एमाले पदाधिकारीमा खसआर्य पुरुषको वर्चस्व, महिला, दलित र मधेसी एक-एकमात्रै

पदाधिकारीमा एमालेले समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन। जसका कारण पार्टीको निर्णायक भूमिकामा रहने पदाधिकारीमा महिला र दलितको प्रतिनिधित्व न्यूनमात्रै भएको छ भने मुस्लिम र थारु समुदाय छुटेका छन्।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

UML office bearers are dominated by Khas Arya men, with only women, Dalits and Madhesis.

काठमाडौँ — एमाले ११औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमा खसआर्य समुदायका पुरुषको वर्चस्व देखिएको छ। जम्बो पदाधिकारी टीम निर्वाचित हुँदा महिला र दलित समेत १/१ जनामात्रै परेका छन्। 

पदाधिकारीमा एमालेले समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन। जसका कारण पार्टीको निर्णायक भूमिकामा रहने पदाधिकारीमा महिला र दलितको प्रतिनिधित्व न्यूनमात्रै भएको छ भने मुस्लिम र थारु समुदाय छुटेका छन्।

अध्यक्षमा केपी शर्मा ओली तेश्रो कार्यकालका लागि निर्वाचित हुँदा पाँच उपाध्यक्ष चयन भए। तर महिला अँटाएनन्। संविधान र कानुनले राज्यका हरेक निकायमा सबै जातजाति र समुदायको समावेशी समानुपातिक प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ।

१९ पदाधिकारीमध्ये १८ जना पुरुष अर्थात् ९४.७४ प्रतिशत छन् भने सचिवमा महिला पद्माकुमार अर्याल एक जनामात्रै निर्वाचित भएकी छन्। मधेसी समुदायका रघुवीर महासेठ उपमहासचिव निर्वाचित भएका छन्। सचिवमै दलित समुदायका छविलाल विश्वकर्मा दोहोरिएका छन्। 

जनजाति समुदायका पृथ्वीसुब्बा गुरुङ र रामबहादुर थापा बादल उपाध्यक्ष तथा सचिवमा शेरधन राई निर्वाचित भएका छन्। जातीय क्लष्टरका आधारमा सबैभन्दा धेरै खसआर्य समुदायको ७३.६८ प्रतिशत, आदिवासी जनजाति १५.७९, महिला, मधेसी र दलित ५.२६ प्रतिशत प्रतिनिधित्व भएको छ। थारु र मुस्लिम समुदाय भने पदाधिकारीमा समेटिएनन्। प्यानलै बनाएर दुई समूहको उम्मेदवारी पर्दा यी समुदायबाट उम्मेदवारी नै परेन। 

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully