काठमाडौँ — सरकारमा सहभागी दल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले भाटभटेनीका सञ्चालक व्यापारी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि जग्गा र त्यसमा बनाइदिएको भवन दान लिने निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।
कांग्रेस महामन्त्री शर्माले बुधबार कान्तिपुरसँग कुरा गर्दै एमाले केन्द्रीय कार्यालय निर्माण गरेर व्यापारीले दानमा दिने विषयमा विवादका साथै गम्भीर प्रश्न उठेकाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्पष्ट पार्नुपर्ने बताएका हुन् । 'एमालेको केन्द्रीय कार्यालय व्यवसायी मीनबहादुर गुरुङले निर्माण गरेर दान दिने विषयले गम्भीर प्रश्न उठ्यो, यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्छ,' शर्माले भने ।
एमालेको केन्द्रीय कार्यालय १० रोपनी १४ आना जग्गामा निर्माण गरेर व्यवसायी गुरुङले २०८२ को दसैंमा दिने बताएका छन् । उक्त जग्गामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र व्यवसायी गुरुङले असोज २५ गते शिलान्यास गरेका थिए ।