घटनाको ४ दिन भयो, गणेशको परिवार र सरकारबीच अझै जुटेन सहमति 

सरकारले श्रीमतीलाई रोजगारी, छोरीको निःशुल्क उच्च शिक्षा र बुवाआमाको पालनपोषणको प्रस्ताव गरे पनि पीडित पक्षले राखेको सहिद घोषणा र नगर प्रहरीमाथि कारबाहीको मागमा अझै सहमति हुन सकेको छैन ।

असार २८, २०८३

विशाल कार्की

काठमाडौँ — त्रिपुरेश्वरमा आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच अझै सहमति जुट्न नसक्दा उनको शव शिक्षण अस्पतालमै छ ।

सरकारी पक्षको तर्फबाट जिल्ला प्रशासन कार्यालयले नेपाली परिवारसँग ६ बुँदे सहमति प्रस्ताव राखेको थियो । जसमा मृतककी श्रीमतीलाई रोजगारी र बुवाआमाको पालनपोषणको जिम्मेवारी र छोरीलाई नि:शुल्क उच्च शिक्षाको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भनिएको छ । महानगरपालिकाले राहतस्वरुप यथोचित रकम परिवारलाई उपलब्ध गराउनेलगायत प्रक्रिया अघि बढाउने विषयमा सहमतिको खाका बनेको छ ।

मृतक परिवार र आफन्तले राज्य प्रणाली र अस्पतालको लापरबाहीले गणेशले ज्यान गुमाएको बताउँदै आएका छन् । 'सरकारले गणेशको आत्मदाहलाई नजरअन्दाज गर्न पाउँदैन । राज्यको सिस्टम र अस्पतालको लापरबाहीले घटना भएको हो,' मृतक परिवारका तर्फबाट वार्तामा रहेका धर्मराज शाहीले भने, ‘हाम्रो मागभन्दा पनि सरकारले आफूले तयार गरेको सहमतिपत्रलाई सम्झौतामा लैजान खोज्दा सहमति नजुटेको हो ।’ 

शाहीका अनुसार मृतकका परिवार र आफन्त पक्षको माग गणेश सहिद घोषणा गर्नुपर्ने पनि छ । राइडसेयरिङ चालक रहेकाले श्रमिकका रुपमा कानुनी व्यवस्था गरिनुपर्ने, घटनाका दोषी नगर प्रहरीलाई तत्काल ज्यान मार्ने उद्योगमा सरकारले कानुनी प्रक्रिया अघि बढाउनुपर्ने, श्रीमतीलाई रोजगारी र छोरीको नि:शुल्क उच्च शिक्षाको ग्यारेन्टी हुनुपर्ने र गणेशका बुवाआमाको पालनपोषणको जिम्मेवारी सरकारले लिनुपर्ने माग पीडितले उठाएका छन् ।

महानगरपालिकाले शुक्रबार विज्ञप्तिमार्फत गणेशको परिवारलाई रोजगारी र नि:शुल्क शिक्षाको जिम्मेवारी लिने भनेको थियो ।परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र सन्ततिलाई निःशुल्क शिक्षा दिने विषयमा कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महानगरले यस्ता घटना दोहोरिन नदिन सरकारसँग समन्वय र सहकार्य गरेर आवश्यक उपाय पहिचान गर्ने र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजानेसमेत भनेको छ ।

रकम तोक्नुपर्ने र नगर प्रहरीलाई कारबाही गर्नुपर्ने मागमा भने सहमति नजुटेको मानन्धरले कान्तिपुरलाई बताए । ‘उहाँहरूले रकम तोक्नुपर्ने भन्नुभएको छ । यस्तो निर्णय त कार्यपालिका बैठकबाट मात्र हुन्छ,’ उनले भने, ‘नगरपालिकाको ड्रेस लगाएर खटिएको प्रहरीको जिम्मेवारी त संस्थाको हुन्छ । उहाँहरूले व्यक्ति तोकेर कारबाहीको माग गर्नुभएको छ ।’

पीडित पक्षले भने सबै जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिएर सरकार पन्छिन खोजेको आरोप लगाएको छ । ‘पछि गरिने भनेर सरकारले जिम्मेवारी नलिएर हुँदैन,’ सरकार पक्षसँग वार्तामा रहेका मृतकका भतिज मन नेपालीले भने, ‘काकालाई मर्न बाध्य बनाउने महानगरका २ जना प्रहरीलाई ज्यान मार्ने उद्योगमा कारबाही हुनुपर्छ । सहिद घोषणा गरेर सरकारले सालिक बनाउनुपर्छ ।’

शनिबार अबेरसम्म पनि सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा वार्ता भएको थियो । तर निष्कर्ष निस्कन सकेन । परिवारले शव नबुझेसम्म मुचुल्का र पोस्टमार्टमको प्रक्रिया अघि बढ्दैन । महानगरपालिका प्रशासनको नेतृत्व गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं शनिबार सहमति जुटाउन वार्तामा बसेका थिए ।

बिहीबार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो । उनको शव वीरबाट निकालेर महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । शव बुझ्न परिवार सहमत नभएपछि शव सुरक्षित राख्न शिक्षण अस्पतालको शवगृहमा सारिएको वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको छ । 

मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए । कान्तिपुरलाई प्राप्त भिडियोमा महिला नगर प्रहरीले भनेको नमान्ने भन्दै गणेशसँग प्रश्न गरेको र मोबाइल खसेर फुटेको विषयमा समेत विवाद भएको देखिन्छ । गणेशले भने मोटरसाइकलमा चढेका बेला आफूमाथि अन्यायपूर्वक ह्विल लक लगाइएको गुनासो गरेका छन् ।

गणेशको न्यायका लागि भन्दै शनिबार वीर अस्पतालअगाडि र माइतीघरमा समेत प्रदर्शन भएको थियो ।

सम्बन्धित समाचार-

विशाल

Link copied successfully