जेन–जी : कोही उम्मेदवार, कोही सडकमै

कतिपय जेन–जीहरू २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार पनि हुनुहुन्छ । कैयौं जेन–जी योद्धा जेन–जी सहिद, घाइते र योद्धाका सपना साकार पार्ने उद्देश्यले सडकमै छन् । बोलिरहेका छन् । लेखिरहेका छन् । प्रश्न गरिरहेका छन् ।

फाल्गुन १०, २०८२

आदर्शविक्रम सिंह

Gen-G: Some are candidates, some are on the streets

What you should know

काठमाडौँ — प्रायःजसो कार्यक्रमका योजना, सपना र राजमार्गका रणनीति बनाउने, आयोजना गर्ने र सहकार्य गरेर अगाडि बढ्ने चार जना साथीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको वडा नम्बर ८, खजुराको एउटा घरमा जम्मा भयौं ।

हामी पहिल्यैदेखि देशमा हुने विभिन्न अभियान, विद्रोह, सामाजिक न्याय र सुशासनका लागि सडकमा थियौं । ८ सेप्टेम्बरमा हुने आन्दोलनमा पनि एउटा सचेत नागरिकका हिसाबले कर्तव्य पालना गर्न खोजेका थियौं । त्यसैले, ७ सेप्टेम्बर राति हाम्रो बैठकको मूल विषय थियो– ८ सेप्टेम्बरका दिन देशभर हुने जेन–जी आन्दोलन । सामाजिक सञ्जालले उग्र रूप लिँदै थियो । देशभरिका युवाहरूले ८ सेप्टेम्बरलाई तानाशाहको अन्त्य गर्ने दिनका रूपमा लिइरहेका थिए । जेन–जी तथा युवाहरूले तानाशाह भनेका व्यक्ति थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ।

यो आन्दोलन हुनुका दुईवटा कारण थिए । पहिलो, टिकटकबाहेक सबै सामाजिक सञ्जाललाई नेपाल सरकारले प्रतिबन्ध गरेको थियो । जबकि, नयाँ पुस्ता सामाजिक सञ्जालका प्लाटफर्महरू प्रतिबन्ध हुनु हुँदैन भन्ने पक्षमा थिए । प्रविधिसँगै हुर्किएको पुस्ता जेन–जी र नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्ने बुझाइ थियो ।

दोस्रो, व्याप्त भ्रष्टाचार र संसारभर चलेको नेपो बेबी ट्रेन्ड थियो । नेताहरूको मन्त्री तथा अन्य कुनै सार्वजनिक पद धारण गर्नेबित्तिकै जीवन पूरै कसरी बदलिन्छ ? अनि उनीहरूका छोराछोरी सोही लाभबाट कसरी बिलासी जीवन बाँचिरहेका छन् ? यो प्रश्न प्रधान थियो ।

को हुन् जेन–जी ?

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका पुस्ता जेन–जी हुन् । अर्थात् यो शब्दले एउटा पुस्ता वा उमेर समूहलाई बुझिन्छ । र, पनि जेन–जीका सन्दर्भमा मानिसहरूले फरक फरक मत राख्दै आइरहेका छन् । पहिले जुन परिभाषा युवा भनेर राखिन्थ्यो, अहिले त्यही परिभाषाको पर्याय बन्न पुगेको छ, जेन–जी । हुन त जेन–जी अहिले उमेरको हिसाबले १३ वर्षभन्दा माथि र २८ वर्षभन्दा कम उमेर समूह हो । युवाको उमेर समूहभित्र कतिपय देशमा यही उमेर पनि छ । तर नेपालको सन्दर्भमा युवा भन्नाले १८ वर्षदेखि ३५ वर्ष उमेर समूहलाई बुझिन्छ ।

नेपालमा जेन–जी विद्रोहपछि धेरै पक्षमा परिवर्तन भएका छन् । सर्वप्रथम त जेन–जी विद्रोहपछि के भयो भन्ने सवाल हो । मूलतः विद्रोहपछि अन्तरिम सरकार बन्यो । जेन–जीले डिस्कर्डमार्फत मतदान तथा वार्ता गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए । यो सरकारको अहिलेको मुख्य उद्देश्य निर्वाचन समयमै गर्नु हो ।

सेप्टेम्बर ८ का दिन हामीले के गरेका थियौं ?

सुरुमै मैले चार जनाको समूह लेखेको छु । उक्त समूहमा एक जना म पनि थिएँ । हामीले ८ सेप्टेम्बरका लागि एउटा सार्वजनिक आह्वान गर्‍यौं । भोलिपल्ट हुने विद्रोहमा यदि तपाईं सरिक हुन चाहनुहुन्छ भने निम्न समय र स्थानमा उपस्थित हुनुहोला । हामीले ‘जुरुक्क जेन–जी, जिउँदो कर्णाली’ नामको अभियान गर्ने भन्ने उद्देश्यले सोही नामको लेटरप्याड बनाएर आह्वान पत्र तयार गरेका थियौं । आह्वान पत्र तयार गरेर पोस्ट गरेको केही मिनेटमा नै सामाजिक सञ्जालमा जताततै अरूले पनि पोस्ट र सेयर गर्नुभयो ।

आह्वान पत्र सार्वजनिक गरिसकेपछि हामीले ८ सेप्टेम्बरका दिन के गर्ने भनेर योजनाको मार्गचित्र तयार गर्‍यौं । योजनामा अपराह्न १२ बजे मंगलगढी चोकमा उपस्थित हुने भन्यौं । मंगलगढी चोकबाट ‘माण्ठ हुँ म, माण्ठ’ गीत बजाएर बजार परिक्रमा गर्दै घण्टाघरको पार्कमा कोणसभामा परिणत हुने, अनि घण्टाघरको पार्कमा देशभक्ति गीत र कविता वाचन गर्ने कार्यक्रम तय भएको थियो । जसको कार्यक्रम सञ्चालक म थिएँ ।

तर ८ सेप्टेम्बरमा जब कार्यक्रम सुरु भयो । हामीले अपेक्षा गरेभन्दा ठूलो भीड जम्मा भयो । हामीले तय गरेअनुसार गीत नभई, नारा लगाउँदै बजार परिक्रमा गरेर घण्टाघर पार्कमा पुग्यौं । पार्कमा पुगिसकेपछि एक समूहले यो प्रकृतिको कार्यक्रम नगर्ने भन्यो र उक्त समूह निस्कियो । हामीले भने केही समयको प्रतीक्षा गर्‍यौं । र हामीले तय गरेअनुसार नै कार्यक्रम सम्पन्न गर्‍यौं । हामीले कार्यक्रम सम्पन्न मात्र गरेनौं । हाम्रो विद्रोह अनिश्चितकालसम्मका लागि स्थगित भएको छ पनि भन्यौं ।

९ सेप्टम्बरमा देशले ठूलो घाटा सहनुपर्‍यो । मैले अघिल्लो दिन आन्दोलन अनिश्चितकालसम्मका लागि स्थगित भयो भनेकाले भोलिपल्टका कुनै पनि क्रियाकलापमा उपस्थित भइनँ । कुनै पनि हिंसात्मक र उग्र प्रकृतिका क्रियाकलापमा सरिक हुनु वा त्यस्ता क्रियाकलाप गर्नलाई प्रेरित गर्नु असल नागरिकको काम, कर्तव्यविपरीत पर्दछन्, मलाई यो देशको असल र सचेत नागरिक बन्नु छ ।

जेन–जी विद्रोह हामीले कर्णालीमा जसरी सञ्चालन र समापन गर्‍यौं, ती क्रियाकलाप र सैद्धान्तिक धरातल रक्षा बम समूहसँग मिल्न गयो । त्यसैले म अहिले नेपाल जेन–जी फ्रन्टमा आबद्ध छु । उन्नत लोकन्तन्त्रका लागि वकालत गर्दछु । जवाफदेहिता, पारदर्शिता, सामाजिक न्याय र सुशासनका लागि प्रश्न गर्छु । नागरिकभन्दा माथि कोही छैनन् र प्रश्नको कठघराबाट कोही उम्कनु हुँदैन भन्ने ठान्छु ।

उक्त आन्दोलनमा ४५ जना सहिद भएका छन् । जम्मा ७६ जनाको मृत्यु भएको छ । र, झन्डै २५०० जना घाइते भएका छन् । यो दुःखद् घटना हो । यद्यपि जेन–जी विद्रोहलाई सरकारले २०८२ को जनआन्दोलन मान्ने र २३ भदौलाई जेन–जी सहिद दिवस मनाउने निर्णय गरेको छ ।

यो विद्रोहका बाछिटाहरू अझै छन् । विद्रोहले निकास पाइसकेको छैन । देश अझै संक्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको छ । यसको निकासका लागि काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सहमति भइसकेको छ । सहमतिको पहिलो बुँदामा जेन–जीका मागलाई संस्थागत गर्ने भनिएको छ । कतिपय जेन–जीहरू २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार पनि हुनुहुन्छ । कैयौं जेन–जी योद्धाहरू जेन–जी सहिद, घाइते र योद्धाका सपना साकार पार्ने उद्देश्यले सडकमै छन् । बोलिरहेका छन् । लेखिरहेका छन् । प्रश्न गरिरहेका छन् ।

आदर्शविक्रम सिंह

Link copied successfully