चिडियाखानामा बर्डफ्लु फैलिएको घटना किन लुकाइयो ? 

जेठ २९ गतेदेखि नै चिडियाखानाभित्र बर्डफ्लु फैलिएर धमाधम चराहरू मर्न थाल्दा समेत चिडियाखाना प्रशासन गम्भीर नबनेको भन्दै कोषले साहलाई जिमेम्वारीबाट हटाएको हो ।

असार ९, २०८३

शिखा श्रेष्ठ

Why was the bird flu outbreak at the zoo covered up?

What you should know

काठमाडौँ — बर्डफ्लु संक्रमणजस्तो संवेदनशील विषयमा समयमै जानकारी नदिएको भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाएर छानबिन थालेको छ । जेठ २९ गतेदेखि नै चिडियाखानाभित्र बर्डफ्लु फैलिएर धमाधम चराहरू मर्न थाल्दा समेत चिडियाखाना प्रशासन गम्भीर नबनेको भन्दै कोषले साहलाई जिमेम्वारीबाट हटाएको हो ।

चिडियाखानाले ५ असारमा मात्रै चिडियाखाना बन्द गराएको थियो । हालसम्म चिडियाखानामा साना-ठूला गरी ३७ पशुपन्छी मरिसकेको र २४ वटामा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ ।

चिडियाखानाभित्र रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि अहिले यहाँको अवस्था जोखिमपूर्ण बनेको छ। जसका कारण चिडियाखाना पूर्ण रुपले सिल गरिएको छ । पंक्षीहरुमा लाग्ने अति संक्रामक बर्डफ्लु एकपटक पुष्टि भएपछि सजिलै फैलिन्छ । यसले चिडियाखानामा रहेका अन्य दुर्लभ पंक्षी तथा जनावरहरूमा पनि गम्भीर असर गरिरेको छ । अझ डरलाग्दो कुरा त यो भाइरस मानिसमा पनि सर्न सक्ने भय उत्तिकै छ । 

पशु सेवा विभागका अनुसार चिडियाखानाका चाराहररु २९ जेठदेखि नै मर्न थालेका थिए । चराचुरुंगीहरू मर्ने क्रम नरोकिएपछि विभागअन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा १ असारमा पहिलोपटक तीनवटा चरा पोष्टमार्टमका लागि लगिएको थियो । ती सबैको नमुना परीक्षणबाट 'हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा' अर्थात् एचफाइभएन वान बर्डफ्लु पुष्टि भएको थियो । पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्याय भन्छन्- असार १ गते जुबाट विभिन्न चराहरू पोस्टमार्टमका लागि हाम्रो केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ल्याउनुभएको थियो । हामीले त्यसलाई तत्कालै टेस्ट गर्यौँ, र्‍यापिड टेस्ट पनि गर्यौँ र पीसीआर, जुसलाई कन्फर्मेटरी टेस्ट भन्छ मोलिक्युलर डायग्नोसिस, त्यो गर्दा एचफाइभएनवान, पाएका थियौँ । अर्को दिनलगत्तै हाम्रो टोली चिडियाखान गइको थियो । त्यहाँका सम्पूर्ण जानकारीहरू प्राप्त गरेअनुसार अलि अगाडिदेखि नै पंक्षीहरू मर्ने र कतिपयमा उहाँहरूले आफै पनि र्‍यापिड टेस्टहरू गरेको जानकारी पाएका थियौं । 

संक्रमणबाट लोपोन्मुख लाटोकोसेरो, बकुल्ला,  दुर्लभ गिद्द, राजहाँस, सारसलगायत दर्जनौं पन्छी मरिसकेका छन् । चिडियाखानामा साना स्तनधारी जनावरहरू पनि मरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाका निमित्त प्रमुख बाबुलाल तिरुवाका अनुसार चिडियाखानाभित्रका जंगली बिरालो, नीरबिरालो, चरीबाघ, हरिण, बाँदरलगायतका जनावरमा पनि यो संक्रमण पुष्टि भएको छ । 

सदर चिडियाखाना निमित्त प्रमुख बाबुलाल तिरुवाका अनुसार चराहरूमा लाटोकोसेरो, नेपाली कालिज, सावरी भन्ने एउटा चरा मरेका छन् । चराबाहेक केही साना स्तनधारी जनावरहरूको पनि मृत्यु भएको छ । जंगली बिरालो र चरिबाघ पनि मरेका छन् । 

चिडियाखानामा चितुवाको पनि मृत्यु भएको छ । स्रोतका अनुसार चितुवाको ल्याब परीक्षणमा पनि बर्डफ्लु नै देखिएको छ । यद्यपि निमित्त प्रमुख तिरुवाले प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेको बताए । त्यसो त हालसम्म कति पन्छी तथा जनावरहरू मृत्यु भयो, मृत्यु हुने क्रम रोकिएको छ वा छैन भन्नेबारे आधिकारिक रुपमा सरकारी निकाय बोलेको छैन । स्रोतका अनुसार हालसम्म कूल ३७ पशुपंक्षी तथा जीवजन्तुको मृत्यु भएको छ । जसमा २४ वटामा बर्डफ्लु पुष्टि भएको छ र अन्यको परीक्षण जारी छ । 

अधिकारीहरूका अनुसार सदर चिडियाखानामा यति ठूलो मात्रामा बर्डफ्लु संक्रमण फैलिएको यो पहिलो पटक हो । चिडियाखानामा पस्ने काग र अन्य जंगली पन्छीबाट संक्रमण फैलिएको अनुमान गरिएको छ । 

जाउलाखेलस्थित सदर चिडियाखानाभित्रका चरा तथा जीवहरु मरेपछि अनुसन्धान गर्न कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको आदेशमा गठन भएको छानबिन समितिले अनुसन्धान गरिरहेको छ । तर त्यहाँ कति पन्छी तथा जनावर मरे आधिकारिक तथ्यांक भने सार्वजनिक भएको छैन ।  यसबारे कोषका प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाह संयोजकत्वको ३ सदस्यीय छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको छ । समितिको प्रतिवेदन आइसकेपछि मात्रै विस्तृतमा  सार्वजनिक गरिने मन्त्रालयको भनाइ छ। 

कृषि, वन तथा  पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल भन्छन्- राष्ट्रिय प्रकृति संरक्षण कोषको भेटेरिनरी डाक्टरहरू लगाएर त्यहाँको टिमले छलफल र अध्ययन गरिरहेको छ । त्यो टिमले गरेको अध्ययन प्रतिवेदन दिइसकेपछि सबै कुराहरू चाहिँ सार्वजनिक हुनेछ ।

बिदाको दिन औसतमा ५ हजारले अवलोकन गर्ने चिडियाखानामा बर्डफ्लु फैलिएपछि असार ५ गतेदेखि अनिश्चितकालका लागि बन्द छ । चिडियाखानामा अहिले २० कर्मचारीले किटाणु निर्मलीकरणको काम गरिरहेका छन् । 

शिखा श्रेष्ठ कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।

Link copied successfully