अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले तयार गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावलाई सचिवालय बैठकले सुझावसहित अघि बढाउने निर्णय गर्ने छ ।
What you should know
काठमाडौँ — एमालेको शुक्रबारदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन प्रतिवेदनलाई अन्तिम रुप दिन केन्द्रीय सचिवालयको बैठक आज अपरान्ह बस्दैछ ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले तयार गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावलाई सचिवालय बैठकले सुझावसहित अघि बढाउने निर्णय गर्ने छ । एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले मुख्य तीन प्रतिवेदनलाई अन्तिम रुप दिई महाधिवेशनमा राख्ने निर्णय गर्ने बताए ।
यी तीन प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुले समूहगत रुपमा धारणा राख्नेछन् । एमालेले तीन प्रतिवेनदनलाई सुझावका लागि तल्लो कमिटीमा पठाएको थियो । तल्ला कमिटीले दिएको उचित सुझावहरु समेटेर प्रतिवेदन परिमार्जन गर्ने एमालेको भनाइ छ । अध्यक्ष ओलीको प्रस्तावमा राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने जनाइएको छ ।
‘राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप (मार्गचित्र) प्रस्तुत गरेको छ’ एमालेले भनेको छ, ‘निर्णायक राष्ट्रिय शक्तिका रुपमा पार्टी निर्माणलाई कामको केन्द्रबिन्दु बनाउन निर्देशित गरेको छ ।’
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने विधान संशोधन सम्बन्धी प्रस्तावमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने प्रचार विभाग प्रमुख गौतमले बताए ।
एमालेले आफ्नो विधानमा पार्टीमा दुईखाले पार्टी सदस्यहरुको व्यवस्था, ७० बर्षे उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था र पदाधिकारीमा एकजना महिला अनिवार्य गरेको छ ।
पार्टी महासचिव पोखरेलको संगठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपायहरु, पार्टी निर्माणका क्षेक्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शत्ति निर्माणको राखेको जनाएका छन् । ‘मुलुकमा राजनीतिक स्थायित्व,राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा समृद्धि र सुशासनलाई निर्वाध अगाडि बढाउन राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको कुरामा जोड दिइएको छ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।
