४८) विजयी भएका हुन् । ओलीनिकट नेता विष्णु रिमालले उपमहासचिव (१०९१) र केन्द्रीय सदस्य दुवैमा हार बेहोर्नुपर्‍यो । उपमहासचिवमा पोखरेल पक्षका आनन्दप्रसाद पोख्रेल (६३५) र वैजनाथ चौधरी (५१७) पनि पराजित भएका छन् । उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिए पनि राजेन्द्र गौतमले २७० मत ल्याए ।

९ सचिवका लागि भएको निर्वाचनमा सबभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । यसअघि पोलिटब्युरो सदस्य रहेका बस्नेत १ हजार ५ सय ४४ मत ल्याई सचिवमा विजयी भए । यस्तै पद्माकुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३ ), कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१) र कर्णालीका मुख्यमन्त्रीसमेत रहेका यमलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) सचिवमा विजयी भएका छन् । पराजित हुनेहरूमा गोकुलप्रसाद बाँस्कोटा (१०३०), ठाकुरप्रसाद गैरे (८८३), रचना खड्का (८७७), कर्ण थापा (८४७), अग्नि खरेल (७१६), विनोदप्रसाद ढकाल (६८४), कृष्णगोपाल श्रेष्ठ (६२५), लालबाबु पण्डित (४९६), पेम्बा लामा (४९३), पुरुषोत्तम पौडेल (४६२) र इन्द्रलाल सापकोटा (४०५) छन् ।

Oli's 'hat trick' amid pressure for leadership change

पदाधिकारीमा एक जना मात्र महिला पद्माकुमारी अर्याल सचिवमा विजयी भएकी छन् । खुला ७२ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले सबभन्दा धेरै मत ल्याएका छन् । महासचिवका आकांक्षी भए पनि उनलाई ओली पक्षले उपाध्यक्षमा उठाउने प्रस्ताव गरेको थियो । त्यसमा असन्तुष्टि ज्ञवालीले उपाध्यक्षमा मनोनयन दर्ता नगरी केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए । केन्द्रीय सदस्यमा उनले १ हजार ९ सय ४२ मत ल्याएका छन् । महाधिवेशनमा २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका थिए ।

०००

पोखरेल पक्षका एक दर्जन केन्द्रीय सदस्य निर्वाचित

अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । यस्तै, पोखरेल पक्षबाट उपाध्यक्षमा पराजित बिन्दा पाण्डे, सचिवमा पराजित भएका रचना खड्का, कृष्णगोपाल श्रेष्ठ, आनन्द पोखरेल, कर्ण थापा, गोकुल बाँस्कोटा, अग्नि खरेल र ठाकुर गैरे पनि केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । उक्त समूहका कृष्णभक्त पोखरेल, मिन्द्रमान घले, झपट रावल र राजबहादुर बुढा क्षेत्री पनि केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीबाट एमालेमा फर्किएका रामकुमारी झाँक्री र किसान श्रेष्ठ खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महिला क्लस्टरबाट झाँक्रीले १९११ र खुलाबाट श्रेष्ठले १५६० मत ल्याए । घर फर्केका नेताहरूलाई विशेष प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी गराइएको थियो ।

४० वर्षमुनिका केन्द्रीय सदस्य

जेन–जी आन्दोलनपछि एमालेले ४० वर्षमुनिका युवाका लागि केन्द्रीय सदस्यमा क्लस्टर छुट्याएको थियो । ४० वर्षमुनिका केन्द्रीय सदस्यहरूमा गोविन्द गिरी, रुद्रबहादुर शाही, लीलामणि गौतम, नवराज ओझा, निशा अधिकारी, मोबिन आलम, क्षितिज थेबे, सुनिता डंगोल, मनोज ताम्ली र सम्राट गौचन निर्वाचित भएका छन् । त्यस्तै अमरकुमार यादव, रौनिक शाह, नीता घतानी, नरेश रोकाया र सुशीलकुमार थापा पनि युवा क्लस्टरबाट विजयी भएका छन् । अन्य समूहबाट ४० वर्षमुनिका सुहाङ नेम्वाङ, एलिशा गौतम, अस्मिता थापा लगायत पनि निर्वाचित भएका छन् ।

०००

पार्टी मजबुत भएर जान्छ : ओली

अध्यक्ष केपी शर्मा ओली ‘बरु भाँच्चिन तयार हुन्छन्, झुक्न मान्दैनन्’ भन्ने मान्यता एमालेभित्र स्थापित छ । माधवकुमार नेपाल १५ वर्ष पार्टी महासचिव हुँदा ओलीले विद्रोही धार चलाएका थिए । ओली पार्टी जीवनमा लोकतान्त्रिक अभ्यास थालनी गर्ने नेताका रूपमा चिनिन्छन् ।

२०६५ मा रूपन्देहीको बुटवलमा भएको आठौं महाधिवेशनमा ओलीले अघि सारेको पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी प्रस्ताव पारित भएको थियो । त्यतिबेलै पार्टीलाई बहुपदीय सामूहिक नेतृत्वमा रूपान्तरण गर्ने निर्णय भएको थियो । २०७१ को नवौं महाधिवेशनमा यस्तै मूल्य–मान्यताका आधारमा ओली अध्यक्षमा निर्वाचित भएका थिए । 

२०७८ मा चितवनमा भएको दसौं महाधिवेशनमा दोस्रो पटक अध्यक्ष भएपछि भने उनले आफैंले स्थापित गरेको मूल्य–मान्यतालाई तिलाञ्जली दिएको टिप्पणी पार्टीभित्रै हुने गरेको छ । पार्टीभित्रको फरक मतलाई निषेधको नीति लिएको भनी उनीमाथि आलोचना हँॅदै आएको छ । एमालेको जस्तो लोकतन्त्रको अभ्यास अन्य दलहरूले गर्नै नसक्ने दाबी ओलीको छ । 

Oli's 'hat trick' amid pressure for leadership change

जेन–जी विद्रोहका कारण गत २४ भदौमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । बिहीबार तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएपछि ओली जेन–जी विद्रोहको जगमा गठन भएको सरकारविरुद्ध खनिए । ‘एमालेलाई अरूबाट सकिँदैन भनेर आक्रमण गर्ने तयारी भइरहेको छ । एमालेमाथि आक्रमण गर्न त्यति सजिलो छैन । एमाले नेतृत्वलाई छोएको दिन यो देश ठप्प हुनुपर्छ । एमालेलाई छोएको दिन यो सरकार ढल्नुपर्छ,’ शपथपछि उनले भने ।

ओलीले एमाले अझै मजबुत भएर जाने दाबी गरेका छन् । ‘धेरैले एमाले फुट्ने अपेक्षा गरेका थिए । फुटोस् भनेर धुप बालिरहेका थिए । तर तिनीहरूको धुप अब खेर जान्छ,’ उनले भने, ‘म नवनिर्वाचित अध्यक्षको हैसियतले यो भन्दै छु, एमाले अझै मजबुत भएर जान्छ । एमाले यो लोकतान्त्रिक अभ्यासका साथ अगाडि बढ्यो ।’ एमाले नेतृत्वमाथि भौतिक आक्रमण गर्ने र पञ्चायत कालमा जस्तो जाली मुद्दा लगाउने हल्ला मच्चाइएको ओलीको भनाइ थियो । 

उनले पार्टीको सक्रिय र पदीय राजनीतिबाट बिदा लिएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, केशव बडाललगायत नेताहरूलाई धन्यवाद दिएका छन् । 

०००

पराजित उम्मेदवार भन्छन् : पार्टीलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउन सफल भयौं

महाधिवेशनमा पराजित उम्मेदवारहरूले लोकतान्त्रिक विधिमा पार्टी फर्किएको प्रतिक्रिया दिएका छन् । अध्यक्षमा पराजित ईश्वर पोखरेलले महाधिवेशनमा उठाइएका मुद्दाले निरन्तरता पाउनुपर्ने बताए । ‘जनताको बहुदलीय जनवादको प्रकाशमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन गर्न नियन्त्रण र सन्तुलनको सिद्धान्तको पालना आदि महत्त्वपूर्ण विषयमा बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने विश्वास छ,’ उनले भनेका छन् ।

एमाले उपाध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित बिन्दा पाण्डेले पार्टीमा लोकतन्त्र पुनर्स्थापित भएकामा सन्तोष लागेको बताइन् । तर निर्वाचन परिणाम अस्वाभाविक आएको उनको टिप्पणी छ । ‘म त कारबाही परेर भर्खर फिर्ता भएको मान्छे, नेतृत्वले कर्के आँखा लगाएका बेलामा १ हजार १ सय २१ प्रतिनिधिले आशा र विश्वासका साथ मत (केन्द्रीय सदस्यमा) हाल्नुभयो,’ पाण्डेले भनिन्, ‘यो महाधिवेशनमा पार्टीलाई अलिकति लोकतान्त्रिक प्रक्रियामा फर्काउन सक्ने स्थिति बन्यो । १० औं महाधिवेशनमा सौराहामा जाँदा पहिला घोषणा गरेर पछि चुनावको प्रक्रियामा गइएको थियो ।’ 

यो महाधिवेशनमा प्रतिनिधि चयनदेखि नै इतर पक्ष दबाबमा परेको पाण्डेको भनाइ छ । महाधिवेशनका विभिन्न प्रक्रियामा कहाँ के भएको थियो भन्ने समीक्षा गर्न बाँकी रहेको पनि उनले बताइन् । आगामी दिनमा पार्टीको मूल चुनौती आसन्न निर्वाचन र जनतामा पार्टीप्रति बनेको धारणा परिवर्तन रहेको उनको भनाइ छ ।

ओली समूहबाट उपमहासचिवमा प्रतिस्पर्धा गरेका विष्णु रिमाल पराजित भए । उनले केन्द्रीय सदस्य पनि जित्न सकेनन् । ‘प्रतिस्पर्धा भएपछि कि जित कि हार हुने हो । मान्छेलाई मन परेन भोट हालेनन्, हारियो,’ रिमालले भने ।

पोखरेल समूहबाट सचिवमा उम्मेदवार बनेर पराजित भएका कर्ण थापाले पार्टीमा प्रतिस्पर्धाको स्थिति बनाएको बताए । महाधिवेशनको परिणामले भने अध्यक्ष ओलीलाई जसरी चाह्यो त्यसरी पार्टी अगाडि बढाउने नतिजा दिएको उनको भनाइ छ । पोखरेलभन्दा पहिलेदेखि नै ओलीको विपक्षमा उभिएका थापाले आगामी दिनमा पार्टी कसरी अगाडि बढ्छ भन्ने ओलीमै निर्भर रहेको धारणा राखे । ‘महाधिवेशनको परिणाम स्विकार्नॅपर्छ । टिको लगाएर नेतृत्वमा जाने अभ्यास स्थापित हुन खोज्दै थियो, हामीले प्रतिस्पर्धाको स्थिति बनायौं,’ उनले भने । पार्टीभित्र ओली चर्चित भए पनि जनतामा भने त्यस्तो अवस्था नरहेकाले सजग भएर अगाडि बढ्नुपर्ने थापाको धारणा छ । 

केन्द्रीय सदस्यमा निर्वाचित तर सचिवमा पराजित ठाकुर गैरेले पार्टीमा आवश्यक लोकतान्त्रिक अभ्यास र अपेक्षा केही हदसम्म पूरा भएको बताए । ‘आगामी दिनमा यो अभ्यासलाई अझ सुदृढ कसरी गराउन सकिन्छ भन्नेबारे विमर्श आवश्यक छ,’ गैरेले भने, ‘हाम्रो तहबाट भएका कमीलाई सुधारेर जानेछौं । महाधिवेशन प्रतिनिधिले पनि कस्तो भूमिका निर्वाह गर्‍यौं भन्ने समीक्षा पनि गर्नॅहोला ।’ महाधिवेशनले पार्टीमा अहिलेको अवस्था नै ठीक छ भन्ने निष्कर्ष दिएको केन्द्रीय सदस्यमा पराजित उषाकिरण तिम्सिनाले बताइन् । ‘पार्टीमा हामी बदलिनुपर्छ कि पर्दैन भन्ने विवाद थियो । महाधिवेशनले जे छ ठीकै छ भन्ने निर्णय दियो,’ उनले भनिन् ।

सचिवमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित रचना खड्काले प्रतिस्पर्धाबाट आएको परिणामलाई स्विकार्ने बताइन् । ‘हामी प्रतिस्पर्धा पहलकदमीबाट श्रेष्ठता हासिल गर्न चाहन्छौं,’ उनले भनिन्, ‘पहलकदमीबाट प्राप्त भएको परिणामप्रति गर्व गर्छौं ।’ 

लोकतान्त्रिक प्रतिस्पर्धा हुनु उत्तम : विश्लेषक

राजनीतिक दलका नेता र विश्लेषकले एमालेमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रका लागि उत्तम भएको टिप्पणी गरेका छन् । उनीहरूले एमालेले एक वर्षअघि नै महाधिवेशन गरी खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुलाई राम्रो अभ्यास भएको बताएका हुन् । 

लोकतान्त्रिक प्रक्रियाबाट एमाले नेतृत्व चयन भएकाले आगामी दिनमा सहकार्य गर्न सहज हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । ‘अनुभवी नेतृत्व आएकाले र ओलीसँग कांग्रेसले विगतमा पनि सहकार्य गरेकाले अन्यथा सोचिरहनु परेन,’ उनले भने, ‘एमालेमा एक व्यक्तिलाई लिएर देशका राजनीतिक दल वा विश्व समुदायले धारणा बनाउने होइन । अब आन्तरिक लोकतन्त्र र बदलिएको परिस्थितिमा समयानुकूल ढंगले पार्टीलाई लिएर जाने र अन्य दलसँग पनि सहकार्य गरेर एमाले जानेमा थप सक्षम हुनेछ भन्ने विश्वास लिएका छौं ।’

नेकपा नेता नारायणकाजी श्रेष्ठले जेन–जी आन्दोलनपछि दलहरूमा नेतृत्व परिवर्तनसहित रूपान्तरण र पुनर्गठनको मुद्दा उठेका बेला एमाले महाधिवेशन हुनु सकारात्मक भएको बताए । ‘लोकतान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन भयो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने ।

एमालेका पूर्वउपमहासचिव एवं नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले एमालेको नेतृत्वमा फेरि ओली आएकाले राजनीतिक संकट आउने दाबी गरे । ‘उहाँ (ओली) को ओरिन्टेसन आफूले राम्रो नगर्ने, अरूलाई गर्न नदिने हो,’ उनले भने, ‘यतिबेला एमालेमा मुलुकले लिनुपर्ने बाटो देखाउने नेतृत्व चाहिएको थियो । ओलीजी फेरि आउनुभयो । यसले एमालेभित्र र बाहिर संकट बढाउँछ ।’ चुनावी प्रतिस्पर्धा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए ।

एमाले महाधिवेशनले पार्टीभित्र लोकप्रिय नेतृत्वलाई चयन गरेको रास्वपा सचिवालय सदस्य सोबिता गौतमले बताइन् । ‘एमालेका कार्यकर्ता तथा सदस्यहरूको लोकप्रिय नेता को हो भन्ने देखाउने अवसर महाधिवेशन बन्यो । पार्टी कोबाट निर्देशित र सञ्चालन होस् भन्ने चाहन्छन् भन्ने पनि देखियो,’ गौतमले भनिन्, ‘महाधिवेशनबाट आएको नेतृत्व हेर्दा एमाले पहिलाको तुलनामा फरक देखिएन । आम जनता र एमालेका शुभचिन्तकले महाधिवेशनले फरक नेतृत्व चाहेको देखिन्थ्यो तर त्यस्तो नतिजा आएन । एमाले महाधिवेशनले पार्टी नेता र कार्यकर्तालाई पुनर्ताजगी भने दिएको देखिन्छ ।’ 

राजनीतिक विश्लेषक हरि शर्माले जेन–जी आन्दोलनपछि अधिवेशन हुनु लोकतन्त्रका लागि राम्रो अभ्यास भएको बताए । ‘एमालेमा लोकतन्त्रको अभ्यास भएन भन्ने गुनासो थियो । अहिले नेतृत्व चयनका लागि चुनाव भयो । यो महाधिवेशनले अरू दललाई पनि महाधिवेशनमा जान प्रेरित गर्नेछ ।’

निर्वाचित केन्द्रीय सदस्यहरू

Oli's 'hat trick' amid pressure for leadership change

गंगा बीसी

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully