आत्मदाह प्रयास गर्ने युवालाई न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

मुगुवासीले विभिन्न माग राख्दै बिहीबार अपराह्न माइतीघर मण्डलामा प्रदर्शन गरेका हु्न् ।

असार २५, २०८३

कान्तिपुर संवाददाता

Protest at Maitighar Mandala demanding justice for the youth who attempted self-immolation

What you should know

काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने गणेश नेपालीलाई न्यायको माग गर्दै उनका जिल्लावासीहरुले प्रदर्शन गरेका छन् । मुगुवासीले विभिन्न माग राख्दै बिहीबार अपराह्न माइतीघर मण्डलामा प्रदर्शन गरेका हु्न् । 

मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए । बिहीबार दिउँसो काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । 

वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियुस दाहालका अनुसार उनको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनलाई सघन उपचार कक्ष (आइसीयू)मा लैजाने तयारी भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सकले करिब ७० प्रतिशत भाग जलेको बताए ।

Protest at Maitighar Mandala demanding justice for the youth who attempted self-immolation

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र बाइकमा प्रहरीले व्हिल लक लगाइदिएको थियो । आफ्नो बाइकमा व्हील लक लगाएको भन्दै बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् । आगो लगाएपछि घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो ।

गणेशका दाइ मदनले कान्तिपुरसँग कुरा गर्दै उपचार खर्च जुटाउनै पनि समस्या भइसकेको बताए । उनले भने, 'मेरो नागरिकता देखाएर उधारोमा औषधि ल्याएको छु । अरु खर्च कसरी जुटाउने केही थाह छैन ।'

Protest at Maitighar Mandala demanding justice for the youth who attempted self-immolation

तस्बिर : दिपेश दर्शनधारी/कान्तिपुर

कान्तिपुर

Link copied successfully