आत्मदाह प्रयास गरेका गणेश नेपालीले गत १३ असारमा गाउँका भतिज पर्नेलाई म्यासेज पठाएका थिए । जसमा लेखिएको थियो, 'हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार । १००० तिर्नुपर्ने भो ....।' म्यासेजको अन्तिममा दुई वटा रोइरहेको इमोजी पनि राखिएको थियो ।
What you should know
काठमाडौँ — मदन नेपाली बालाजु हाइटमा रहेको डेरामै थिए । उनलाई नचिनेको नम्बरबाट फोन आयो । फोनमा बोल्ने थिए, नेपाल प्रहरीका एक प्रतिनिधि । उनले जुन खबर सुनाए, त्यो मदनले पत्याउने खालको थिएन । साढे २ बजे उनलाई फोन आएको थियो । ३ बजे त उनी वीर अस्पताल पुगिसकेका थिए । उनी नपुग्दै उनका २६ वर्षीय भाइ गणेश नेपालीलाई इमर्जेन्सी वार्डमा लगिसकिएको थियो । वीर अस्पताल परिसरमा रहेका उनले भक्कानिँदै सुनाए, 'म त अक्क न बक्क भएँ । यहाँ आएर पो सबै कुरा थाह पाएँ ।'
मदनका भाइ गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । श्रीमती र झन्डै तीन वर्षकी छोरीसहित भक्तपुरमा डेरा गरी बस्ने गणेश बुधबार भने दाइकै डेरामा पुगेका थिए । मदनले सुनाए, 'बिहानै ५ बजे राइड गर्न निस्केको थियो । एक्कासी यस्तो खबर आयो ।'
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश केही वर्षयता काठमाडौंमा बस्दै आएका थिए । दाइ मदनका अनुसार उनी वैदेशिक रोजगारीमा दुबई जान सकिन्छ कि भनेर प्रयास गरिरहेका थिए भने लोकसेवाको तयारी पनि सँगसँगै गरिरहेका थिए । उनले भने, 'अहिले यस्तो भयो ।'
हतारिँदै वीरमा पुग्दा भाइको अवस्था हेर्न सकिने नभएको मदनले बताए । उनले इमर्जेन्सीमा रहेका बेला भाइसँग २-४ कुरा भएको भने सुनाए । उनले भने, 'बाबा-मम्मीलाई केयर गर्नु भन्यो । अनि यो सबै महानगरले गर्दा हो भन्यो । यति भनेपछि भाइको बोली हरायो ।'
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार नेपालीले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए र त्यसमा महानगर प्रहरीले ह्विल लक लगाइदिएको थियो । आफ्नो बाइकमा ह्विल लक लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् । घिमिरेले कान्तिपुरसँगको कुराकानीमा भने, 'घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्यायो ।'
यो घटना कसरी भयो भनेर हामीले काठमाडौं महानगरपालिकाका नगर प्रहरी विष्णुप्रसाद जोशीसँग पनि कुराकानी गर्यौं । विष्णुले उक्त घटना भएपछि त्यहाँ खटिएका प्रहरीसँग आफूले घटनाबारे बुझेको बताउँदै भने, 'सार्वजनिक आवागमनमा अवरोध भयो भने वा फुटपाथमा अवरोध भयो भने हामीले ह्विल लक लगाउँछौं । त्यहाँ पनि महानगर प्रहरीले ह्विल लक लगाए । तर उनले जरिवाना नतिर्ने बताएपछि मोटरसाइकल उठाउन गाडी पुगेका बेला त्यस्तो घटना भयो ।' जोशीका अनुसार ह्विल लक गरेको २ घन्टापछि गणेशले 'जरिवाना तिर्दिनँ, जहाँसुकै लैजानुस' भनेर भनेका थिए । त्यसपछि त्यहाँ खटिएका प्रहरीको खबरपछि नगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली गाडी लिएर सवारी उठाउन पुगेको थियो । उनले थपे, 'गाडी पुगेपछिको कुरा हो । हाम्रा प्रहरीहरू गाडी अगाडि थिए । उनीहरूले अरू काम गरिरहेका बेला गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंमाथि छर्केर आगो लगाएछन् भन्ने सुन्यौं । तर हाम्रा जवानहरूले त्यो कुरा केहीबेरपछि मात्रै देखे ।'
जोशीले यसरी ह्विल लक गरिएको घटनामा दुईपांग्रे सवारीका धनीले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने बताए । 'तपाईंहरूसँगको विवादपछि पो यो घटना भएको हो कि ?' भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, 'हामीले विवाद गर्नेभन्दा पनि कानुनअनुसारको प्रक्रिया अघि बढाउने मात्रै हो । एक हजार जरिवाना मात्रै मृत्युको कारण पक्कै होइन होला । यसका अन्य कारण पनि होलान् ।'
जोशीले महानगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली सवारी उठाउन पुगेको बताएपछि हामीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज अधिकारीलाई घटनाबारे सोध्यौं । उनले यो घटनाबारे आफूहरूसँग जानकारी नभएको र यसरी उठाउने काम महानगर प्रहरीले गरेको बताए । उनले आफूहरूले भने ह्विल लकको केसमा महानगरले भन्दा कम जरिवाना गर्ने गरेको बताउँदै एकचोटिको दुईपांग्रेको हकमा आफूहरूले ५०० रुपैयाँ मात्रै जरिवाना गर्ने गरेको बताए ।
घटनापछि ३ वर्ष पनि नपुगेकी छोरी च्यापेर गणेशकी श्रीमती एकमाया हान्निँदै अस्पताल पुगेकी थिइन् । तर अस्पतालको हुलमुलमा उनले आकस्मिक उपचार कक्षभित्र छिरेर श्रीमान्लाई भेट्न भने पाइनन् । आफूलाई बल्लतल्ल सम्हालिरहेकी एकमायाले भनिन्, 'खै कसरी यस्तो भयो ? म केही भन्न सक्ने अवस्थामा छैन।'
एकमायालाई श्रीमान्ले कतिमा मोटरसाइकल किनेका थिए र त्यसको किस्ता ठ्याक्कै कति तिरे भन्ने एकिन विवरण पनि छैन । उनले अनुमान गर्दै सुनाइन्, '३ लाख जतिमा किनेको जस्तो लाग्छ । आधा जति किस्ता तिरेको भन्नुहुन्थ्यो ।'
घटनाबारे थाहा पाएर गाउँको भतिज नाता पर्ने मन नेपाली पनि अस्पतालमै आइपुगेका थिए । उनले काकाले आफूसँग राइड गर्दा नगर प्रहरीबाट दुःख पाइरहेको कुरा सुनाउने गरेको र कहिलेकाहीँ त एकैदिन दुईपटकसम्म जरिवाना तिर्नुपर्ने अवस्था रहेको दुःखेसो सुनाएको बताए । उनले गत १३ असारमा गणेशले पठाएको म्यासेज देखाए । त्यसमा लेखिएको थियो, 'हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार । १००० तिर्नुपर्ने भो ....।' यस्तो लेखिएको म्यासेजको अन्तिममा दुईवटा रोइरहेको इमोजी पनि राखिएको थियो ।
गणेशका जेठान पदम नेपालीले भने सरकारले आम्दानीभन्दा ठूलो जरिवाना लगाउँदा यस्तो घटना भएको भन्दै आक्रोश पोखे । उनले अस्पताल ल्याएपछि पनि तत्काल उपचारमा पैसाको अभाव भएको बताए ।
मदनले आफूहरूलाई उपचार खर्च जुटाउनै पनि समस्या भइसकेको बताए । उनले भने, 'मेरो नागरिकता देखाएर उधारोमा औषधि ल्याएको छु । अरू खर्च कसरी जुटाउने, केही थाहा छैन ।'
गणेशको घर रहेको सोरु गाउँपालिका–१ का वडाध्यक्ष धनकर्ण मल्लले नेपालीको परिवार आर्थिक रूपमा विपन्न रहेको र उनी केही महिनायता कामको सिलसिलामा काठमाडौं पुगेको बताए । उनले भने, 'गाउँमा त केही गरीखाने अवस्था छैन । खेतीपातीले वर्षदिन पनि खान नपुग्ने अवस्था छ । त्यस्तो परिवारमा यस्तो घटना भयो ।'
वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियुस दाहालका अनुसार सुरुमा उनलाई आकस्मिक कक्षमा उपचार सुरु गरिएको थियो । त्यतिबेलासम्म उनी बेला-बेलामा थोरै-थोरै बोलिरहेका थिए । उपचारमा संलग्न एक चिकित्सकले करिब ७० प्रतिशत भाग जलेको र अवस्था निकै चिन्ताजनक रहेको बताए ।
