लोकतन्त्रमा सडक प्रदर्शन स्वाभाविक र आम उपक्रम हो । तर, प्रदर्शन हिंसात्मक हुन्छ जब थोरै प्रदर्शनकारी धेरै शक्ति देखाउनुपर्ने उद्देश्यबाट प्रेरित हुन्छन् । यस्तो घटना यसकारण पनि हुन सक्छ, प्रदर्शनकारीको चरित्रलाई सुरक्षा संयन्त्रले सही मूल्यांकन गर्न सक्दैन ।
शुक्रबार राजावादीले काठमाडौंमा गरेको प्रदर्शनमा दुवै अवस्था जिम्मेवार देखिएका छन् । परिणामतः तीनकुने र आसपासको क्षेत्र प्रदर्शनकारीको कब्जामा पुग्यो । प्रदर्शनका नाममा गैरकानुनी गतिविधिमा संलग्नमाथि त राज्यले कारबाही गर्ने प्रक्रिया अघि बढाएकै छ । तर चार–पाँच हजार मानिस सडकमा उत्रिएकै भरमा राज्य असहाय हुने अवस्था स्वाभाविक होइन । तसर्थ, शुक्रबारको घटनामा सुरक्षा संयन्त्रबाट पूर्वआकलन र पूर्वतयारीमा कमजोरी भएको विषयमा समीक्षा र सुधारको प्रतिबद्धता अपेक्षित छ ।
राजावादीको प्रदर्शनमा पत्रकारसहित दुई जनाले ज्यान गुमाउनुपर्यो । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाइयो । प्रज्वलनशील इन्धनको डिपो र दर्जनौं जहाज रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगो फ्याँकियो । कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा आक्रमण गरियो । भाटभटेनी सुपरमार्केटमा लुटपाट गरियो । एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरियो । निजी घर, गाडी तथा सार्वजनिक सम्पत्ति जलाइयो । आगो निभाउन गएको दमकलसमेत तोडफोड गरियो । प्रदर्शनकारीले १२ स्थानमा आगजनी गरेका र निजी तथा सरकारी गरी १८ भवन तोडफोड गरेका प्रहरीको तथ्यांक छ । प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंले त प्रहरीलाई पेल्दै गाडी चलाए । राजावादी र उनका कमान्डरको स्वभावको आकलन गरी पूर्वतयारी गरेको भए यो क्षति न्यूनीकरण गर्न सकिन्थ्यो भन्ने सुरक्षा विज्ञहरूको टिप्पणी छ, यो घटनाको समीक्षा भविष्यका लागि पाठ हुनु अपरिहार्य छ ।
राजावादीलाई तीनकुनेमा प्रदर्शन गर्न दिइएको थियो । त्यहाँ आउन सक्ने प्रदर्शनकारीको संख्या कति हो, उनीहरूको तयारी के–कस्ता छन्, उनीहरू संयमित भएनन् भने क्षति पुर्याउन सक्छन् भन्नेतर्फ गुप्तचरीय सूचना र विश्लेषण पर्याप्त भएको देखिएन । परिस्थिति भड्किएपछि पनि नियन्त्रणमा लिइराख्न तत्कालै तय गरिनुपर्ने रणनीति र त्यसबारेको सूचना प्रवाह र समन्वयमा पनि सुरक्षा निकाय चुकेको देखियो । जसकारण, प्रदर्शन अराजक बन्दै जाँदा संवेदनशील क्षेत्रको सुरक्षामा समेत कमजोरी हुँदै गएको देखिन्छ । विमानस्थलजस्तो संवेदनशील क्षेत्रभित्र आगो फ्याँक्न राजावादी सफल हुनुको कारण त्यही थियो ।
शुक्रबारको घटनाका प्रमुख सूत्रधार पूर्वराजा ज्ञानेन्द्र शाह हुन् भन्नेमा नेपाली समाज स्पष्ट छ । घटनाको अघिल्लो दिन बिहीबार मात्रै ज्ञानेन्द्रले दुर्गा प्रसाईंसँग निर्मल निवासमा दुई घण्टा छलफल गरेर उनलाई प्रदर्शनको कमान्डर तोकेका थिए । विवादित, अराजनीतिक र उद्दण्ड स्वभावका व्यक्तिलाई कमान्डर तोक्नुको अन्तर्य जे थियो, घटना पनि त्यस्तै भयो । शान्तिपूर्ण आवाज उठाउने नियत भएको भए दुई करोड जनसंख्या र करिब ६ लाख राजावादी मतदाता भएको मुलुकमा ज्ञानेन्द्रले दुर्गा प्रसार्इंलाई नै रोज्नुपर्ने बाध्यता थिएन । प्रहरीलाई सामूहिक रूपमा कुल्चन सडकमा गाडी कुदाउने उनी प्रहरीकै घेराबाट भाग्न सफल भए । यो आश्चर्यजनक अवस्था हो ।
परिस्थितिलाई निरन्तर आफ्नो निगरानी र नियन्त्रणमा राख्न नसक्दा नै शुक्रबारको प्रदर्शनका क्रममा ठूलो क्षति हुन पुगेको हो । सुरक्षाको जिम्मेवारीमा रहेका सबै निकायले यसलाई आफ्नो नियमित समीक्षाको विषय बनाउनुपर्छ भन्नेमा शंका छैन । तर, आजका अराजकले भोलि हौसला नपाऊन्, यही प्रवृत्ति दोहोर्याउन नपाऊन्, निजी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिमा उत्पात मच्चाउन नपाऊन् भनेर पनि देशको संसद्ले सुन्न, देख्न र भन्न पाउने गरी प्रतिवेदन लेखिनु जरुरी छ । गृह प्रशासन तथा सुरक्षासँग जोडिएका निकाय स्वयंले गर्ने समीक्षा नगरेका होलान् भन्ने होइन । तर, यस्ता निकायका आफ्नै सीमितताबीच रहेर गर्ने अनुसन्धानले निकट भविष्यमा हुन सक्ने अर्को दुर्घटनालाई निस्तेज नगर्न सक्छ । त्यसैले अधिकारसम्पन्न जाँचबुझ समितिमार्फत सम्पूर्ण पक्षको छानबिन गर्नु उपयुक्त हुन्छ ।
निःसन्देह शुक्रबारको आगजनीसहितको वितण्डा दैनन्दिनको घटना होइन । यसको उद्देश्य, पृष्ठभूमि र भविष्य पनि भयानक छ । त्यसैले यसका पक्षहरूलाई निगरानी गर्न र सम्भावित रणनीति बनाउन पनि विस्तृत जाँचबुझको आवश्यक छ । यस्ता जाँचबुझले घटनाको विवरणलाई पनि विश्वसनीय बनाउनेछ । यस्तो छानबिनले राज्य पक्षका कमजोरीलाई पनि उजागर गर्न सक्छ । जसलाई आगामी दिनमा सुधार गर्दै लैजान सकिन्छ । भविष्यमा सुरक्षा रणनीति चुस्त बनाउन सकियो, भौतिक र प्राविधिक बन्दोबस्तीमा बढोत्तरी गर्न सकियो भने शुक्रबारको जस्तो प्रदर्शन सहजै व्यवस्थापन हुन सक्छ ।
