वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार परिवारले तत्काल शव नबुझेमा शव बिग्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानान्तरण गरिएको हो।
काठमाडौँ — आत्मदाहपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको शव शुक्रबार राति वीर अस्पतालबाट महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।
बिहीबार आत्मदाहको प्रयास गरेका राइड–सेयरिङ चालक गणेशको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। वीर अस्पतालले शुक्रबार बिहान ११: १९ बजे मृत्युको औपचारिक घोषणा गरेको थियो।
उनका आफन्तहरूले पनि सरकारले गणेशका परिवार पाल्ने जिम्मा लिनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेका थिए। वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार परिवारले तत्काल शव नबुझेमा शव बिग्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानान्तरण गरिएको हो।
उनका अनुसार वीर अस्पतालमा शव लामो समयसम्म सुरक्षित राख्न आवश्यक पूर्वाधार नभएकाले शवलाई शिक्षण अस्पतालको शवगृहमा सारिएको हो।
परिवारले शव नबुझीकन मुचुल्का तथा पोस्टमार्टम अगाडि बढाउन नमिल्ने भएकाले हाल शव नबिग्रियोस् भनेर उतै लगिएको बुढाथोकी बताउँछन्।
आत्मदाहको प्रयास गरेका गणेशको घाउ निकै गहिरो थियो र शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेकाले उनलाई बचाउन नसकिएको उपचारमा संलग्न वीर अस्पतालको बर्न तथा प्लास्टिक सर्जरी युनिटका प्रमुख डा. पीयूष दाहालले जानकारी दिएका थिए।
बिरामीको अवस्था सुरुदेखि नै नाजुक थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकहरूले गणेशलाई भेन्टिलेटर सपोर्टमा राखेका थिए।
क्रिटिकल केयर टोलीले शुक्रबार बिहानै बिरामीको कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएको थियो।
