धूलो टकटक्याएर उठेको एमालेको ओली नेतृत्व कहाँसम्म पुग्ला  ?

ओली फेरि पनि पुरानै 'ओली' शैलीमै अघि बढ्लान् कि उनले आफूमा बद्लाव ल्याउलान् ?

पुस ३, २०८२

जनकराज सापकोटा

How far will the UML's Oli leadership, which has risen from the ashes, reach?

What you should know

काठमाडौँ — काठमाडौंमा सम्पन्न एमाले महाधिवेशनमा पदाधिकारीहरूको मत परिणाम सार्वजनिक भएपछि बाहिर नारा गुन्जियो, 'आज होइन भोलिलाई, २० वर्ष ओलीलाई ।’ अध्यक्षमा ७४ प्रतिशतभन्दा धेरै मत  ल्याएर  तेस्रो कार्यकालका लागि केपी शर्मा ओली अनुमोदित भएपछि उल्लासको लहरमा यस्तो नारा लाग्नु सर्वथा अनुचित होइन । बरू प्रश्न यो हो, ओलीको तेस्रो कार्यकाल कस्तो होला ? ओली फेरि पनि पुरानै 'ओली' शैलीमै अघि बढ्लान् कि उनले आफूमा बद्लाव ल्याउलान् ?

यसअघि सत्ताबाट एकैचोटि सेनाको ब्यारेकमा पुग्दाको तिक्तता उनीबाट बारम्बार प्रकट हुनु कुनै नौलो कुरा थिएन । तर महाधिवेशनबाट अनुमोदित भएपछि पनि उनी फेरि यही र यस्तै  तिक्तता बोकेर कतिसम्म अघि बढ्लान् ? यही प्रश्नको उत्तरमा लुकेको छ एमालेको भविष्य अनि नेपाली समाजका आगामी दिनको परिदृश्य पनि ।

यो महाधिवेशन एमालेका निम्ति निकै महत्त्वपूर्ण किन थियो भने एमाले धूलो टकट्याएर महाधिवेशनमा होमिएको थियो । अनि सिंगो एमाले नेतृत्व नै प्रश्नको टाकुरामा पुगेको थियो । देशैभरबाट चुनिएर आएका प्रतिनिधिहरूको मतबाट एमालेले नयाँ नेतृत्व पाएको छ । भलै यसमा पुरानै अनुहारको वर्चश्व किन नहोस् !

अनुमोदित भएपछिका दिनमा एमालेले कसरी आफ्ना राजनीतिक कदम चाल्ला र त्यसबाट कस्ता परिणाम निस्केलान् भन्ने कुरा एमाले-वृत्तका लागि मात्रै नभएर सिंगो नेपाली समाजका निम्ति सरोकारको विषय भएकाले पनि यो महाधिवेशन धेरैका लागि चासोको विषय थियो ।

कांग्रेसमा आन्तरिक कलहको धूवाँ पुत्ताउन अझै नसेलाइरहेका बेला अनि नेपाली कम्युनिस्ट पार्टी स-साना दललाई आफूमा समाहित गर्दै के गर्ने र कसो गर्ने भन्ने मनोदशामा अघि बढिरहेका बेला एमाले भने थप स्पष्टताको बाटोमा हिँड्ने चौबाटोमा आइपुगेको छ । जे भए पनि जेन-जी विद्रोहपछि एमालेले आफूलाई महाधिवशेनमार्फत पुनर्ताजगी गर्ने मौका पायो ।

कांग्रेसमा आन्तरिक कलहको धूवाँ पुत्ताउन अझै नसेलाइरहेका बेला अनि नेपाली कम्युनिस्ट पार्टी स-साना दललाई आफूमा समाहित गर्दै के गर्ने र कसो गर्ने भन्ने मनोदशामा अघि बढिरहेका बेला एमाले भने थप स्पष्टताको बाटोमा हिँड्ने चौबाटोमा आइपुगेको छ ।हठात् सत्ताच्यूत भएपछि सिंगो पार्टी पंक्ति नै रक्षात्मक बन्नुपरेको आलो चोट भुल्न पनि एमालेका लागि यो महाधिवेशन सबैभन्दा महत्त्वपूर्ण नजिकको घुम्ती भएको छ । तर समयको यो पेचिलो घुम्ती कटेर मात्रै पार्टीलाई सास भर्न भने अब एमालेले सक्दैन । किनकि, भदौ २३ पछि समयको खोलामा बदलावको धेरै पानी बगिसकेको छ । अनि जन-जनको मनमा दलहरूप्रति र यो व्यवस्थाप्रति नै अनेकन् संशय र प्रश्न जन्माएर हुर्काइसकेको छ । ती सारा प्रश्नलाई महाधिवेशनबाट प्राप्त पुनर्ताजगीबाट मात्रै एमालेले सम्बोधन गर्न सक्छ कि सक्दैन ?  त्यसका निम्ति भने पर्खनैपर्ने हुन्छ ।

वडा तहसम्म फैलिएको एमालेको बृहत् संरचना अनि राज्य संयन्त्रका हर कुनामा एमालेले कायम राखेको पकडले गर्दा एमालेले तय गर्ने हर कदमले यो समाजलाई नजिकबाट प्रभावित पार्ने गर्छ । तर यही एमाले अहिले सबैभन्दा धेरै धारिला प्रश्नको सामुन्नेमा उभिएको छ । एमालेजनले बुझ्नुपर्ने के हो भने महाधिवेशनले एमालेको संगठानत्मक संरचनामा नयाँ मतादेशसहितका प्रतिनिधि आएका मात्रै हुन्, समयले गर्ने प्रश्न त उही पुरानै हुन् । तिनलाई फेरि पुरानै शैलीमा उत्तर दिएर मात्रै बल्झिएको समयबाट न त एमालेले मुक्ति पाउँछ, न नेपाली समाजले नै ।

एमालेले समयको गतिमा आफूलाई प्रमाणित त गर्नु छ नै, विगतमा आफूले खेलेका कदमहरूबाट सिर्जित सारा जस र अपजसको पनि सनै सनै उत्तर दिँदै जानुपर्नेछ । खासगरी जेन-जी विद्रोहको भावभूमि तयार पार्न एमालेले कति भूमिका खेलेको हो र त्यसको केन्द्रमा को थियो भन्ने प्रश्नबाट एमालेको नयाँ नेतृत्व न भाग्न पाउँछ, न त यसमा ओली शैलीमा हाट्टहुट्ट वा गोलमटोल जवाफ दिएर मात्रै उम्किन मिल्छ ।

'जेन-जी विद्रोह डिप स्टेटले तयार पारेको र एउटा स्क्रिप्ट अनुसारको मञ्चन भएको परिदृश्य थियो' भनेर मात्रै एमाले यो समयको सारा उथलपुथलबाट उम्किन सक्दैन र मिल्दैन । एमाले प्रतिनिधिहरूले दिएको भोट पार्टीलाई गतिशील बनाएर लैजान मात्रै होइन, समयको पदचाप पछ्याउँदै अग्रगामी समयको मार्ग तय गर्न पनि हो । यो मार्गमा एमालेले हिजो जस्तै ओठे जवाफ फर्काएर हैन, काम गरेरै आफूलाई प्रमाणित गर्नुपर्छ । त्यसमा ओली कति खरो उत्रेलान् ? यही प्रश्नको उत्तरमा एमालेको भविष्य निर्धारित हुने पक्का छ ।

एमालेको विशाल संगठन दुई कार्यकालदेखि वाचाल ओलीको काँधमा कस्तो स्वरुपमा बस्यो, कस्ता-कस्ता घुम्ती पार गर्दै पार्टी अघि बढ्यो र पार्टीको आन्तरिक जीवनदेखि सत्तायात्रामा उसले के के गर्‍यो भन्नेबारे अहिलेको डिजिटल पुस्ता साह्रै मसिनोगरी जानकार छ । डिजिटल कोलाहलमा  भ्रम फैलाउन वा हर आरोपको तत्क्षण उत्तर दिन त सजिलो छ तर त्यत्तिकै भरमा एमालेले आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्दैन ।

खासगरी ओली शैलीले पार्टीभित्र जे-जस्तो थिति हुर्काएको छ र संस्थागत गरिरहेको छ- त्यसमाथि फेरि पनि समीक्षा नहुने हो भने एमालेसँग भोलिका दिनमा न त प्रतिरक्षाको समय हुनेछ, न समीक्षाको । त्यसबीचमा फेरि एमालेले मात्रै केही गुमाउँदैन, सिंगो नेपाली समाजले त्यसको मूल्य चुकाउनेछ । जसरी भदौ २३ र २४ मा नेपाली समाजले गुमायो । जसरी ती दुई दिनपछि नेपाली समाज एउटा अप्ठ्यारोबाट गुज्रिन बाध्य भयो ।

जेन-जी विद्रोहलाई पूरै निस्तेज गरेर अघि बढिरहेको एमाले त्यो दुई दिनको घटनाबाट नेपाली समाजमा देखा परेका उथलपुथललाई कसरी सम्हालेर लैजान्छ भन्नेमा प्रस्ट छैन । धूलो टकटक्याएर उठ्न त एमाले उठेको छ तर उठ्नु र समयको गतिलाई चिनेर सिंगो समाजलाई अघि बढाउनु फरक कुरा हो । अनि राजनीति भनेकै फरक मत र इतर विचारलाई पनि पाखा नलगाईकन सिंगो समाजलाई कसरी अगाडि बढाउने भन्ने नै हो ।

समाजमा तत्क्षणमा के बिक्छ र के बिक्दैन भन्ने लोकरिझ्याइँको हावा बगिरहेका बेला त्यसैका पछि एमाले लाग्छ कि उसले संयमित भएर आफैंमाथि समीक्षा गर्दै अघि बढ्छ भन्ने कुरा प्रमाणित गर्ने अन्तिम अवसर महाधिवेशनले ओलीलाई दिएको छ । तर यसलाई अवसरका रूपमा लिने कि प्रतिशोधका योजना बनाउने, यसलाई नयाँ मार्ग कोर्ने शक्तिका रुपमा बुझ्ने कि विगतकै हिसाबकिताबमा अल्झेर बस्ने ? त्यो पनि ओलीकै जिम्मामा छ ।

जेन-जी विद्रोहलाई एमाले नेतृत्वले जस्तो भाषा र भावमा परिभाषित गरे पनि त्यो घटना नेपाली राजनीतिको पानीढलो बनिसकेको छ । समाज अनेक विचार र सोचमा खण्ड-खण्डमा विभाजित भएको र दिशाहीनता नै एउटा दिशा हो भनेजस्तो भइरहेका बेला सबैभन्दा ठूलो र शक्तिशाली दलको नयाँ नेतृत्वले खेल्नुपर्ने भूमिका झनै धेरै फराकिलो भएका छन् । अनि प्रतिनिधिसभा पुनर्स्थापना र निर्वाचन दुवै डुंगामा खुट्टा हालेर अघि बढिरहेको एमाले नेतृत्वलाई अब पार्टीभित्रका केही उल्झन छैनन् ।

पार्टीभित्र बसेर प्रश्न गर्नेहरूलाई पनि ताजा मतबाट अध्यक्ष बनेका ओलीले सजिलै उत्तर दिन सक्ने सहजता छ । तर एमाले नेतृत्वले पाएको यो सहजताको लाभ नेपाली समाजले कसरी पाउँछ ? विग्रह र अशान्तपूर्ण समाजको लाभ कहिल्यै पनि दलहरूभित्र बसेर सौम्य राजनीति गर्नेहरूले पाउँदैनन् । बरु त्यसको लाभ मौकापरस्तहरूले छोप्छन्, अशान्तपूर्ण समाज नै समाजको थिति हो भन्ने भाष्य बनाएर यसलाई लम्ब्याइरहन्छन् ।

'आज होइन भोलिलाई, २० वर्ष ओलीलाई' भनेर कार्यकर्ता र शुभेच्छुकहरूले लगाएको नाराको सोझो अर्थ मात्रै छैन । ओलीको कार्यकाल अवधिका हिसाबले वर्षमा गन्न सकिए पनि प्रभावका हिसाबले लामो समयसम्म जाने निश्चित छ । ओली गुटमा छँदा कृष्णगोपाल श्रेष्ठ भन्थे, 'ओली फुटबलका पेले हुन् ।' यसो भन्ने कृष्णगोपाल उनको गुट छाडीवरी महाधिवेशनमा पराजित भइसके । तर, ओली फुटबलको पेले हुन् कि मेस्सी भन्ने खास उत्तर चाहिँ आउँदा कठिन दिनमा उनले खेल्ने भूमिकाले निर्धारण गर्ने पक्का छ ।

जनकराज सापकोटा सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully