रास्वपा ! प्रशंसा मात्रै होइन, प्रश्न पनि गर्नेछौं

इतिहास साक्षी छ, जब–जब कुनै दलले स्पष्ट बहुमत पायो, उसमा शक्तिको उन्माद देखियो । रास्वपाका नवनिर्वाचित प्रतिनिधिहरूलाई मेरो स्पष्ट आग्रह छ । यो बहुमतलाई अहंकारका रूपमा होइन, गम्भीर जिम्मेवारीका रूपमा लिनुहोस् ।

फाल्गुन २७, २०८२

यमुना पाण्डे

RSP! We will not only praise, but also question

निर्वाचनमा रास्वपाले पाएको बहुमत केवल एउटा दलको जित मात्र होइन, यो दशकौंदेखिको परम्परागत राजनीतिक ‘सिन्डिकेट’ विरुद्ध नेपाली जनताले गरेको ‘विद्रोह’ हो । मजस्ता जेन–जीका लागि यो एउटा यस्तो पल हो, जहाँ हामीले पहिलो पटक ‘सम्भव छ’ भन्ने महसुस गरेका छौं । तर यो जितसँगै अबका चुनौती र हाम्रो खबरदारी झनै बढेको छ ।

हामीले सानैदेखि सुन्दै आएका ‘ठूला’ भनिएका दलहरूका ठूला कुरा र साना कामले वाक्क भएरै जनताले विकल्प रोजेका हुन् । यो बहुमत कुनै व्यक्ति वा दलप्रतिको अन्धभक्तता होइन, बरु यो त काम नगर्ने पुराना शक्तिप्रतिको चरम वितृष्णा र नयाँसँगको ठूलो आशा हो । रास्वपाको यो जितले स्पष्ट पारेको छ कि अब नेपाली जनतालाई आश्वासनको पोको होइन, परिणामको प्रमाण चाहिएको छ ।

बहुमत पाउनु जति उत्साहजनक छ, त्यसलाई टिकाउनु र जनताको विश्वास जित्नु त्यति नै चुनौतीपूर्ण छ । अब ‘हामीलाई काम गर्न दिइएन’ वा ‘गठबन्धनले रोक्यो’ भन्ने बहाना बनाउने ठाउँ बाँकी छैन । जनताले पूर्ण ‘म्यान्डेट’ दिएका छन् । अबको नेपाल कस्तो हुने ? के अब भ्रष्टाचारका फाइलहरू साँच्चै खोलिनेछन् ? के अब सरकारी कार्यालयमा जाँदा ‘सोर्स–फोर्स’ बिना काम हुनेछ ? के अब नेपालमै बसेर केही गर्छु भन्ने युवाका लागि राज्यले वातावरण बनाउनेछ ? यी प्रश्नहरूको उत्तर अबको पाँच वर्षमा व्यवहारमै देखिनुपर्छ ।

हाम्रो पुस्तालाई अब गफ होइन, प्रविधि र पारदर्शिता चाहिएको छ । हामी यस्तो नेपाल चाहन्छौं, जहाँ–

१. शिक्षा र सीप : केवल ‘सर्टिफिकेट’ बाँड्ने विश्वविद्यालय होइन, बजारले खोज्ने सीप सिकाउने शैक्षिक केन्द्रहरू होऊन् ।

२. उद्यमशीलता : एउटा नयाँ ‘स्टार्टअप’ खोल्न चाहने युवाले सरकारी प्रक्रियाको झन्झटमा आफ्नो सपना मार्नु नपरोस् ।

३. पारदर्शिता : राज्यका हरेक निर्णय र बजेटको खर्च डिजिटल माध्यमबाट आम नागरिकले हेर्न सकून् ।

४. ‘मेरिटोक्रेसी’ : पहुँच भएकाको होइन, क्षमता भएकाको कदर होस् ।

इतिहास साक्षी छ, जब–जब कुनै दलले स्पष्ट बहुमत पायो, उसमा शक्तिको उन्माद देखियो । रास्वपाका नवनिर्वाचित प्रतिनिधिहरूलाई मेरो स्पष्ट आग्रह छ । यो बहुमतलाई अहंकारका रूपमा होइन, गम्भीर जिम्मेवारीका रूपमा लिनुहोस् । 

हामी त्यो पुस्ता हौं, जसले देशमा राजतन्त्र ढलेको देख्यौं, संविधान बनेको देख्यौं र ठूला भनिएका आन्दोलनहरूका साक्षी बस्यौं । तर, व्यवस्था फेरिए पनि अवस्था कहिल्यै फेरिएन । हाम्रा अग्रजहरूले ‘बलिदान’ को राजनीति गरे, तर हामी अब ‘विकास’ को राजनीति चाहन्छौं । हिजोका दलहरूले जेल बसेको र संघर्ष गरेको इतिहास बेचेर आजको पुस्ताको भविष्यमाथि खेलबाड गरिरहे । रास्वपाको यो बहुमतले ‘इतिहासका व्यापारी’ हरूलाई एउटा कडा सन्देश दिएको छ । अब इतिहासको ब्याज खाएर राजनीति चल्दैन, भविष्यको लगानी गरेर मात्र राजनीति सम्भव छ ।

हामी ‘जेन–जी’ का युवाहरूलाई पुराना दलका लामा भाषण र सैद्धान्तिक बहससँग कुनै सरोकार छैन । हामीलाई सरोकार छ त केवल ‘डेलिभरी’ सँग । हामी चाहन्छौं कि राहदानी बनाउन लाइन लाग्नु नपरोस्, बिरामी हुँदा अस्पतालमा बेड नपाएर मर्नु नपरोस् र एउटा सानो कामका लागि पनि नेताको चाकरी गर्न नपरोस् । रास्वपाले पाएको यो मत ‘परिवर्तनको चेक’ हो, जसलाई अब सुशासनको बैंकबाट भुक्तानी पाउनुपर्छ ।

नेपालको विकासलाई रोक्ने सबैभन्दा ठूलो अवरोध भनेको नीतिगत भ्रष्टाचार र कर्मचारीतन्त्रमा व्याप्त ढिलासुस्ती हो । नयाँ सरकारका लागि यो सबैभन्दा ठूलो अग्निपरीक्षा हो । जनताले अब ‘हामी कोसिस गर्दैछौं’ भन्ने जवाफ सुन्न चाहँदैनन् । हामी हेर्न चाहन्छौं कि वर्षौर्देंखि थन्किएका ठूला भ्रष्टाचारका काण्डहरू कसरी निष्कर्षमा पुग्छन् ।

जबसम्म राज्यको संयन्त्रमा ‘डिजिटाइजेसन’ पूर्ण रूपमा लागू हुँदैन, तबसम्म भ्रष्टाचारको जरै उखेल्न असम्भव छ । रास्वपाले आफ्नो चुनावी एजेन्डामा भनेझैं, अब हरेक सरकारी प्रक्रिया अनलाइन हुनुपर्छ । फाइल ओसार्ने जमानाको अन्त्य हुनुपर्छ र प्रविधिको प्रयोगबाट बिचौलियाहरूको राज समाप्त हुनुपर्छ ।

आजको सबैभन्दा दुःखद यथार्थ भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाहरूको लाम हो । नेपालका गाउँहरू रित्तिएका छन्, सहरहरूमा केवल वृद्धवृद्धाहरू बाँकी छन् । हाम्रो पुस्ताले नेपालमा भविष्य नदेखेरै खाडी र पश्चिमा देशहरूको बाटो रोजेको हो । अबको नयाँ सरकारको सफलताको मापन आर्थिक सूचकांकले मात्र होइन, ‘विमानस्थलमा फर्किने नेपालीहरूको संख्या’ ले गरिनेछ ।

हामीले चाहेको नेपाल यस्तो हो, जहाँ एउटा युवाले आफ्नो आइडिया लिएर सरकारी कार्यालय जाँदा उसलाई ‘अनुदान’ होइन, ‘वातावरण’ दिइयोस् । कृषिमा क्रान्ति केवल नारामा होइन, मल, बीउ र बजारको सुनिश्चिततामा देखियोस् । सूचना प्रविधिको यो युगमा नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउने सम्भावना छ, तर त्यसका लागि राज्यको दृष्टिकोणमा स्पष्टता आवश्यक छ ।

जित्नु मात्र ठूलो कुरा होइन, जितेर जनताको जीवन बदल्नु ठूलो कुरा हो । रास्वपाका नवनिर्वाचित प्रतिनिधिहरूलाई मेरो आग्रह छ, यो बहुमतलाई अहंकारका रूपमा होइन, जिम्मेवारीका रूपमा लिनुहोस् । सत्ताको स्वादले कतै तपाईंहरूलाई पनि पुराना दलहरूकै पथमा त डोर्‍याउने होइन ? भन्ने डर हामीमा अझै छ । त्यसैले, हामी प्रशंसा मात्र गर्दैनौं, हामी ‘वाचडग’ बनेर तपाईंको हरेक कदमलाई सूक्ष्म रूपमा नियाल्नेछौं ।

शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ र असीमित शक्तिले असीमित रूपमा भ्रष्ट बनाउन सक्छ भन्ने इतिहास हामीले बिर्सेका छैनौं । हिजोका क्रान्तिकारीहरू आज कसरी ‘नवसामन्त’ बनेका छन् भन्ने उदाहरण हाम्रै अगाडि छ । त्यसैले नयाँ शक्तिलाई हाम्रो चेतावनी छ । तपाईंहरूलाई हामीले काँधमा राखेर सिंहदरबार पुर्‍याएका हौं, यदि जनताको भावनामाथि लात हान्नुभयो भने सडकमा पुर्‍याउनेछौं ।

हाम्रो पुस्ता सामाजिक सञ्जालमा मात्र सक्रिय छैन, हामी सचेत छौं । हामी नीतिगत भ्रष्टाचार बुझ्छौं, हामी स्वार्थको द्वन्द्व बुझ्छौं र हामी जनताको करको दुरुपयोग भएको सहन सक्दैनौं । त्यसैले हरेक नियुक्तिमा ‘आफ्ना’ होइन, ‘राम्रा’ मान्छे छानियोस् ।

अन्त्यमा, यो परिवर्तनले नेपाललाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेमा म आशावादी छु तर परिवर्तन केवल नेतृत्व परिवर्तनले मात्र हुँदैन, कार्यशैली र सोचमा पनि आमूल परिवर्तन आउनु जरुरी छ । हामी युवाहरू देश बनाउने अभियानमा साथ दिन तयार छौं, तर त्यसका लागि नेतृत्वले इमानदारिताको परिचय दिनैपर्छ । हाम्रो भोटले एउटा दललाई बहुमत दिलायो, अब तपाईंका कामले हाम्रो भविष्य सुनिश्चित गरोस् ।

जेन-जी अभिमत

यमुना

Link copied successfully