एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लियो : प्रभु साह

आश्विन २९, २०८१

विनय आजाद

UML openly accepted bribe from the owner of Bhatbhateni: Prabhu Sah

सिरहा — आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले नेकपा एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लिएको आरोप लगाएका छन् । 

सिरहाको गोलबजारमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । सरकारवादी मुद्दाका प्रतिवादी रहेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले संरक्षण पाउनका लागि सरकारको नेतृत्व गरेका पार्टीलाई घुसबापत अर्बौंको जग्गा दान गरेको उनको आरोप छ । 'यो खुलमखुला घुस हो,' उनले प्रश्न गरे, 'यदि त्यसो होइन भने के उहाँले हामीजस्ता गरिब पार्टीलाई दान दिनुहुन्छ त ?'

साहले लाखौं सदस्य भएको र अथाह सम्पत्ति भएको अर्बपति पार्टीले सदस्यहरूबाटै चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने भए पनि एमालेले घुस लिएको कुरा प्रस्ट भएको उनले बताए । यसले एमाले र त्यस पार्टीका नेताहरूको भ्रष्ट चरित्र उदांगो पारेको र एमालेको यो कदम नेपाली राजनीतिलाई थप विकृत बनाउने भन्दै उनले चिन्ता व्यक्त गरे । 

आफ्नो पार्टी कार्यालयसमेत बनाउन नसक्ने र खुलमखुला घुस लिने एमालेबाट मुलुक बन्छ भन्ने विश्वास गर्न नसकिने उनको भनाइ छ । व्यापारीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब, असहाय र निमुखालाई सहयोग गर्नुपर्नेमा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र मेयरहरु भएको सत्ताको नेतृत्व गर्ने पार्टीलाई सहयोग गरेर जनतालाई लुटिरहेको आरोप पनि उनले लगाए ।

एमाले जग्गा दान प्रकरण

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully