चिडियाखानाभित्र मरेका कागमा अझै पनि बर्डफ्लु पुष्टि

काठमाडौं उपत्यकाका तीन जिल्लासहित ११ जिल्लामा बर्डफ्लु फैलिएको छ । अहिले सबैभन्दा बढी संक्रमण भने काभ्रेमा देखिएको छ ।

असार २५, २०८३

अर्जुन पौडेल

Bird flu still confirmed in crows found dead inside the zoo

What you should know

काठमाडौँ — ललितपुरको सदर सदर चिडियाखानाभित्र मरेका कागमा बर्डफ्लु संक्रमण पुष्टि हुने क्रम अझै जारी छ । केन्द्रीय भेटेरिनरी प्रयोगशालाले पछिल्लो पटक पठाएको मरेका कागको नमुनामा पनि बर्डफ्लु पुष्टि भएको हो । 

चिडियाखानामा रहेका गिद्ध, लाटोकोसेरो, हाँसजस्ता पन्छी तथा बनबिरालो लगायतमा समेत बर्डफ्लु संक्रमण पुष्टि भएपछि असार ५ देखि चिडियाखाना बन्द छ । संक्रमणबाट यहाँका पन्छीको मृत्यु भइरहे पनि चिडियाखाना प्रशासनले घटना लुकाउने प्रयास गरेको आरोपसमेत लागेको थियो । घटनाबारे छानबिन समिति नै बनाइएको थियो ।

दैनिक करिब २ हजार र बिदाको दिन ५ हजार जनाले अवलोकन गर्ने चिडियाखाना बन्द भएपछि हालसम्म करिब २ करोड राजस्व गुमेको अधिकारीहरूले बताएका छन् । संक्रमण पुष्टि भइरहेकाले तत्काल खुल्ने अवस्था नरहेको चिडियाखानाका प्रवक्ता गणेश कोइरालाले बताए ।

'पछिल्लो पटक मरेका कागको नमुनामा पनि बर्डफ्लु संक्रमण पुष्टि भयो,' उनले भने, 'काग चिडियाखानामा पालिएको पन्छी होइन तर यो उडेर चिडियाखानाभित्र पनि आउजाउ गरिरहने पन्छी हो । संक्रमण यहाँका पन्छीमा पनि सार्ने हुँदा चिडियाखानामा वातावरणीय जोखिम भने रहन्छ ।' 

केन्द्रीय भेटेरिनेरी प्रयोगशालाबाट बर्डफ्लु नभएको प्रतिवेदन प्राप्त भएपछि र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुमति दिएपछि मात्रै चिडियाखाना सर्वसाधारणका लागि खोलिने चिडियाखाना प्रशासनको भनाइ छ ।

उपत्यकामा करिब एक महिनाअघिबाट सुरु भएको बर्डफ्लु हालसम्म ८४ वटा पोल्ट्री फार्ममा पुष्टि भइसकेको छ । तीमध्ये काठमाडौंका २८, भक्तपुरका ४१ र ललितपुरका १५ वटा फार्म रहेका छन् । 

काभ्रेपलाञ्चोकका २२ वटा कुखुरा फार्ममा पनि यस रोगको संक्रमण पुष्टि भएको छ । बिहीबार मात्र संक्रमण पुष्टि भएका काठमाडौंका दुई फार्म, काभ्रे र ललितपुरको एकएक फार्ममा कुखुरा नष्ट र नि:संक्रमणका लागि टोली खटाइएको थियो ।

पशुसेवा विभागका अनुसार चैतयता मात्र ७ लाख ५४ हजारभन्दा बढी कुखुरा र हाँस नष्ट गरिएको छ । देशका ११ जिल्लाका पोल्ट्री फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ । संक्रमण प्रभावित फार्ममा रहेका करिब ११ लाख अण्डा र करिब २ लाख ५० हजार किलोग्राम दाना पनि नष्ट गरिएको छ ।

'आज पनि चार फार्मका कुखुरा नष्ट गर्न प्रविधिकसहित टोली परिचालन गरिएको छ,' पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक तथा एभियन इन्फ्लुएन्जा नियन्त्रण एवं रोग निगरानीका प्रमुख फोकल पर्सन डा. मुकुल उपाध्यायले भने, 'अहिले सबैभन्दा बढी संक्रमण काभ्रेपलाञ्चोकमा देखिएको छ ।' 

नेपालमा एभियन इन्फ्लुएन्जा ए (एच-फाइभ एन-वान), ए (एच-नाइन एन-टु) र ए (एच-फाइभ एन-एक्स) लगायतका भाइरसले कुखुरामा संक्रमण फैलाइरहेका छन् । यी अत्यधिक संक्रामक भाइरस हुन्, जसले विशेषगरी कुखुरा र हाँसजस्ता घरेलु पन्छीलाई असर गर्छन् ।

पूर्वी नेपालमा पछिल्लो पटक चैतमा देखिएको संक्रमण अहिले काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकसहित ११ जिल्लामा फैलिएको छ ।

नेपालमा पहिलो पटक सन् २००९ जनवरीमा बर्डफ्लुको संक्रमण पुष्टि भएको थियो । त्यसयता प्रायः हरेक वर्ष संक्रमण फैलिने गरेको छ, जसका कारण लाखौं पन्छी तथा ठूलो परिमाणमा पोल्ट्रीजन्य उत्पादन नष्ट गरिएको छ । पर्याप्त क्षतिपूर्ति नपाएपछि धेरै किसानले पोल्ट्री व्यवसाय नै छाडेका छन् । 

यसअघि नेपालमा सन् २०१९ मा बर्डफ्लुका कारण एक जनाको मृत्यु भएको थियो ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully