महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल गर्न गठन भएका १० समूहले दिएको सुझावलाई समेट्दै महाधिवेशन आज सकिन लागेको हो।
What you should know
काठमाडौँ — नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदैछ। विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव पारित गर्दै सकिनेछ ।
एमाले प्रवक्ता राजेन्द्र गौतमका अनुसार प्रतिवेदनमाथि छलफल गर्न गठन भएका १० समूहले दिएकोसुझावलाई समेट्दै महाधिवेशनले प्रतिवेदन पारित गर्ने बताए ।
यसपटकको एमालेको महाधिवेशनमा पार्टीको आन्तरिक एकता बलियो बनाउने भनेपनि पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता पेन्डिङमा राखेपछि विवादरहित हुन सकेन महाधिवेशनका प्रतिनिधिहरुले आफ्नो समूहमा विद्या भण्डारीको सदस्यतामा रोक लगाएको पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएको शक्तिशाली नेताका नजिकका मान्छेहरूले जिम्मेवारी पाएको भन्दै असन्तुष्टि जनाएका छन् । एमालेको यो विधान महाधिवेशनमा ७० वर्षीय उमेर हद र एउटै नेता दुई कार्यकारी पदमा बस्न नहुने प्रावधानलाई हटाएर पारित गर्न लागेको छ।
एमालेको यो महाधिवेशनमा जनताको बहुदलीय जनवादमा टेकेर नेपाली समाजवादी बाटोमा अघि बढ्ने कार्यनीति तय गर्न लागेको छ। महासचिव शंकर पोखरेलका अनुसार नेपाली विशेषताको समाजवाद भनेको आर्थिक वृद्धि जनताको अधिकार र सत्तामा जनताको प्रतिनिधि चयन हुने मुख्य कुरा रहेको बताएका छन् । त्यस्तै एमालेको यो महाधिवेशनले मिसन ८४ अन्तर्गत आगामी आम निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने गरी कार्यक्रम बनाउने र त्यही अनुसार अभियान चलाउने निर्णय गर्न लागेको छ ।
एमालेको यो विधान महाधिवेशनले समसामयिक राजनीतिक प्रस्ताव पनि पारित गर्नेछ। समसामयिक राजनीतिक प्रस्तावमा सरकारलाई प्रभावकारी बनाउने जनताको सरोकारका मुद्दाहरू उठाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा एमालेको धारणा सार्वजनिक गर्ने प्रवक्ता गौतमले जानकारी दिए ।
