१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संकटमा नागरिकको दायित्व

सम्पादकीय

यतिखेर सम्पूर्ण विश्व ठूलो संकटबाट गुज्रिरहेको छ । ११ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नभएका देश विरलै छन् । अहिलेसम्म विश्वभर झन्डै तीन लाख मानिस यसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । जानकारहरू भन्दै छन्, यो स्तरको सर्वव्यापी त्रासदी पहिलो र दोस्रो विश्वयुद्धमा पनि थिएन ।

संकटमा नागरिकको दायित्व

पश्चिमा विकसित मुलुकहरूसमेत विषाणुको संक्रमणसँग जुध्न र जनजीवन सामान्य राख्न कायल भइरहेको अहिलेको अवस्थामा साधनस्रोतले कमजोर नेपालजस्ता मुलुकका निम्ति प्रकोपको सम्भावित जोखिमसँग जुध्ने कार्य निकै चुनौतीपूर्ण छ । सरकारले आफ्नो ठाउँबाट कतिपय प्रयत्नहरू गरेको देखिन्छ । निश्चय पनि, सरकारी तयारीमा कमी होला, आलोचना गर्ने ठाउँ होलान्, तर सत्य के हो भने यो स्तरको संकटसित जुध्न सरकार एक्लैले सक्दैन । निजी क्षेत्र र नागरिक तहबाट पनि सबैले आफूले सकेको पहल गर्न आवश्यक छ । सरकारलाई सघाउन तथा मुलुकको अवस्था सामान्य राख्न मात्र होइन, आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन पनि यसबेला नागरिकहरू स्वयं सचेत हुन जरुरी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि नागरिकहरूलाई सावधान रहन आग्रह गरेका छन् । सरसफाइमा उचित ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन र स्यानिटाइजर प्रयोग गर्न भनेका छन् । भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुन र चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाह पालना गर्न सुझाएका छन् । धैर्यवान र सावधान हुन, संयम अपनाउन र आतंकित नहुन अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन १४ दिन घरमा क्वारेन्टाइन बसी ‘सबै दिदीबहिनी तथा दाजुभाइहरूले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने’ विश्वास व्यक्त गरेका छन् । संक्रमणबाट जोगिन अरू चिकित्सक तथा विज्ञहरूले दिएका सुझाव पनि यस्तै छन् । त्यसैले नागरिकहरूले यस्तो अनुरोधको जति पालना गर्छन्, मुलुकमा संक्रमणले घर गर्ने सम्भावना त्यति नै कम हुन्छ ।

खुसीको कुरा, नागरिक सचेतनाका केही राम्रा उदाहरणहरू देखिन थालिसकेका छन् । केही जागरुक युवाले सीमा नाकाहरूमा भारतबाट आउनेको स्वास्थ्य जाँचमा सघाइरहेको खबर आएका छन् । सहरका कतिपय पसल तथा चोक/दोबाटोमा सर्वसाधारणले नै साबुन पानीले हात धुने व्यवस्था गर्न थालेका छन् । यस्तो कार्यलाई अझ व्यापक बनाउँदा सबैको हित हुन्छ । यसका लागि सरकारकै मुख ताक्नु पनि पर्दैन । यस्तै सावधानी सार्वजनिक यातायातमा पनि अपनाउन जरुरी छ । सार्वजनिक यातायात सञ्चालकहरूले आफ्ना चालकलाई मास्क र यात्रुका लागि ह्यान्ड स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्छ । चालक तथा यात्रुहरूलाई संक्रमण नसरोस् भन्नेमा विचार पुर्‍याउनुपर्छ ।

संक्रमणबाट जोगिने प्रमुख उपाय, सकेसम्म घरबाट बाहिर ननिस्किनु हो । वृद्धवृद्धा वा जोखिममा भएका समूह यसमा बढी सावधान हुनुपर्छ । सरकारले अत्यावश्यकीय सेवा बाहेकका कार्यालयहरू केही दिनका लागि बन्द गर्नुको कारण पनि यही हो । हामी नागरिकहरूले यसको अर्थ बुझ्न सक्नुपर्छ । बाहिरफेर निस्किनुपर्ने घरका सदस्यले परिवारमा जोखिममा भएका व्यक्तिसित निश्चित दूरी कायम गर्नुपर्छ । बाहिर निस्कँदा पनि सकेसम्म कहीँ भीडभाड गर्नुहुँदैन, त्यस्तो स्थानमा जाँदा अनिवार्य मास्क पहिरिनुपर्छ । सामाजिक दूरी जति कायम गर्न सक्यो, संक्रमणको जोखिम त्यति नै कम हुन्छ ।

खासमा, कोरोना प्रभावित बाह्य मुलुकबाट आएकाहरू बढी नै सतर्क भई दुई सातासम्म घरमै ‘क्वारेन्टाइन’ मा बस्नुपर्छ । किनभने, कसलाई संक्रमण छ, कसलाई छैन भन्ने सजिलै थाहा हुँदैन । कुनै व्यक्तिलाई संक्रमण भएको लक्षण देखिँदासम्म उसमार्फत धेरैलाई रोग सरिसकेको हुन सक्छ । त्यही भएर आफू, आफ्नो परिवार र समुदाय सबैलाई जोखिमबाट टाढा राख्न बाह्य मुलुक तथा सीमा पारबाट आएका नागरिकहरू अत्यन्त सचेत हुन आवश्यक छ । संकटको यो घडीमा यस्ता व्यक्तिले आफूलाई कडा अनुशासनमा राख्नैपर्छ । सबैले बुझ्नुपर्छ– सरकारी अनुरोध नटेर्नु वा कसैको आँखामा छारो हाल्नु कुनै गर्वको विषय होइन, आफू र आफ्नो परिवार, साथीभाइ र समाजलाई धोका दिनु हो ।

साथै, अहिलेको संकटमा नागरिकहरूले पसल नै रित्तिने र बजारको आपूर्ति प्रणाली प्रभावित हुने गरी अनावश्यक खाद्यान्न सञ्चय गर्नु हुँदैन । सबै जनाले उस्तै संकट बेहोर्नुपरेको यो घडीमा कसैले पनि ‘मै मात्र खाऊँ’ भन्ने लालच राख्नु उचित हुँदैन । कदाचित लामो समयसम्म संकट लम्बियो भने यस्तो प्रवृत्तिका कारण भोलि कसैकोमा घरभरी खाद्यान्न हुने, कसैले हातमा पैसा हुँदा पनि पसलमा किन्न नपाउने परिस्थिति सिर्जना हुन सक्छ । त्यसैले अहिले हरेक नेपालीमा जिम्मेवारीबोध र मानवीय भावनाको खाँचो छ । आसन्न संकटसित जुध्ने तयारीका लागि सरकारलाई आग्रह गर्दैगर्दा हामी सबै जनाले आ–आफ्नो नागरिक दायित्व निर्वाह गर्न पनि नभुलौं ।

प्रकाशित : चैत्र ९, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?