एमालेको महाधिवेशनको मिति अझै तय नभएको र केन्द्रीय कमिटीको निर्णयको आधारमा मात्र अघि बढ्न सकिने जानकारी दिइयो।
काठमाडौँ — एमालेले विधान महाधिवेशन सकेपछि नेतृत्व चयन गर्ने राष्ट्रिय महाधिवेशनको तयारी सुरु गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलले विधान महाधिवेशनले नयाँ नीति बनाइसकेपछि महाधिवेशनका लागि लामो समय लिन नहुने बताएका छन् ।
‘हामी धेरै लामो समय लगाउँदैनौ होला । नेतृत्व चयनको महाधिवेशन गर्ने कुनै मिति तय गरेका छैनौ तर विधान अधिवेशनले नयाँ नीति बनाइसकेपछि संक्रमणकाल लामो राख्नु हुँदैन,’ उनले कान्तिपुरसँग अन्तर्वार्तामा भने, ‘सकेसम्म छोटो अवधिमै टुङ्ग्याउनु पर्दछ । यद्यपि यो विषय केन्द्रीय कमिटीको विषय हो । केन्द्रीय कमिटीको निर्णयका आधारमा अगाडी बढ्न सकिन्छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रियाबाट सुरु हुन्छ । राष्ट्रिय महाधिवेशन छोटो प्रक्रियामा आयोजना गर्न गाह्रो हुन्छ । त्यसका लागि कम्तीमा तीन, चार महिनाको समय त लाग्छ ।’
एमालेको दशौँ महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो ।
