‘दान’ को दुःखान्त

सत्तारूढ दलले पार्टी कार्यालय बनाउन निश्चित व्यापारीसँग अपारदर्शी माध्यमबाट सहयोग लिने प्रवृत्तिले दलविशेष कमजोर हुनेमा शंका छैन ।

कार्तिक १, २०८१

सम्पादकीय

The tragedy of 'Dan'

आजभन्दा करिब २४ सय वर्षअघि दक्षिण एसियाको केन्द्रको शासनमा रहेका चाणक्यद्वारा प्रतिपादित ‘साम, दाम, दण्ड, भेद’ को नीति राजनीति, कूटनीति, द्वन्द्वदेखि व्यक्तिगत तथा संस्थागत हितसम्म उसैगरी अनुसरण भइरहेको छ । त्यसमध्ये दोस्रो जुक्ति अर्थात् दामको संक्षिप्त अर्थ हो– पैसा वा सम्पत्तिमार्फत आफ्नो पक्षमा ल्याउनु । सत्ताको नेतृत्वकर्ता दल एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि एक निश्चित व्यापारीको ‘दान’ लिन सत्तारूढ दल एमालेले गरेको निर्णय चाणक्यको ‘दाम’ को नीतिसँग तुलनायोग्य बनेको छ । 

राजनीतिक दलहरूको घोषित मूल उद्देश्य आमजनको सेवा हो । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार नेपालमा कहाँ छ ? किन छ ? यसको जिम्मेवार को हो ? र, अब राज्यको नेतृत्वसँग के कस्तो योजना छ ? यो लेखाजोखा समाजले गरिरहेको छ । यसका लागि गृहकार्य गर्नुको सट्टा सत्तारूढ दलले पार्टी कार्यालय बनाउन निश्चित व्यापारीसँग अपारदर्शी माध्यमबाट सहयोग लिने प्रवृत्तिले दलविशेष कमजोर हुनेमा शंका छैन । जनताको लोकप्रिय तथा निर्वाचन क्षेत्रविशेषबाट प्राप्त सिटको मर्यादा राख्न पनि दलहरूले पारदर्शी हिसाबकिताब राख्न अपरिहार्य छ । तर, यो आधारभूत विषयमा पनि ध्यान नदिँदा अलोकप्रिय बनेका दलहरूले आफ्नो चिन्ता गरून्, नगरून्, उनीहरूले जानून् । तर, यस्ता प्रवृत्तिले जनताले आफ्नो निर्णय आफैं गर्ने व्यवस्था कमजोर नबनोस्, यस विषयमा चिन्ता गर्नैपर्ने भएको छ ।

दुई वटा संविधानसभा तथा पछिल्ला संसद्हरूमा व्यापारीहरूको प्रवेश उल्लेखनीय घटनाका रूपमा स्थापित छ । ल्हारक्याल लामा, इच्छाराज तामाङजस्ता व्यक्तिहरू सभासद तथा सांसद भएका छन् । यही संसद्मा पनि पटकपटक मन्त्री भइसकेका, पार्टीभित्र प्रभावशाली भूमिकामा रहेकाहरूले समानुपातिकतर्फबाट सांसद बनेका छन् । मुख्यतः उनीहरू आफ्नो राजनीतिक प्रतिबद्धता र निरन्तरताका कारणले भन्दा पनि पार्टीलाई गरेको आर्थिक सहयोग र पार्टीले उपलब्ध गराएको अवसरको लेनदेनका कारण सभासद बन्न सफल भएका हुन् । २०७० मा एमालेबाट सभासद बनेकी राज्यलक्ष्मी गोल्छाले त पार्टीलाई पटकपटक गरी सात करोड रुपैयाँ बुझाएको सार्वजनिक वक्तव्य नै दिएको विषय स्मरणीय छ । उनीहरूमध्ये कैयौं अहिले संसद् वा पार्टी राजनीतिमा देखिँदैनन् । उनीहरू किन राजनीतिमा आएका थिए, कता गए भन्ने पत्तो छैन ।

सांसद मात्रै होइन, राजदूतदेखि विभिन्न संस्थाका राजनीतिक नियुक्तिमा यस्तै प्रवृत्ति देखिन्छ । अर्थात् आर्थिक सहयोग र पदीय अवसरको साटफेर भएको पाइन्छ । लिनेले लिन्छ, दिनेले आफ्नो स्वार्थ पूरा भएपछि राजनीतिक मैदान छाडेर हिँड्छ । त्यसका लागि कोही जवाफदेही बन्नुपरेको छैन । पछिल्लो प्रकरण यही प्रवृत्तिको विकसित स्वरूप मात्रै हो । अब यो प्रवृत्ति अन्त्य हुनुपर्छ । यति बेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ अपेक्षित छ, उनको जवाफले सरकार र एमाले मात्र होइन, सत्तामा उसको प्रमुख सहयोगी कांग्रेस, तीन महिनाअघिसम्म सरकारको नेतृत्वमा रहेको माओवादी र अहिले प्रतिपक्षमा रहेको नयाँ दल रास्वपाले पनि आत्मचिन्तन गर्नु आवश्यक छ । 

पुराना दलका अपारदर्शी प्रवृत्तिले जनतामा निराशा बढाएको विषय लुकेको छैन । देशले नेतृत्वको मात्र विकल्प खोजेको होइन, प्रवृत्तिको पनि विकल्प खोजेको छ । प्रवृत्तिको विकल्प खोज्ने हो भने संसदीय राजनीतिक प्रतिस्पर्धामा आएका दलले राजनीतिक भविष्य उज्ज्वल देखाउन सकेका छैनन् । किनकि वैकल्पिक राजनीतिको आशा देखाएर आएको रास्वपाले कस्ता उम्मेदवारलाई संसद्मा पठाएको थियो भन्ने ढाकाकुमार श्रेष्ठ प्रकरणले नै स्पष्ट पारेको छ । किनकि रास्वपा सरकारमा जाने भएपछि उनले एक मेडिकल व्यवसायीबाट दुई करोड मागेका थिए जसको बदलामा उनले मन्त्री बनेबापत सहयोग गर्ने वचन दिएका थिए । संयोगले अडियो सार्वजनिक भएपछि ढाकाकुमार रास्वपाबाट निष्कासित भए तर पनि यो प्रकरणले के देखिन्छ भने पुराना र नयाँ दलमा पनि वित्तीय अनुशासनको व्यापक अभाव छ ।

राजनीतिक दल लोकतन्त्रका संवाहक हुन् तर संवाहक नै कमजोर धरातलमा उभिए भने समग्र संरचना नै कमजोर हुन्छ भन्ने चिन्ता हो । त्यसैले पुराना दल सच्चिन र नयाँ दलले सिक्न अझै धेरै छ, यसका लागि सत्तारूढ दलले पार्टी केन्द्रीय कार्यालय प्रकरणलाई पुनर्विचार गर्नुपर्छ, यसबाट एमाले र सबै दलका लागि शिक्षा बन्नुपर्छ ।

एमाले जग्गा दान प्रकरण

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully