एमाले पार्टी कार्यालय गुरुङले बनाउनेबारे गम्भीर प्रश्न उठ्यो, प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ : महामन्त्री शर्मा

आश्विन ३०, २०८१

कान्तिपुर संवाददाता

A serious question was raised about UML party office being set up by Gurung, the Prime Minister should make it clear: Mahamantri Sharma

काठमाडौँ — सरकारमा सहभागी दल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले भाटभटेनीका सञ्चालक व्यापारी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि जग्गा र त्यसमा बनाइदिएको भवन दान लिने निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्ने माग गरेका छन् । 

कांग्रेस महामन्त्री शर्माले बुधबार कान्तिपुरसँग कुरा गर्दै एमाले केन्द्रीय कार्यालय निर्माण गरेर व्यापारीले दानमा दिने विषयमा विवादका साथै गम्भीर प्रश्न उठेकाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्पष्ट पार्नुपर्ने बताएका हुन् । 'एमालेको केन्द्रीय कार्यालय व्यवसायी मीनबहादुर गुरुङले निर्माण गरेर दान दिने विषयले गम्भीर प्रश्न उठ्यो, यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्छ,' शर्माले भने ।

एमालेको केन्द्रीय कार्यालय १० रोपनी १४ आना जग्गामा निर्माण गरेर व्यवसायी गुरुङले २०८२ को दसैंमा दिने बताएका छन् । उक्त जग्गामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र व्यवसायी गुरुङले असोज २५ गते शिलान्यास गरेका थिए । 

यस विषयमा एमालेभित्रै विवाद रहेको पाइएको पनि शर्माले बताए । एमालेका नेताहरूले सार्वजनिक रूपमा नै व्यापारीले केन्द्रीय कार्यालय निर्माण गर्ने कुराको विरोध गरिरहेका छन् । 

सरकारको नेतृत्व गरिरहेको पार्टीको केन्द्रीय कार्यालय अदालतबाट भ्रष्टाचार र करछलि मुद्दामा अदालतबाट दोषी ठहर रहेको कैद भुक्तान गर्न बाँकी व्यापारीले बनाउने विषयमा सरकारको प्रमुख घटक कांग्रेसले चासोका साथ हेरिरहेको बताइएको छ । 

एमाले जग्गा दान प्रकरण

कान्तिपुर

Link copied successfully