आत्मदाह प्रयास गरेका गणेशले दाइसँग भने- ‘यो सबै महानगरले गर्दा हो’

राइड सेयरिङ एपमार्फत राइडरको काम गर्ने उनको मोटरसाइकलमा 'ह्वीललक' लगाएपछि घटना भएको थियो, उनी वैदेशिक रोजगारीमा दुबई जाने प्रयासमा थिए ।

असार २५, २०८३

जनकराज सापकोटा

Ganesh, who attempted self-immolation, told his brother: ”This is all because of the metropolis.”

What you should know

काठमाडौँ — मदन नेपाली काठमाडौंको बालाजु हाइटमा रहेको डेरामै थिए । उनलाई नचिनेको नम्बरबाट फोन आयो । फोनमा बोल्ने थिए, नेपाल प्रहरीका एक प्रतिनिधि ।

उनले जुन खबर सुनाए, त्यो मदनले पत्याउने खालको थिएन । उनी हान्निएर वीर अस्पताल पुगे ।

उनी नपुग्दै उनका २५ वर्षीय भाइ गणेशलाई इमर्जेन्सी वार्डमा लगिसकिएको थियो । वीर अस्पतालको परिसरमा रहेका उनले भक्कानिँदै सुनाए, 'म त अक्क न बक्क भएँ । यहाँ आएर पो सबै कुरा थाहा भयो ।' 

मदनका भाइ गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । श्रीमती र झन्डै तीन वर्षकी छोरीसहित भक्तपुरमा डेरा गरी बस्ने गणेश बुधबार भने दाइकै डेरामा पुगेका थिए । मदनले सुनाए, 'बिहानै ५ बजे राइड गर्न निस्केको थियो । एक्कासि यस्तो खबर आयो ।' 

इमर्जेन्सीमा रहेका बेला भाइसँग दुईचार कुरा भने भएको थियो । 'बाबा मम्मीलाई केयर गर्नु भन्यो । अनि यो सबै महानगरले गर्दा हो भन्यो । यति भनेपछि भाइको बोली हरायो,' उनले भने ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार गणेशले राहदानी विभागअघि मोटरसाइकल पार्किङ गरेका थिए । पछि त्यसमा महानगर प्रहरीले 'व्हीललक' गरिदियो । घिमिरेका अनुसार आफ्नो बाइकमा 'व्हीललक' लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् । 'घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍यायो,' घिमिरेले कान्तिपुरसँग भने। 

वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियूष दाहालका अनुसार सुरुमा गणेशलाई आकस्मिक कक्षमा उपचार सुरु गरिएको थियो । त्यतिबेलासम्म उनी थोरैथोरै बोलिरहेका थिए ।

उपचारमा संलग्न एक चिकित्सकले करिब ७० प्रतिशत भाग जलेको र अहिले अवस्था निकै चिन्ताजनक रहेको बताए । 

मुगुको सोरु गाउँपालिका-१ स्थायी घर भएका गणेश दुई वर्षयता काठमाडौंमा बस्दै आएका थिए । दाइ मदनका अनुसार उनी वैदेशिक रोजगारीमा दुबई जाने प्रयासमा थिए ।

उनको परिवार आर्थिक रुपमा विपन्न अवस्थामा छ । सोरु-१ का अध्यक्ष धनकर्ण मल्लले भने, 'गणेश केही महिनायता कामको सिलसिलामा काठमाडौं पुगेका थिए । गाउँमा त केही गरिखाने अवस्था छैन । खेतीपातीले वर्ष दिन पनि खान नपुग्ने अवस्था छ । त्यस्तो परिवारमा यस्तो घटना सुन्नुपर्‍यो ।'

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully