गुरुङले पारदर्शी र खुला दिलले दिएको जग्गादान स्वीकार्‍यौं : एमाले 

आश्विन ३०, २०८१

कान्तिपुर संवाददाता

Gurung gave it transparently and with an open heart Land donation accepted: UML

काठमाडौँ — एमालेले पार्टी केन्द्रीय कार्यालय भवनका लागि व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले स्वीकार गरेको बताएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार विज्ञप्ति जारी गरी पार्टी भवनका लागि प्राप्त भएको जग्गामा कुनै सौदाबाजी र लेनादेना नभएको भन्दै यसबारे आएका टीकाटिप्पणी खेदजनक भएको बताएका छन् । ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ,’ गौतमको दाबी छ, ‘अन्तर्मनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन ।’ 

गौतमले गुरुङका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उनी आफैंले सामना गर्ने बताएका छन् । उनले लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको तर्क गर्दै जग्गा दानबारे आएका टीकाटिप्पणी सार्वजनिक खपतका लागि भएको बताएका छन् । ‘यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको व्यहोरा अनुरोध गर्दै तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुनेछन्,’ उनको भनाइ छ । 

एमालेले विगतमा अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्नेक्रममा रहेको सन्दर्भमा गुरुङ दम्पतीले दान दिएको जनाएको छ । एमालेले पार्टी भवन निर्माणका लागि पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिंगो बैठकबाट आहृवान गरेको थियो । 

केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आहृवान भएको उल्लेख गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको सन्दर्भ उल्लेख गर्दै एमाले ‘सफल व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व हाम्रो पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग’ गरेको बताएको छ । 

‘यसलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८ औं बैठकले संस्थागत रुपमा स्वीकार गरी उहाँलाई सहयोगका निम्ति धन्यवाद दिएको छ,’ एमालेले विज्ञप्तिमा भनेको छ । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरुको उपस्थितमा असोज २५ गते औपचारिक रुपमा दानबाट प्राप्त जग्गामा भवन उद्‌घाटन भइसकेको छ । गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तर्संस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको एमालेले प्रस्ट्याएको छ ।

एमाले जग्गा दान प्रकरण

कान्तिपुर

Link copied successfully