पठाओ, इनड्राइभ र याङ्गोले भने : गणेश हाम्रो प्लाटफर्मका सक्रिय राइडर थिएनन्

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपाली आफ्नो प्रणालीमा ‘सक्रिय’ चालकको सूचीमा नरहेको प्रमुख राइड सेयरिङ प्लाटफर्महरूले जनाएका छन् ।

असार २६, २०८३

सजना बराल

Pathao, inDrive, and Yango say: Ganesh was not an active rider on our platform

What you should know

काठमाडौँ — पठाओ, इनड्राइभ र याङ्गो तीन प्रमुख राइड सेयरिङ कम्पनीले गणेश नेपाली आफ्नो प्रणालीमा ‘एक्टिभ’ नदेखिएको दाबी गरेका छन् । कम्पनीहरूले उनको पछिल्लो ट्रिप रेकर्ड र एपमा देखिएको लामो समयको निष्क्रियतालाई आधार मान्दै यस दुःखद् घटनामा आफ्नो प्रत्यक्ष प्राविधिक र व्यावसायिक संलग्नता नरहेको बताएका हुन् । 

पठाओ नेपालका प्रबन्ध निर्देशक येशु थकालीले सन् २०२३ सेप्टेम्बर २३ मा गणेश पठाओ प्लाटफर्ममा आबद्ध भएको जानकारी दिए । तर, पछिल्लो समय उनी प्रणालीमा सक्रिय नभएको थकालीको जिकिर छ । पठाओको रेकर्ड अनुसार नेपालीले अन्तिम पटक सन् २०२५ मार्चमा पठाओबाट ट्रिप लिएका थिए । उनले चलाएको मोटरसाइकल समेत पठाओको डेटाबेसमा दर्ता नभएको कम्पनीको दाबी छ ।

‘उहाँ सुरुमा फुड म्यान (डेलिभरी) का रूपमा मात्र दर्ता भएको देखिन्छ,’ येशुले भने, 'तर पछिल्लो समय सक्रिय बाइक राइडरको रूपमा उहाँको कुनै रेकर्ड देखिएको छैन । हिजोको घटनामा उहाँले चलाउनुभएको मोटरसाइकल नम्बर पनि हाम्रो डेटाबेसमा दर्ता भएको भेटिएन ।'

त्यस्तै, इनड्राइभले पनि गणेश नेपाली आफ्नोमा एकदमै कम सक्रिय रहेको बताएको छ । इनड्राइभका प्रतिनिधिका अनुसार उनले आफ्नो एपबाट जम्मा ३ सय वटा मात्र राइड लिएका थिए । घटना भएको दिन नेपाली आफ्नो प्रणालीमा अनलाइन नदेखिएको कम्पनीको दाबी छ । इनड्राइभले उनलाई ‘पार्ट टाइमर’ को संज्ञा दिँदै उनी सक्रिय चालक नभएको उल्लेख गरेको छ ।

याङ्गो नेपालका प्रमुख सन्तोष पाण्डेले पनि गणेश याङ्गोमा सक्रिय ड्राइभर नरहेको कान्तिपुरलाई बताए । ‘उहाँ हाम्रो प्लाटफर्ममा एक्टिभ हुनुहुन्न रहेछ,’ पाण्डेले भने । गणेशले पछिल्लो पटक कहिले र कहाँ राइड लिएका थिए भन्नेबारे जिज्ञासा राख्दा उनले वैयक्तिक विवरण प्रहरीलाई मात्र दिन मिल्ने प्रतिक्रिया दिए । 

पठाओ, इनड्राइभ र याङ्गो तीनवटै प्रमुख राइड सेयरिङ प्लाटफर्मले गणेश नेपालीको पेसागत सक्रियताबारे कुनै ठोस जिम्मेवारी लिएका छैनन् । प्लाटफर्महरूले प्राविधिक तथ्यांक देखाएर मृतक चालकसँगको आफ्नो सम्बन्ध टाढा देखाउन खोजेका छन् । 

चालकहरूले भने कम्पनीको यो तर्कलाई गैरजिम्मेवार मानेका छन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्त्तिनाथ फुयाँलले प्लाटफर्महरूको यो पुरानै प्रवृत्ति भएको बताए । ‘कुनै पनि अप्रिय घटना हुनेबित्तिकै ‘हाम्रोमा एक्टिभ थिएनन्’ भन्नु कम्पनीहरूको पुरानै प्रवृत्ति हो,’ उनले भने, ‘उनीहरू मन्त्रालयले सोध्दा त जवाफदेही हुँदैनन् ।’ 

चालक सुजन रानाले भने दिनमा एउटा मात्र राइड लिए पनि आफूहरू कम्पनीको सदस्य वा कर्मचारीसरह हुने तर्क गरे । ‘धेरैजसोले पार्टटाइमकै रूपमा राइड सेयरिङको काम गरेका हुन्छन्, उनीहरूले दिनमा एउटा मात्रै राइड लिन्छन्,’ सुजनले भने, ‘दिनमा एउटा राइड लिनेलाई सक्रिय थिएनन् भनेर पन्छिन मिल्छ ?’  

आफूहरूले घन्टौंसम्म एपमा राइड नपाउँदा पेट्रोल खर्च र घर व्यवहार चलाउन बाध्य भएर 'अफलाइन' राइड लिनुपर्ने सुजनको भनाइ छ । 'यो हाम्रो रहर होइन, बाध्यता हो,' उनले भने ।

चार वर्षदेखि यही क्षेत्रमा संघर्ष गरिरहेका गणेश नेपालीले भर्खरै मात्र ऋणमा नयाँ बाइक निकालेको फुयाँलले बताए । ‘आमाको उपचार र परिवारको खर्च धान्न उनले सबै एपहरू चलाउने गरेका थिए,’ उनले भने, ‘तर, उनको दुःखद् निधनपछि कम्पनीहरूले लग-इन र लग-आउटको समय हेरेर आफ्नो दायित्वबाट पन्छिन खोज्दा आम चालकहरूमा थप असुरक्षा र आक्रोश पैदा भएको छ ।’ 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully