राहदानी विभाग अगाडि शरीरमा आगो लगाएका युवकको अवस्था गम्भीर

वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियुस दाहालका अनुसार उनको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

असार २५, २०८३

कान्तिपुर संवाददाता

The condition of the youth who set himself on fire in front of the Department of Passports is critical

काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आगो लगाएका युवाको स्वास्थ गम्भीर र चिन्ताजनक रहेको उपचारमा सम्लग्न वीर अस्पतालका चिकिकत्सहरूले बताएका छन् ।

बिहीबार दिउँसो काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए ।

वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियुस दाहालका अनुसार उनको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनी बेलाबेलामा अलिअलि बोल्ने गरेको चिकित्सकहरूले बताएका छन् । 

उनलाई सघन उपचार कक्ष (आइसीयू)मा लैजाने तयारी भइरहेको छ । उपचारमा सम्लगन एक चिकित्सकले करिब ७० प्रतिशत भाग जलेको बताए ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नेपालीले विभाग अगाडी मोटरसाइकल पार्किङ गरेको र बाइकमा प्रहरीले व्हिल लक लगाइदिएको थियो । आफ्नो बाइकमा व्हील लक लगाएको भन्दै बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् । 

आगो लगाएपछि घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो ।

कान्तिपुर

Link copied successfully