निर्वाचनमा हार्दैमा कसैले पार्टी छाड्नुपर्ने अवस्था आउँदैन : थापा 

आफ्नो भूमिकाबारे थापाले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Losing the election will not force anyone to leave the party: Thapa

काठमाडौँ — एमाले केन्द्रीय सदस्यमा निर्वाचित सूर्य थापाले निर्वाचनमा पराजित हुँदैमा कोही पनि पार्टीबाट बाहिर जानुपर्ने अवस्था नआउने बताएका छन् ।

उनले जित्ने उम्मेदवारले पनि आफ्नो जितलाई ठूलो विषय ठान्न आवश्यक नरहेको स्पष्ट पारे । ‘निर्वाचनमा पराजित हुँदैमा पार्टी छोड्नुपर्ने अवस्था आउँदैन र जित्ने उम्मेदवारले पनि आफ्नो जितलाई ठूलो विषय ठान्नु आवश्यक छैन,’ विगतका महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका केही नेताहरू पार्टीबाटै बाहिरिनु परेको थियो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘केपी शर्मा ओलीको नेतृत्वले पराजित नेताको व्यवस्थापन र विजयी नेताको कार्यविभाजनका विषयमा गम्भीर छलफल गर्नेछ । पराजित र विजयी दुवैलाई समेटेर पार्टी अघि बढाइनेछ ।’ उनका अनुसार पार्टीले सबैलाई जिम्मेवारी दिएर काममा लगाउने हिसाबले निर्णय गर्नेछ ।

आफ्नो भूमिकाबारे थापाले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने प्रतिबद्धता जनाए । ‘म पार्टीले दिएको भूमिकाअनुसार जिम्मेवारी पूरा गर्नेछु,’ उनले भने ।

महाधिवेशनबाट आएको परिणामलाई स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै थापा क्षेत्रीले कार्यकर्ताले मिश्रित परिणाम दिएको बताए । उनका अनुसार उक्त परिणामले पार्टीलाई सन्तुलित ढंगले अघि बढ्न सन्देश दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully