कस्तो शिक्षा प्रणाली ?

आखिर शिक्षा त्यस्तो प्रमुख साधन हो, जसले व्यक्ति र उसको परिवारलाई गरिबीबाट उकासेर समृद्धि र विकासतर्फ डोर्‍याउन सक्छ । शिक्षाको मूल्य सधैं निर्विवाद रहँदै आएको छ ।

फाल्गुन ८, २०८२

मनीष लामिछाने

What kind of education system?

What you should know

 देश राजनीतिक परिवर्तन र राजनीतितर्फ बढी ध्यान दिइरहँदा, परिवर्तनका लागि अत्यावश्यक आयामहरूलाई बिर्सनु हुँदैन । बास, गाँस, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात जस्ता कुराहरूले आमजनतताका लागि मूल रूपमा फरक पार्दछ र यिनले जहिल्यै प्राथमिकता पाउनुपर्छ । राजनीतिक समस्या पावर र पदमा मात्र सीमित नभई ती राजनीतिक परियोजनाले जनताको आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थितिलाई कसरी विकास गरिरहेको छ र तीनमा कस्तो असर पारिरहेको छ भन्ने विषयले अत्यन्त प्रभाव पार्न पुग्छ ।

२०२८ सालमा राष्ट्रिय शिक्षा प्रणाली लागू भएपछि र नेपाली समाज विश्वव्यापीकरणसँगै परिपक्व हुँदै जाँदा, आमजनतामा शिक्षाको महत्त्वप्रति ठूलो परिवर्तन देखिएको थियो । उच्च शिक्षा हासिल गर्नु सफलताको शिखरको प्रतीक मानिन थाल्यो । एसएलसी पास गर्नुलाई पनि सम्भावनाहरूको ढोका खुलेको रूपमा अर्थ्याइन्थ्यो । हुन पनि बाह्य देशबाट शिक्षा हासिल गरेर आउनेहरूले नेपालको राजनीतिक, आर्थिक र सामाजिक चेतनामा ठूलो परिवर्तन ल्याउन थालेका थिए ।

शिक्षालाई अन्धकारमा उज्यालो बाल्ने माध्यमका रूपमा हेरिन्छ, त्यसैले आर्थिक कठिनाइका बीचमा पनि नेपाली अभिभावकहरूले आफ्ना सन्तानको शिक्षालाई प्राथमिकता दिन्छन् । आखिर शिक्षा त्यस्तो प्रमुख साधन हो, जसले व्यक्ति र उसको परिवारलाई गरिबीबाट उकासेर समृद्धि र विकासतर्फ डोर्‍याउन सक्छ । शिक्षाको मूल्य सधैं निर्विवाद रहँदै आएको छ । तर शिक्षित बेरोजगारको बढ्दो संख्या, वैदेशिक रोजगारीतर्फको बढ्दो पलायन, सीमा बन्देज गर्ने नेपाली शिक्षा प्रणाली र शैक्षिक प्रमाणपत्रहरूको घट्दो मूल्यले नेपालमा शिक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

नेपालमा शिक्षा- जुन विश्वभर प्रायः औपचारिक शिक्षाकै रूपमा रहेको छ- शिक्षक र पुस्तकमा सीमित छ । तर यसमा प्रायः वास्तविक र व्यावहारिक सत्यको अभाव हुन्छ, जसले बालबालिका र विद्यार्थीलाई सम्भावना र ज्ञानको साँघुरो क्षितिजमै सीमित गर्छ ।  औपचारिक शिक्षा प्रणाली
चैतन्य मिश्रले आफ्नो लेख ‘शैक्षिक संस्थाहरू र शैक्षिक राजनीति’ मा नेपाली शिक्षा प्रणाली अत्यधिक औपचारिक प्रकृतिमा सीमित भई व्यक्तिको जीवन र समाजबाट टाढिएर रहेको उल्लेख गरेझैं केवल डिग्री वा प्रमाणपत्रमा सीमित शिक्षाले मानव क्षमताको पूर्ण अभिव्यक्ति र मूल्यवान् जीवन जिउने स्वतन्त्रता दिन सक्दैन ।

औपचारिक शिक्षाको अभावले पनि केही व्यक्तिहरू लाभान्वित भएका अनेक उदाहरण छन् । आजको नेपाली समाज आर्थिक सुरक्षा र उच्च शिक्षाबीच द्विविधामा छ । नेपालभित्र उपयुक्त आर्थिक बजार नपाउँदा शिक्षित व्यक्तिहरूको निराशा बढ्दै गएको छ, जबकि कम औपचारिक शिक्षा भएकाहरू- चाहे वैदेशिक रोजगारीबाट होस् वा उच्च डिग्री नचाहिने कामबाट- आर्थिक सुरक्षा र सफलताको बाटो खोजिरहेका छन् । यद्यपि औपचारिक शिक्षाबिना नै कोही सफल भए पनि, उनीहरू आफ्ना सन्तानलाई औपचारिक शिक्षाबाट वञ्चित गर्न चाहँदैनन् ।

नेपालमा शिक्षा- जुन विश्वभर प्रायः औपचारिक शिक्षाकै रूपमा रहेको छ- शिक्षक र पुस्तकमा सीमित छ । तर यसमा प्रायः वास्तविक र व्यावहारिक सत्यको अभाव हुन्छ, जसले बालबालिका र विद्यार्थीलाई सम्भावना र ज्ञानको साँघुरो क्षितिजमै सीमित गर्छ । समाज नै वास्तविकता र सत्यसँग डराएको जस्तो देखिन्छ, त्यसैले सानै उमेरदेखि बालबालिकालाई सीमाभित्र राखेर पढाउन खोजिन्छ । हामीलाई थाहा छ- वास्तविकतासँगको सम्पर्कबाट नै सिकाइ हुन्छ तर फेरि पनि हामी आफ्ना सन्तानलाई त्यसबाट टाढा राख्छौं । परिणामस्वरूप, सद्गुण र सफलताबारेको गलत धारणाले युवा मनलाई गलत बाटोतर्फ डोर्‍याउँछ, र जब उनीहरूले आफैं वास्तविकता बुझ्छन्, तब आफूलाई असफल र अड्किएको महसुस गर्छन् । हाम्रो औपचारिक शिक्षाले उपलब्धिको प्रमाणपत्र त दिन्छ, तर व्यक्तिलाई निश्चित, स्पष्ट, सुरक्षित र कर्ममा बलियो बनाउने गरी जीवन र समाजको स्पष्ट चित्र देखाउन असफल छ । हाम्रो शिक्षा प्रणालीले झूटा सद्गुण र ज्ञानको प्रमाणपत्र मात्र बेचिरहेको छ ।

ज्ञानको स्वतन्त्रताबिना शिक्षा व्यर्थ हुन्छ र बालबालिकालाई ज्ञानको स्वतन्त्रता र वास्तविकताको सत्यबाट टाढा राख्दै, स्कुलका बेन्च र पुस्तकको साँघुरो क्षितिजमा सीमित गर्दै स्कुलिङले निरन्तर यही गल्ती दोहोर्‍याइरहेको छ । जब विद्यार्थी परिपक्व हुन्छन्, तब उनीहरू अज्ञानता, गलत प्रस्तुतीकरण र प्रतिबन्धको पर्दापछाडि लुकेको शिक्षालाई बोझका रूपमा महसुस गर्न थाल्छन् र आफ्नै क्षमतासँग जोडिन संघर्ष गर्छन् ।

चुनौतीहरू
शिक्षा राज्यको सबैभन्दा महत्त्वपूर्ण दायित्वहरूमध्ये एक हो- बाल्यकालदेखि नै जीवनमा सफल हुन सक्षम बनाउने । नेपालको संविधानले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गरे पनि, निजी र सरकारी संस्थाबीचको ठूलो खाडलका अभिभावकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शिक्षामा खर्च व्यहोर्नुपरेको छ । शिक्षा केवल उपलब्ध र पहुँचयोग्य मात्र होइन, व्यावहारिक, अनुकूलनीय र गुणस्तरीय पनि हुनुपर्छ । 

शिक्षाको निजीकरण र राजनीतीकरण नेपालका शिक्षा प्रणालीका अरू ठूला चुनौतीहरू हुन् । शिक्षक र विद्यार्थीर्को राजनीति शिक्षाको गुणस्तर अभिवृद्धितर्फ केन्द्रित हुनुपर्छ, न कि मूलधार राजनीतिको पछि लागेर शक्ति र पदको संघर्षतर्फ ।पाठ्यक्रम र सिलेबस यसरी बनाइएका छन् कि विद्यार्थीले एकैचोटि सबै विषयमा विशेषज्ञ हुनुपर्ने दबाब हुन्छ, जसले शैक्षिक पाठ्यक्रमभन्दा बाहिरको ज्ञान, सूचना र अनुभव आर्जन गर्ने अवसरबाट वञ्चित गर्छ । नेपालमा यस्तो भ्रम छ कि शिक्षित व्यक्ति भनेको ‘उच्च पद’ को काममै हुनुपर्छ, जबकि शिक्षा मूलतः दृष्टिकोण र बुझाइ सुधार्ने प्रक्रिया हो । यस संस्कृतिले व्यक्तिलाई कुनै पनि प्रकारको काममा संलग्न हुने स्वतन्त्रताबाट वञ्चित गर्न सक्छ ।

शिक्षाको निजीकरण र राजनीतीकरण नेपालका शिक्षा प्रणालीका अरू ठूला चुनौतीहरू हुन् । शिक्षक र विद्यार्थीर्को राजनीति शिक्षाको गुणस्तर अभिवृद्धितर्फ केन्द्रित हुनुपर्छ, न कि मूलधार राजनीतिको पछि लागेर शक्ति र पदको संघर्षतर्फ । शिक्षाको राजनीतीकरणले राजनीतिक दल र नेताहरूलाई मात्र फाइदा पुर्‍याएको छ- विद्यार्थी, शिक्षक र शैक्षिक संस्थामाथि नियन्त्रण र प्रभुत्व जमाउने माध्यमका रूपमा । तर शिक्षा र विद्यार्थी यस्ता नियन्त्रणबाट सबैभन्दा स्वतन्त्र हुनुपर्छ ।

सुरक्षा रूपमा शिक्षा
के नेपालमा शिक्षाले साँच्चिकै सक्षम र जिम्मेवार नागरिक तयार गरिरहेको छ, कि लुकेका विकृति, गलत प्रस्तुतीकरण, विचारधारा, वर्गीय स्वार्थ, सीमित जानकारी, विचार, मूल्य, अनुभव र दृष्टिकोण मात्र थोपरिरहेको छ ? नेपालमा शिक्षाले प्रायः सफलभन्दा बढी दुःखी विद्यार्थी उत्पादन गरिरहेको देखिन्छ । दुःखी व्यक्ति कहिलेकाहीँ मात्र दुःखविरुद्ध लड्ने इच्छाका कारण सफल हुन्छन् । विद्यालयहरूले बालबालिकाको चाहनाबारे पर्याप्त बुझाइ राखेका छैनन् । अभिभावक र विद्यालयले शिक्षाको नाममा सानै उमेरदेखि अनावश्यक दबाब सिर्जना गर्दै बालबालिकालाई बाँध्ने र सीमित गर्ने काम गरिरहेका छन् । शिक्षा अझै पनि पुरानो धारणामा आधारित छ, जहाँ स्मरणशक्तिको अत्यधिक पीडा र परीक्षाकेन्द्रित अनावश्यक कठोर दबाब बालबालिकाको मनमा हालिन्छ ।

शिक्षाले विद्यार्थीलाई आफ्ना काम र निर्णयप्रति निश्चित र सुरक्षित बनाउनुपर्छ- ताकि उनीहरूको ज्ञान र प्रज्ञा जीवनका अवसर र परिणामहरूको कुञ्जी बनोस् र उनीहरू राज्यशक्तिविरुद्ध व्यक्तिको गरिमा जोगाउन ‘जिम्मेवार उपस्थिति’ जनाउन सक्ने हुनुपर्छ । शिक्षा यस्तो संयन्त्र हुन हुँदैन, जसले बुझाइ र चेतनाको क्षितिज साँघुरो पारेर व्यक्तिलाई शक्ति र हैसियतमा पूर्ण रूपमा निर्भर बनाओस्, जसले आत्ममूल्यन र आत्मसम्मान कमजोर बनाओस् । त्यसैले औपचारिक शिक्षा सीमाबद्धता र प्रतिबन्धको साधन बन्नु हुँदैन । नत्र, यसले फाइदाभन्दा बढी हानि पुर्‍याउनेछ ।

अबको बाटो 
जेन–जी आन्दोलन र जेन–जीका मागहरूको कुरा गरिरहँदा शिक्षाको कुरा मुख्य केन्द्रबिन्दुमा नआउनु निराशाजनक छ । जुन शिक्षा प्रणाली छ, तीनले युवाहरूलाई उचित तरिकाले खारिरहेको छ वा छैन, उचित बाटोमा पुर्‍याइरहेको छ वा छैन जस्ता पक्षको मूल्यांकन हुन जरुरी छ । जेन–जी आन्दोलन राजनीतिक समस्याका कारणले भएको जस्तो देखिए तापनि यस आन्दोलनको मर्म युवाहरूको आर्थिक सुरक्षा, विकास उन्मुख पठन संस्कृति, नैराश्यताभन्दा माथि उठेर जीवनलाई हेर्न सक्ने अनुभूति, नयाँ अनुभवहरूबाट सिक्न र जीवनलाई नियाल्न सक्ने सबैलाई समान अवसरहरू जस्ता पक्षहरू रहेका छन् । पुँजीवाद बजार, सामाजिक र पारिवारिक दबाबहरूले युवाको बाटो संकुचित बनाएर अनावश्यक किसिमले नचाहिँदो महत्त्वाकांक्षा, खोक्रो र चाँडो सफलताको माग र व्यक्तिगत सीमितता जस्ता विषयले युवाहरूलाई नैराश्यतातिर धकलिरहेको छ ।

मनीष लामिछाने लामिछानेले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully