परीक्षण क्षमता बढाउन जरुरी- विचार - कान्तिपुर समाचार

परीक्षण क्षमता बढाउन जरुरी

निरञ्जन पराजुली

कोरोना भाइरस (कोभिड–१९) ले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा संसारलाई हल्लाइरहेको छ । नेपालमा सम्भावित संक्रमण रोकथामका लागि सरकारले आम मानिसको भीडभाड नियन्त्रण, क्वारेन्टाइन र आइसोलेसनमा जोड दिए पनि प्रयोगशालाको परीक्षण क्षमता वृद्धि गर्नेतर्फ पटक्कै ध्यान पुर्‍याएको देखिँदैन ।


दक्षिण कोरिया छोटो समयमा २ लाख ७० हजारभन्दा बढी सम्भावित सङ्क्रमितको प्रयोगशाला परीक्षण गरी कोरोना भाइरस फैलने दर नियन्त्रण गर्न सफल भएको छ । तर नेपालमा यस अवधिमा करिब ६ सय व्यक्तिको मात्र कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको बुझिन्छ । यसले गर्दा नेपालमा कोरोना सङ्क्रमितको पहिचान कठिन देखिन्छ ।


विश्वव्यापी भाइरसको परीक्षण ‘रियलटाइम पीसीआर’ बाट गरिन्छ । नेपालमा हाल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण हुँदै आएको छ । त्यसबाहेक सरकारले पाटन अस्पताल, वीर अस्पताल र बीपी कोइराला मेमोरियलमा पनि यसको परीक्षण सुरु गर्ने भएको छ । रोग परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उच्च बायोसेफ्टीसहितको ‘बीएसएल थ्री’ स्तरको प्रयोगशाला चाहिन्छ । यस्तो प्रयोगशाला देशका विभिन्न स्थानमा यसअघि नै खोल्नुपर्नेमा सरकारले समयमा सोच नपुर्‍याएका कारण नेपालमा ‘मलिक्युलर बायोलोजी’ सिस्टमबाट रोगको परीक्षण गर्ने क्षमता विस्तार हुन नसकेको हो ।


यद्यपि नेपालमा केही शैक्षिक संस्था र निजी स्वास्थ्य अनुसन्धानशालामा पनि ‘बीएसएल’ स्तरको प्रयोगशाला सञ्चालनमा आएका छन् । त्यसैगरी काठमाडौंमा विभिन्न ल्याबमा दस–बाह्र वटा ‘रियलटाइम पीसीआर’ भएको अनुमान छ । जहाँसम्म यो उपकरण चलाउन सक्ने जनशक्तिको कुरा छ, बायोटेक्नोलोजी र माइक्रोबायोलोजी अध्ययन गरी ‘रियलटाइम पीसीआर’ र भाइरसमा आधारित अनुसन्धानमा थेसिस वा शोध प्रकाशन गरेका व्यक्ति र निजी क्षेत्रमा भएका साधनस्रोतलाई प्रयोगमा ल्याई दक्षिण कोरियाको जसरी परीक्षणलाई व्यापकता दिन आवश्यक छ ।


सरकारले तत्काल १ लाख परीक्षण किट विदेशबाट खरिद गर्नुपर्छ र दैनिक कम्तीमा १ हजार स्याम्पल परीक्षण गर्नुपर्छ । आवश्यक परे ‘प्लेन चार्टर्ड’ गरेर भए पनि सरकार उक्त किट र उपकरण खरिद गर्न विशेष संवेदनशील हुनुपर्छ । ‘लकडाउन’ ले तत्कालका लागि केही राहत दिए पनि भाइरसको संक्रमण नियन्त्रण गर्ने उपयुक्त विकल्प होइन । स्मरण रहोस्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले त्रिविबाट मेडिकल माइक्रोबायोलोजी र बायोटेक्नोलोजी अध्ययन गरेकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने अनुमति दिएको छैन । नेपालमा पढाइ हुने एमबीबीएस शैक्षिक कार्यक्रममा ‘मलिक्युलर बायोलोजी’ पढाइ नहुने भएका कारण कतिपय चिकित्सक भाइरस जेनेटिक्स र आधुनिक परीक्षण विधिबारे जानकार छैनन् ।


आम जनतालाई कोरोना भाइरसको परीक्षणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनकुन जिन, प्राइमर, प्रोब अर्थात् विस्तृत प्रोटोकल प्रयोग गरेको हो, सो सार्वजनिक गर्नुपर्छ । किनकि बिरामीबाट ‘स्वाब’ लिँदा भाइरस टाँसिएर आएन भने परीक्षण ‘फल्स नेगेटिभ’ आउँछ । यस्तो अवस्थामा बिरामीको स्वास्थ्य अवस्था र लक्षण हेरी पुनः परीक्षण गर्नुपर्छ । भुटानमा तीन पटक परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएकामा चौथो पटकको परीक्षणमा कोरोना भाइरस पोजेटिभ रिजल्ट आएको थियो । त्यसबाहेक हालै वैज्ञानिकहरूले रगतमा एन्टिबडीको परीक्षण गरेर पनि कोरोना भाइरसको संक्रमण निश्चित गर्न सकिने बताएका छन् । यो दोस्रो विकल्पमा पनि स्वास्थ्य अधिकारीहरूले ध्यान दिन आवश्यक छ ।


झट्ट हेर्दा, सङ्क्रमितको सङ्ख्या युरोप र अमेरिका जस्ता आधुनिक जीवनशैली भएका देशहरूमा बढी र नेपाल लगायत अल्प विकसित मुलुकमा कम देखिएको छ । भाइरसको संक्रमण प्रत्येक व्यक्तिको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमतामा निर्भर हुने भएकाले फरक भूगोल र वातावरणमा व्यक्तिविशेषमा यसको असर पृथक् हुन सक्छ । इतिहास हेर्ने हो भने नेपाललगायत कम विकसित मुलुकमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी भाइरसको संक्रमण बढी भेटिएको थियो । अर्थात्, कोभिड–१९ र डेंगी भाइरस तुलना गर्दा धनी र गरिब देशको जीवनशैली, वातावरण र मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई पनि विश्लेषण गर्नुपर्छ । तथापि यसलाई पुष्टि गर्ने वैज्ञानिक आधार भने छैन ।


सरकारले गत फागुन २७ देखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टाइन र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था लागू गरेको थियो । त्यसबीच भारत र अन्य देशबाट नेपाल प्रवेश गरेका लाखौं मानिस कहाँ र कसरी बसेका छन्, यसको लेखाजोखा सरकारले गरेको छैन । यसमा विशेष चासो दिन आवश्यक छ, किनभने संक्रमण फैलिएका मुलुकबाट नेपाल प्रवेश गरेका केही व्यक्तिमा उक्त भाइरसको जोखिम नकार्न सकिँदैन ।


स्यानिटाइजर र मास्कको हल्ला

शोधकर्ताका अनुसार, हाल महामारीका रूपमा देखा परेको कोरोना भाइरस प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा तीन दिनसम्म बाँच्न सक्छ । तामामा भने करिव चार घण्टा बाँच्ने अनुसन्धानले पुष्टि गरेको छ । वैज्ञानिकका अनुसार, नयाँ कोरोना भाइरसको प्रसारण ‘एरोसोल’ र भौतिक सामग्रीबाट हुन्छ । त्यसैले संक्रमण फैलिन नदिन स्यानिटाइजर र मास्कको प्रयोग विश्वव्यापी बढ्दो छ । नेपालमा पनि ललितपुर महानगरपालिकाले रक्सीबाट स्यानिटाइजर र कपडाको मास्क बनाउने तालिम सञ्चालन गरेको थियो । केही सञ्चार माध्यम योसँग जोडिएका वैज्ञानिक तथ्यलाई नहेरी ‘रक्सीबाट स्यानिटाइजर’ बन्ने भन्दै गलत प्रचारमा उत्रिए ।


विश्व स्वास्थ्य संगठनका अनुसार, स्यानिटाइजरमा इथानोल ८० प्रतिशत, हाइड्रोजन पेरोक्साइड शून्य दशमलव १२५ प्रतिशत, ग्लिसेरोल १ दशमलव ४५ प्रतिशत हुनुपर्छ । इथानोलको बदलामा ७५ प्रतिशत ‘आइसोप्रोपाइल अल्कोहल’ प्रयोग गर्न पनि सकिन्छ । त्यसै गरी अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, स्यानिटाइजरमा कम्तीमा ६० प्रतिशत अल्कोहल हुनुपर्छ । स्मरण रहोस्, स्यानिटाइजरमा हाइड्रोजन पेरोक्साइडको मात्रा बढी हुनु हितकर हुँदैन । र, यसरी बनाएको स्यानिटाइजरलाई बजारमा ल्याउनुअगाडि फिल्टर गर्नुपर्छ, माइक्रोअर्गानिज्मबाट मुक्त गर्न । भारतमा गरिएको एउटा अनुसन्धानले प्रस्ट्याए अनुसार, विभिन्न बहुराष्ट्रिय कम्पनीले बनाएका स्यानिटाइजरले फरकफरक ‘एन्टी–माइक्रोबियल’ गुण देखाएका थिए । यसको अर्थ बजारमा पाइने सबै स्यानिटाइजरलाई एउटै कोटिमा राख्न मिल्दैन ।


सञ्चार माध्यमले चर्चा गरे जस्तो रक्सीबाट स्यानिटाइजर बनाउने काम अवैज्ञानिक नै हो । विश्व स्वास्थ्य संगठनले पनि रक्सीको प्रयोग गरेर स्यानिटाइजर बनाउन कसैलाई सल्लाह दिए जस्तो लाग्दैन । अप्रशोधित नेपाली रक्सी (तीनपाने) मा वास्तवमा एथाइल अल्कोहल मात्र हुँदैन । यसमा विभिन्न अल्कोहल फरकफरक परिणाममा हुन्छन् । अझ कसैले त रक्सी बनाउन अवैधानिक किसिमले युरिया मलसमेतको प्रयोग गर्ने गरेको सुनिएको छ । र, मिथाएल अल्कोहल लगायत रसायनका कारण विषालु रक्सीले मानिस मरेको समाचार आइरहेकै छ । यसरी गलत किसिमले स्यानिटाइजर बनाउने सन्देश प्रवाह गर्न आवश्यकै थिएन, किनकि नेपाली बजारमा एथाइल अल्कोहलको अभाव छ जस्तो लाग्दैन । संक्रमणको जोखिम कम गर्न ३० सेकेन्ड साबुनपानीले हात मिचेर धुँदा पनि हुन्छ, स्यानिटाइजर नै खोज्नुपर्ने पनि होइन ।


यसै गरी सञ्चार माध्यममा मास्कको कालोबजारीको कुरा निकै आयो । मास्कमै अनुसन्धान गरेका रसायनशास्त्री भानुभक्त न्यौपानेका अनुसार, कपडाबाट बनेको मास्क (अर्थात्, तीन तहको फिल्टर नभएका सर्जिकल मास्क) ले सडकको धूलो र ‘ड्रपलेट’ छेके पनि माइक्रोअर्गानिज्म रोक्न सक्दैन । मास्कमा कोरोना भाइरस नछिर्न त्यसको छिद्रको साइज कम्तीमा शून्य दशमलव ३ माक्रोन हुनुपर्छ । र, ‘एन–९५’ मास्कमा मात्र यो मापदण्ड पुग्छ । तर अन्तर्राष्ट्रिय स्वास्थ्य निकायका अनुसार, ‘एन–९५’ मास्क आम सर्वसाधारणलाई दैनिक प्रयोगका लागि डिजाइन गरेको होइन । अतः सरकारले आम जनतालाई मास्कको गुणस्तरमा आश्वस्त तुल्याउन आवश्यक छ । मास्कमा रहेको छिद्रको साइज किटान गरी माइक्रोअर्गानिज्म निर्मलीकरण गरेर मात्र मास्क बजारमा ल्याउनुपर्ने थियो । ‘युज एन्ड थ्रो’ प्रयोजनका लागि बनेको सर्जिकल मास्कको पुनर्प्रयोगले संक्रमण रोक्छ कि बढाउँछ ? अमेरिकाले स्वस्थ नागरिकहरूलाई मास्कको प्रयोगमा जोड दिएको छैन ।


अर्को पक्ष, भाइरसको संक्रमण रोक्न यसको क्यारियर (इन्टरमिडियट होस्ट) को सफाइमा जोड दिनुपर्छ । आम मानिसले दैनिक प्रयोग गर्ने सामग्रीको सरसफाइमा ध्यान दिई संक्रमणको जोखिम कम गर्न सकिन्छ । सरकारले ‘क्लिनिङ प्रडक्ट’ वा ‘डिसइन्फेक्टेड’ मा प्रयोग हुने रसायन र त्यसको परिणाम र गुणस्तरमा पनि अब ध्यान दिनुपर्छ ।


अन्तमा, सरकारले कोरोना भाइरसको ‘मलिक्युलर बायोलोजी’ परीक्षण क्षमतामा वृद्धि गर्न निजी प्रयोगशाला र शैक्षिक संस्थासँग तत्काल सहकार्य गर्न आवश्यक छ । यसका लागि ‘मलिक्युलर बायोलोजी’ र ‘भाइरोलोजी’ को ज्ञान भएका नेपाली वैज्ञानिक वा प्राविधिकको पहिचान र परिचालन राज्यले गर्नुपर्छ । संक्रमणको जोखिम कम गर्न तत्काल ‘लकडाउन’ ले केही सहयोग गरे पनि यो दिगो समाधान होइन ।


पराजुली रसायनशास्त्र केन्द्रीय विभाग, त्रिविका प्राध्यापक हुन् ।

प्रकाशित : चैत्र ११, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

भाइरसले कसरी गर्छ आक्रमण ?

मानिसको जिन १ प्रतिशत परिमार्जन हुन १० लाख वर्षजति लाग्छ । तर, भाइरसका लागि यो एक दिनमै सम्भव छ । 
 प्रीति रेग्मी

आनुवंशिक सामग्रीको सानो टुक्रा (डीएनए वा आरएनए) घेर्ने प्रोटिन सेलको कणलाई भाइरस भनिन्छ । भाइरस जीवित कोशिकाको संसर्गबिना बाँच्न सक्दैन । किनभने यसमा आफ्नो संख्या बढाउन चाहिने ‘सेलुलर मेसिनरी’ हुँदैन । आफ्नो संख्या बढाउन भाइरसले अरू जीवमा प्रवेश गर्नुपर्ने हुन्छ ।


भाइरसलाई जीवित र निर्जीवबीचको सूक्ष्म कण पनि भनिन्छ । हाम्रो शरीरको कोशले नियमित रूपमा प्रोटिन बनाइरहेको हुन्छ । यही प्रोटिन बनाउने प्रक्रियाबाट भाइरसले आफूलाई चाहिने प्रोटिन लिन्छ र संख्या बढाउँदै लैजान्छ । भाइरसलाई आफ्नो संख्या बढाउन जीवित कोषहरूको सहायता चाहिन्छ । यस कारण यो सूक्ष्म जीवदेखि मानव प्रजाति सबैमा पस्छ । भाइरस यसरी प्रवेश गर्दा नै हामी संक्रमित हुन पुग्छौं ।

भाइरसले कुन बेला कुन जीवलाई संक्रमण गर्छ, त्यो यसको बनोट र आनुवंशिक प्रकृतिमा भर पर्छ । अहिले महामारीका रूपमा फैलिरहेको ‘सिभियर एक्युट रेस्पिरेटरी सिंड्रम ः कोभी–२’ (यही भाइरसबाट लाग्ने रोगलाई कोभिड–१९ भनिएको हो) र सन् २००३ मा चीनमा फैलिएको ‘सार्स कोभ’ बीच ८० प्रतिशत समानता देखिएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । २००३ मा ‘सार्स कोभ’ चमेरोबाट बिरालो अनि बिरालोबाट मानिसमा सरेको थियो ।

‘सार्स कोभ’ चमेरोमा पाइने र चमेरोको कोष प्रयोग गरेर आफ्नो संख्या बढाउने भाइरस हो । सायद यो भाइरसमा आएको आनुवंशिक परिवर्तनबाटै अहिलेको नोवल कोरोना बनेको हो । ‘सार्स कोभ’ ले एकाएक आफ्नो आनुवंशिक सामग्रीमा यस्तरी परिवर्तन ल्याएछ, यो मानव कोष चिर्न र आफ्नो संख्या बढाउँदै लैजान सक्ने भयो । यही संख्या बढाउनु नै भाइरसको महामारीको कारण हो । ‘कोभी–२’ भाइरस भर्खर नयाँ होइन । यो पहिल्यै रहिआएको भाइरसको जिनमा आएको परिमार्जनको उपज हो ।

भाइरसमा यस्तो परिमार्जन कुन बेला, कुन प्राणीलाई, कुन समयमा हुन्छ भन्ने प्रश्नको जवाफ विज्ञानसँग पनि छैन । विज्ञानले भन्छ— मानिसको जिन १ प्रतिशत परिमार्जन हुन १० लाख वर्षजति लाग्छ । तर, भाइरसका लागि यो एक दिनमै सम्भव छ । त्यसो हुँदा कुनै जनावरमा मात्र आक्रमण गर्न सक्ने भाइरस आफूलाई एक दिनमै परिमार्जन गरेर मानिसलाई आक्रमण गर्ने बन्न सक्छ ।

अहिले यो महामारी रोक्ने विधि खोज्न विज्ञान लागिपरेको छ । विज्ञानले जे पनि गर्न सक्छ भन्ने युगमा एउटा सानो भाइरस तह लगाउन ठूला वैज्ञानिकहरूलाई नै हम्मेहम्मे परेको छ । विज्ञानले काम गर्ने आनुवंशिक डाटाबेसबाट हो । कुनै पनि जीवको जिन अध्ययनपछि मात्र त्यसविरुद्ध औषधि वा खोप बनाउन सकिन्छ । यो भाइरसको आनुवंशिक जानकारी २०२० जनवरीमै पत्ता लागेको हो । सुन्नमा आएअनुसार यो भाइरसविरुद्धको खोपको परीक्षण हुँदै छ ।

नेपालमा यो भाइरसले महामारीकै रूप लिएको छैन । तर, अहिलेकै अवस्थाले पनि हामीले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्न नसकेको कटु सत्य उजागर गरिदिएको छ । विश्व नयाँ भाइरस बनाउन सक्ने अवस्थामा पुगिसकेका बेला हामी भने भाइरस परीक्षणका लागि समेत विदेशीकै भर पर्ने हालतमा छौं । कोरोना महामारीले वैज्ञानिक अध्ययन–अनुसन्धानमा हामी धेरै अगाडि बढ्न आवश्यक रहेको औंल्याएको छ ।

रेग्मी जैविक प्रविधि केन्द्रीय विभाग, त्रिविकी उपप्राध्यापक हुन् ।

प्रकाशित : चैत्र ११, २०७६ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×