गणेश नेपालीको परिवारलाई रोजगारी र निःशुल्क शिक्षा उपलब्ध गराउने काठमाडौं महानगरको घोषणा

महानगरले नेपालीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City announces employment and free education for Ganesh Nepali's family

काठमाडौँ — काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवारलाई सहयोग, रोजगारी र निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रवक्ता नवीन मानन्धरले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएका हुन् । महानगरले नेपालीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ ।

महानगरले नेपालीको मृत्यु घटना छानबिनका लागि सरकारले गठन गरेको समितिलाई पूर्ण सहयोग गर्ने तथा छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने प्रतिबद्धता जनाएको छ । यस्तै, सरकारसँग समन्वय र सहकार्य गरेर यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय पहिचान गर्ने र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजाने महानगरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर बिहीबार आत्मदाहको प्रयास गरेका थिए । जलनबाट सख्त घाइते नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ । 

कान्तिपुर

Link copied successfully