त्रिभुवन विमानस्थलमा देखिने ‘ब्रेन ड्रेन’

‘ब्रेन ड्रेन’ पूर्ण रूपमा रोक्न सम्भव नहुन सक्छ, किनकि विश्वव्यापीकरणको युगमा मानिसले अवसर खोज्नु स्वाभाविक प्रक्रिया हो, तर कम्तीमा पनि बाध्यतावश विदेश पलायन हुने अवस्था अन्त्य गर्न भने राज्य गम्भीर रूपमा अघि बढ्नैपर्छ ।

जेष्ठ ११, २०८३

मनीषा आउजी

'Brain drain' visible at Tribhuvan Airport

What you should know

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केवल यात्रु आउने–जाने स्थान मात्र रहेन, यो अहिले नेपाली युवाको सपना, संघर्ष, निराशा र देशप्रतिको घट्दो विश्वासको जीवित दर्पण बनेको छ । म स्वयं विमानस्थलमा काम गर्ने कर्मचारी भएकाले दैनिक हजारौं नेपाली युवालाई विदेशिँदै गरेको देख्छु । कसैको आँखामा उज्ज्वल भविष्यको सपना हुन्छ, कसैको अनुहारमा घर छोड्नुपरेको पीडा । कोही विद्यार्थी भिसामा विदेश जान लाइनमा हुन्छन्, कोही श्रमिक भिसामा खाडी मुलुकतर्फ प्रस्थान गर्दै हुन्छन् ।

हरेक बिहान विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा भीड बढ्दै जान्छ । आमाबुबाले छोराछोरीलाई अँगालो हालेर बिदाइ गरिरहेका दृश्यहरू सामान्य भइसकेका छन् । कतिपय वृद्ध बुबाआमा आँखाभरि आँसु बोकेर आफ्ना सन्तानलाई अँगालो हाल्छन् ।

नेपालमा अहिले ‘ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायन गम्भीर राष्ट्रिय समस्या बनेको छ । विशेषगरी शिक्षित युवा, दक्ष जनशक्ति र ऊर्जावान् विद्यार्थीहरू ठूलो संख्यामा विदेश गइरहेका छन् । यो केवल व्यक्तिगत अवसर खोज्ने प्रक्रिया मात्र होइन, यो देशभित्र अवसर, रोजगार, गुणस्तरीय शिक्षा र भविष्यप्रतिको विश्वास कमजोर भएको संकेत पनि हो ।

विमानस्थलमा काम गर्ने व्यक्तिका रूपमा मैले दैनिक देख्ने दृश्यहरू अत्यन्त भावुक र सोच्न बाध्य पार्ने हुन्छन् । बिहानैदेखि ट्रलीमा सामान बोकेर लाइनमा उभिएका युवाको भीड हुन्छ । धेरैजसो १८ देखि ३० वर्ष उमेर समूहका हुन्छन् । उनीहरूको अनुहारमा आत्मविश्वास पनि हुन्छ तर भित्र कतै देशप्रतिको निराशा पनि लुकेको देखिन्छ ।

नेपाल सरकारको शिक्षा मन्त्रालयअन्तर्गतको एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०२३/२४ मा मात्रै एक लाख १२ हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि एनओसी लिएका थिए । त्यसैगरी, वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०२४/२५ मा आठ लाख ३९ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका थिए । 

यी तथ्यांकले के देखाउँछन् भने नेपालबाट दैनिक हजारौं मानिस विदेशिने क्रम निरन्तर बढिरहेको छ । यदि यसलाई दैनिक औसतमा हेर्ने हो भने ३ सय हाराहारी विद्यार्थी प्रतिदिन अध्ययनका लागि विदेश जान अनुमति लिइरहेका छन् र २ हजार हाराहारी नेपाली वैदेशिक रोजगारमा गइरहेका छन् ।

विद्यार्थी भिसामा जाने अधिकांश युवाहरू भन्छन्, ‘नेपालमा पढेर भविष्य देखिएन, यहाँ अवसर छैन, राजनीतिक अस्थिरताले जीवन अन्योल बनायो, परिश्रमअनुसार सम्मान र आम्दानी पाइँदैन ।’ श्रमिक भिसामा जाने युवाहरूको अवस्था अझ पीडादायी हुन्छ । धेरैजसो गाउँघरबाट ऋण निकालेर आएका हुन्छन् । कसैले जग्गा धितो राखेका छन्, कसैले सहकारीबाट ऋण लिएका छन् । उनीहरू आफ्नो सपना होइन, बाध्यता बोकेर विदेश जाँदै हुन्छन् ।

नेपालका धेरै शैक्षिक संस्थामा व्यावहारिक शिक्षा, अनुसन्धान र आधुनिक प्रविधिमा आधारित अध्ययन कमजोर छ । त्यसैले विद्यार्थीहरू अन्तर्राष्ट्रियस्तरको शिक्षा खोज्दै विदेश जान चाहन्छन् ।नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारले ठूलो योगदान दिएको विषयलाई अस्वीकार गर्न सकिँदैन । लाखौं परिवारको जीवन विदेशबाट आएको पैसामा चलेको छ । तर प्रश्न यो हो कि, के केवल रेमिट्यान्सकै भरमा देश समृद्ध बन्न सक्छ ? यदि देशका सबै दक्ष युवा विदेशिए भने नेपालको विकास कसले गर्ने ? आज नेपालका धेरै विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थी अध्ययनपछि विदेश जान तयारी गरिरहेको पाइन्छ । इन्जिनियर, डाक्टर, नर्स, आईटी विशेषज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, चार्टर्ड एकाउन्टेन्ट लगायतका दक्ष जनशक्ति विदेशिने क्रम बढ्दो छ । यो अवस्था किन आयो भन्ने प्रश्नको उत्तर खोज्न आवश्यक छ ।

नेपालमा शिक्षित युवाका लागि पर्याप्त रोजगारी छैन । विश्वविद्यालयबाट डिग्री लिएपछि पनि युवाले आफ्नो योग्यताअनुसारको काम पाउन कठिन छ । निजी क्षेत्रमा न्यून तलब, सरकारी क्षेत्रमा सीमित अवसर र राजनीतिक पहुँचको प्रभावले युवामा निराशा बढाएको छ । त्यस्तै, बारम्बार सरकार परिवर्तन, नीतिगत अस्थिरता र भ्रष्टाचारका कारण युवाले देशभित्र भविष्य सुरक्षित देख्न छाडेका छन् । प्रतिभाभन्दा पहुँचले काम गर्ने संस्कृतिले युवालाई विदेशतर्फ धकेल्ने अर्को कारण बनेको छ ।

नेपालका धेरै शैक्षिक संस्थामा व्यावहारिक शिक्षा, अनुसन्धान र आधुनिक प्रविधिमा आधारित अध्ययन कमजोर छ । त्यसैले विद्यार्थीहरू अन्तर्राष्ट्रियस्तरको शिक्षा खोज्दै विदेश जान चाहन्छन् । नेपालमा अहिले विदेश जानु नै सफलताको मापन जस्तो पनि बनिसकेको छ । गाउँघरमा विदेश गएको व्यक्तिलाई बढी सम्मान गर्ने प्रवृत्तिले पनि युवालाई विदेशतर्फ आकर्षित गरेको छ । अर्कोतर्फ, नेपालमा दक्ष जनशक्तिले समेत आफ्नो सीपअनुसारको पारिश्रमिक पाउँदैनन् । विदेशमा त्यही काममा धेरै गुणा बढी तलब पाइने भएकाले युवाले विदेश रोजिरहेका छन् ।

‘ब्रेन ड्रेन’ को असर केवल आर्थिक मात्र होइन, सामाजिक र भावनात्मक पनि छ । गाउँघर युवाविहीन हुँदै गएका छन् । वृद्ध बुबाआमा एक्लिएका छन् । धेरै बालबालिका बाबुआमाको मायाबिना हुर्किरहेका छन् । श्रीमान्–श्रीमतीबीच दूरी बढेको छ । समाजमा पारिवारिक विघटनको समस्या बढिरहेको छ ।

विमानस्थलमा कहिलेकाहीं यस्ता दृश्य पनि देखिन्छन्, आमाले छोरालाई बिदाइ गर्दै रोइरहेकी हुन्छिन्, सानो बच्चाले बाबुको हात समातेर ‘नजानु’ भनिरहेको हुन्छ । तर गरिबी, बेरोजगारी र बाध्यताले ती भावनालाई जितिरहेको हुन्छ ।

‘ब्रेन ड्रेन’ रोक्न भावनात्मक भाषण मात्र पर्याप्त हुँदैन । राज्यले ठोस नीति र व्यावहारिक सुधार गर्नुपर्छ ।

नेपालमा बढ्दो ‘ब्रेन ड्रेन’ लाई कम गर्न राज्यले रोजगारी सिर्जना गर्ने उद्योग, प्रविधि तथा उत्पादनमूलक क्षेत्रको विस्तारमा प्राथमिकता दिनुपर्छ । शिक्षा प्रणालीलाई केवल सैद्धान्तिक नभई व्यावहारिक, अनुसन्धानमुखी र रोजगारीसँग प्रत्यक्ष जोडिने किसिमको बनाउनु आवश्यक छ । युवाहरूलाई स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतामा आकर्षित गर्न सहुलियत नीति, आर्थिक सहयोग र प्रोत्साहन उपलब्ध गराइनुपर्छ । साथै सरकारी क्षेत्रमा पारदर्शिता, सुशासन र योग्यतामा आधारित प्रणाली लागू गरिएमा युवाहरूको देशप्रतिको विश्वास बढ्न सक्छ । विदेशबाट फर्किएका दक्ष नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने स्पष्ट नीति आवश्यक छ भने गाउँदेखि सहरसम्म विकास र अवसरको समान पहुँच सुनिश्चित गर्नुपर्छ । ‘ब्रेन ड्रेन’ पूर्ण रूपमा रोक्न सम्भव नहुन सक्छ, किनकि विश्वव्यापीकरणको युगमा मानिसले अवसर खोज्नु स्वाभाविक प्रक्रिया हो, तर कम्तीमा पनि बाध्यतावश विदेश पलायन हुने अवस्था अन्त्य गर्न भने राज्य गम्भीर रूपमा अघि बढ्नैपर्छ ।

जेन-जी अभिमत

मनीषा आउजी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुब्बा पदमा कार्यरत छिन्

Link copied successfully