एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले भने, ‘एक हप्ताभित्र टोल–टोलमा सुरक्षा समिति बनाउनुहोस्’

उनले एमाले र अन्य पार्टीहरूलाई अनुरोध गर्दै भने, ‘टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र।’

पुस ३, २०८२

कान्तिपुर संवाददाता

UML's newly elected chairman Oli said, ”Form security committees in every neighborhood within a week.”

What you should know

काठमाडौँ — तेस्रो कार्यकालमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले टोल–टोलमा सुरक्षा समिति बनाएर सुरक्षा गर्न अनुरोध गरेका छन्।

 उनले सरकारको मात्रै भर पर्दा धोका पाउन सकिने भन्दै एक हप्ताभित्र देशभर टोल–टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिए। उनले आफ्नै खुट्टामा उभिएर आफ्नै सुरक्षा गर्नुपर्ने भन्दै अहिले देशमा असुरक्षा रहेको बताए। उनले एमाले र अन्य पार्टीहरूलाई अनुरोध गर्दै भने, ‘टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र।’

उनले अहिले देशमा अराजकता मच्चाउन खोजिएको र एमालेले त्यसलाई रोक्ने दाबी पनि गरे। उनले देशमा कसैले शान्तिको अनुभूति गर्न नपाइरहेको बताउँदै शान्तिको अनुभूति गराउने काम आफ्नै सुरक्षा प्रबन्धबाट मात्रै हुने तर्क गरे। उनले सही कुरा गर्न नडराउन आग्रह गर्दै एमाले साथमा रहेको बताए। उनले उद्योग व्यवसायीहरूलाई सम्बोधन गर्दै एक समय आगो लगाउन आए पनि अब त्यस्ता कुराले स्थान नपाउने भन्दै आफूहरूले त्यसको सुरक्षा गर्ने बताए। उनले भने, ‘तपाईंहरूको उद्योग जलाउन कोही आउँदैन। टोल सुरक्षा समितिले रक्षा गर्छ।’

उनले प्रहरीको मनोबल कमजोर पार्न प्रहरीलाई अनुचित दबाब दिने काम भइरहेको तर्क पनि गरे। उनले जागिरबाट हट्नेबित्तिकै अनुसन्धान विभागका प्रमुखको पासपोर्ट रोक्का गरिएकोमा पनि आक्रोश व्यक्त गरे। उनले भने, ‘अवकाश पाएको एक घन्टाभित्रै प्रहरी महानिरीक्षकलाई स्थानहद तोक्ने ?’ उनले प्रहरीको मनोबल गिराउन यसो गरिएको पनि बताए।

उनले जेन-जी सँग भएको सम्झौता लागु गर्न नदिने बताउँदै राजनीतिक दलहरु यसमा सजग हुनुपर्ने पनि बताए । 

कान्तिपुर

Link copied successfully