प्रवासी चरा र कागमा पनि बर्डफ्लु : मानिस कति जोखिममा ?

चिडियाखानाका पन्छी र स्तनधारी जनावरमा समेत बर्डफ्लु पुष्टि भइसकेको छ । कागमा बढ्दो संक्रमणले भने यसको फैलावट र जनस्वास्थ्य जोखिमबारे चिन्ता बढाएको छ ।

असार २१, २०८३

फणीन्द्र संगम

Bird flu also in migratory birds and crows: How at risk are humans?

What you should know

काठमाडौँ — अन्टार्कटिका क्षेत्रमा प्रजनन गर्ने ब्राउन स्कुआ नामक ठूलो आकारको समुद्री चरा प्रजनन अवधि सकेर उत्तरतिर बसाइँ सर्छ । खाना र न्यानो वातावरणको खोजीमा पश्चिमी अस्ट्रेलियाको एस्पेरेन्स सहर नजिक पर्ने केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा पुगेको यही चरामा गत असार पहिलो साता बर्डफ्लु (एच–फाइभ एन–वान) पुष्टि भयो । 

वैज्ञानिकहरूका अनुसार चराहरूको मौसमी बसाइँसराइका कारण यो भाइरस घरपालुवा पन्छी तथा चराहरूमा फैलिने जोखिम रहन्छ । संक्रमित चरा वा जनावरसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा समेत संक्रमण सरेका घटना छन् ।

कुखुरामा देखिने बर्डफ्लु नियन्त्रणमा लिन सहज भए पनि उडेर एक ठाउँबाट अर्को ठाउँ पुग्ने कागजस्ता चरामा देखिएको बर्डफ्लु नियन्त्रण गर्न गाह्रो हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘बसाइँसराइ गर्ने चरालाई बर्डफ्लु ओसारपसार गर्ने मुख्य स्रोतका रूपमा संसारभरि नै लिने गरिन्छ,’ उनी भन्छन्, ‘तर सबैले यो रोग सार्छन् भन्ने होइन । अन्य देशमा बसाइँसराइ गर्ने चराबाट संक्रमण सरेका घटना पुष्टि भएका छन् ।’ पुनका अनुसार बसाइँसराइ गर्ने अर्थात् प्रवासी चरामा बर्डफ्लुका लक्षण प्रस्ट देखिँदैन । संक्रमित भए पनि ती सामान्य गतिविधि गरिरहेकै हुन्छन् । तर उनीहरूमा रहेको घरपालुवा पन्छीमा आइपुग्दा त्यो घातक हुन जान्छ ।

सेन्ट्रल एसियन फ्लाइवेअन्तर्गत पर्ने नेपालमा सन् २०१४ मा गरिएको एक अध्ययनमा चखेवा (रड्डी शेलडक) को नमुनामा एच–नाइन एन–टु उपप्रकारको इन्फ्लुएन्जा ए भाइरस भेटिएको थियो । ‘सर्भिलेन्स अफ इन्फ्लुएन्जा ए भाइरस एन्ड इट्स सबटाइप्स इन माइग्रेटरी वाइल्ड बर्डस् अफ नेपाल’ शीर्षकको जर्नल आर्टिकलमा यसबारे उल्लेख गरिएको छ ।

‘अध्ययनका क्रममा संकलन गरिएका कुल १ हजार ८ सय ११ नमुनामध्ये एउटा (०.०५५ प्रतिशत) नमुनामा मात्र इन्फ्लुएन्जा ए भाइरस पुष्टि भएको थियो,’ दिवेश कर्माचार्यसहितको उक्त आर्टिकलमा भनिएको छ, ‘एच–९ एन–टु भाइरसको एचए जिनको वंशाणुगत विश्लेषणले यसलाई विश्वका विभिन्न भौगोलिक क्षेत्रका जंगली तथा घरपालुवा चराचुरुंगीमा भेटिएका एच–नाइन भाइरस समूहसँग नजिक रहेको देखाएको थियो ।’

चखेवाको उक्त नमुना सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट संकलन गरिएको थियो, जुन विभिन्न देशबाट बसाइँसराइ गर्ने चराको महत्त्वपूर्ण सिमसार बासस्थानमध्ये एक हो । यो चरा नेपालमा हिउँद याममा नियमित रूपमा आउने गर्छ ।

उक्त आर्टिकलअनुसार सन् २००५ मा चीनको छिङहाई तालमा यस प्रजातिमा एच–फाइभ एन–वान भाइरस फेला परेको थियो । यी तथ्यहरूले चखेवाजस्ता लामो दूरीसम्म बसाइँसराइ गर्ने चराले एभियन इन्फ्लुएन्जा भाइरस बोक्न र टाढासम्म फैलाउन सक्ने प्रमाणलाई थप बल दिन्छन् ।

एभियन इन्फ्लुएन्जा भाइरसका प्रमुख वाहकका रूपमा रहेका एक सयभन्दा बढी जंगली चराका प्रजातिमा यो पहिचान गरिएको आर्टिकलमा उल्लेख छ । विशेषगरी हाँस, राजहाँस तथा गंगाचील, समुद्री चरा टर्न र सिमसार क्षेत्रमा बस्ने चराले प्रकृतिमा यो भाइरसलाई फैलाउन भूमिका खेल्छन् । पछिल्ला प्रमाणहरूले त अत्यन्त घातक बर्डफ्लु (एचपीएआई) एच–फाइभ भाइरसले कुखुरामा मात्र नभई जंगली चरामा पनि गम्भीर रोग र व्यापक मृत्यु गराउन सक्ने देखाएका छन् ।

Bird flu also in migratory birds and crows: How at risk are humans?बसाइँसराइ गर्ने चरालाई बर्डफ्लु ओसारपसार गर्ने मुख्य स्रोतका रूपमा लिइन्छ, अन्य देशमा यस्ता चराबाट संक्रमण सरेका घटना पुष्टि भएका छन् । - डा. शेरबहादुर पुन, संक्रामक रोग विशेषज्ञदक्षिण एसियामा सन् २००६ देखि २०१९ सम्म जंगली तथा घरपालुवा चराचुरुंगीमा एच–फाइभ एन–वानका कुल १ हजार ६३ वटा प्रकोप विश्व पशु स्वास्थ्य संगठनमा रिपोर्ट गरिएका थिए । यीमध्ये सबैभन्दा धेरै प्रकोप बंगलादेशमा र त्यसपछि नेपालमा देखिएको थियो । एच–सेभेनका कारण एसियामा ९ लाख ६४ हजारभन्दा बढी चराचुरुंगी मरेका थिए ।

धेरैजसो अध्ययनले जंगली चराचुरुंगी, घरपालुवा हाँस तथा राजहाँसमा देखिने बर्डफ्लु कम घातक र लक्षणविहीन हुने देखाएका छन् । यसको विपरीत, घरपालुवा कुखुरामा भने लक्षण तुलनात्मक रूपमा बढी स्पष्ट र गम्भीर देखिन्छ । ‘यस्ता चरामा विशेषगरी लक्षणहरू देखिँदैन, सामान्य गतिविधि गरिरहेका हुन्छन् । तर त्यही भाइरस घरपालुवा पन्छीमा आइपुग्दा घातक हुन जान्छ,’ डा. पुन भन्छन् ।

अध्ययनहरूले घरपालुवा तथा जंगली दुवै प्रकारका जलचर चरामा हल्कादेखि मध्यम खालका संक्रमण देखिएको उल्लेख गरेका छन् । घरपालुवा प्रजातिहरूमा श्वासप्रश्वास तथा स्नायुसम्बन्धी लक्षणहरू बढी स्पष्ट देखिने र मृत्यु दर पनि उच्च हुने गरेको पाइएको छ ।

अ ग्लोबल रिभ्यु अफ हाइली प्याथोजेनिक एभियन इन्फ्लुइन्जा एन्ड कन्ट्रोल स्ट्राटेजिज इन नेपाल’ शीर्षकको अध्ययनमा भनिएको छ, ‘एचपीएआईबाट संक्रमित स्वतन्त्र रूपमा विचरण गर्ने जंगली चराचुरुंगीमा कुखुरामा देखिनेजस्तै स्नायुसम्बन्धी लक्षण टाउको तथा घाँटी काँप्ने, घाँटी बांगिने, टाउको पछाडि फर्किने तथा पखेटा पक्षाघात हुने समस्या रिपोर्ट गरिएको छ ।’

दीपक सुवेदी लगायतको उक्त अध्ययनले भनेको छ, ‘यी भाइरसहरूले कहिलेकाहीं उच्च मृत्युदरका साथै स्नायुसम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी लक्षण, हरियो रङको पखाला वा अचानक मृत्युजस्ता लक्षण देखाउने गर्छन् । यस्ता लक्षणहरू अन्य भाइरसका स्ट्रेनप्रति लक्षणविहीन रहने केही जंगली प्रजातिमा समेत देखिएका छन् ।’

सन् २०११ देखि २२ अगस्ट २०२५ सम्म विश्वभर घरेलु तथा जंगली चरामा अत्यधिक घातक बर्डफ्लुका कुल १७ हजार १०४ प्रकोप अभिलेख गरिएको उक्त अध्ययनमा उल्लेख छ । एसिया र युरोप यस रोगबाट सबैभन्दा बढी प्रभावित रहेको र यहाँको सघन कुखुरापालन, जीवित पन्छीको बजार तथा बसाइँसराइ गर्ने चराचुरुंगीका मार्गका कारण बारम्बार प्रकोप देखिने गरेको निष्कर्ष निकालिएको छ ।

Bird flu also in migratory birds and crows: How at risk are humans?संक्रामक रोग विशेषज्ञ डा. पुन जंगली चराको दिसाबाट भाइरस पानीका स्रोतमा मिसिँदा त्यो प्रयोग गर्ने घरपालुवा पन्छीमा सर्ने गरेको बताउँछन् । ‘रोगको वाहकका रूपमा रहेका बसाइँसराइ गर्ने चराको घुलमिल कागसँग पनि हुने भयो । काग, हाँस वा कुखुरासँगको सम्पर्कमा आउने हुँदा बर्डफ्लुको विस्तार त्यसरी पनि भइरहेको छ । समूहमा बस्ने र समुदायको वरिपरि घुमिरहने कागबाट बर्डफ्लु सर्ने जोखिम बढी छ,’ उनी भन्छन्, ‘कुखुरा–अन्डा ओसारपसारबाट बर्डफ्लु सर्छ भन्ने बुझाइ थियो । अब त्यो बुझाइ फेरिनुपर्छ र कागबाट हुन सक्ने जोखिमबाट बेलैमा सावधानी अपनाउनुपर्छ ।’

यसअघि नेपालका विभिन्न ठाउँमा ठूलो संख्यामा काग मरेका घटना छन् । ‘अ ग्लोबल रिभ्यु अफ हाइली प्याथोजेनिक एभियन इन्फ्लुइन्जा एन्ड कन्ट्रोल स्ट्राटेजिज इन नेपाल’ अध्ययनमा सन् २००९ देखि सन् २०२५ अगस्टसम्म नेपालमा जंगली चराहरूमा उच्च रोगजनक एभियन इन्फ्लुएन्जाका सातवटा प्रकोप अभिलेख भएको उल्लेख छ । यी घटनामा विशेषगरी झापा र काठमाडौंका घर–काग प्रभावित भएका थिए । यसबाहेक, घुँगीफोर गरुड (एसियन ओपनबिल) र महाराज हंस (हुपर स्वान) मा पनि संक्रमण पुष्टि भएको थियो ।

Bird flu also in migratory birds and crows: How at risk are humans?काठमाडौंलगायत अन्य ठाउँमा धेरै संख्यामा काग मरेका घटना पहिले पनि हुँदै आएका छन्, त्यस्ता केसमा प्रायः बर्डफ्लु नै देखिने गरेको । - डा. मुकुल उपाध्याय, प्रवक्ता, पशुसेवा विभागकतिपय स्थानमा एक–दुईवटा चराको मात्र मृत्यु भएको थियो भने काठमाडौंको लैनचौरमा सन् २०१९ मा २ सय वटा काग मरेका थिए । यी प्रकोपमा कुनै पनि जंगली चरालाई नियन्त्रणका लागि नष्ट गरिएको विवरण छैन । उक्त अध्ययनअनुसार सन् २०१२ मा काठमाडौंको सिटी हलमा ४ वटा काग मरेका थिए । २०१३ मा झापाको मेचीनगर र काठमाडौंको रविभवनमा एक–एकवटा काग मरेका थिए । २०१७ मा इटहरीमा भने कागबाहेक अरू जंगली चरा पनि मरेको भेटिएको थियो । महाराज हंस १४ र घुँगीफोर गरुड एउटा मरेका थिए । २०२२ मा लैनचौरमा १५ वटा २०२३ मा सोही ठाउँमा २० वटा काग मरेको फेला परेका थिए ।

‘नेपालमा एच–फाइभ एन–वानको पहिलो प्रकोप भारतसँग सीमा जोडिएको झापामा देखिएको थियो । यसले खुला सीमाबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको अवैध ओसारपसारमार्फत भाइरस नेपाल प्रवेश गरेको हुन सक्ने आशंका उत्पन्न गरेको थियो । अर्को सम्भावना भनेको प्रवासी जंगली चरामार्फत रोग नेपालमा भित्रिएको हुन सक्ने हो,’ उक्त अध्ययनमा भनिएको छ ।

पछिल्लो पटक ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाभित्रै बर्डफ्लु फैलिएको थियो । परिसरमा कागहरू मर्न थालेपछि परीक्षण गर्दा यहाँका जनावरमा समेत बर्डफ्लु पुष्टि भएको थियो । चिडियाखाना ५ असारदेखि बन्द छ ।

चिडियाखानाको घटनाअघि पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मरेका कागमा बर्डफ्लु नै पुष्टि भएको थियो । गत चैत दोस्रो साता त्रिभुवन विश्वविद्यालय परिसरमा ५१ वटा काग मृत भेटिएका थिए । त्रिविबाट ५ किलोमिटर दूरीमा रहेको टौदहमा समेत १५ वटा काग मरेको अवस्थामा फेला परेका थिए । काभ्रेको नमेबुद्धमा पनि जेठ पहिलो साता कागमा बर्डफ्लु देखिएको थियो । नमोबुद्ध नगरपालिका–२ स्थित सैनिक ब्यारेक वरिपरि दिनहुँजसो मरेका कागको परीक्षण गर्दा यो भाइरस पुष्टि भएको थियो ।

पशु सेवा विभागका प्रवक्ता तथा वरिष्ठ चिकित्सक डा. मुकुल उपाध्याय धेरै संख्यामा कागको मृत्यु भएका घटना पहिले पनि हुँदै आएको र त्यस्ता केसमा प्रायः बर्डफ्लु नै देखिने गरेको बताउँछन् । ‘बर्डफ्लु आउटब्रेक भएका वर्ष कागमा पनि बर्डफ्लु पुष्टि भएका घटना छन्,’ उनले भने, ‘कुखुरामा रोग देखिए नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ तर काग उड्ने पन्छी भएकाले नियन्त्रणमा सहज हुँदैन, संक्रमणको जोखिम रहिरहन्छ ।’

पूर्वी नेपालमा गत चैत पहिलो साता देखिएको बर्डफ्लु दुई महिनापछि काठमाडौं उपत्यकामा पनि पुष्टि भयो । उपत्यकामा मरेका काग र चिडियाखानाका स्तनधारी जनावरमा समेत बर्डफ्लु पुष्टि हुनुले आममानिसमा संक्रामक रोगको त्रास बढेको छ ।

चिडियाखानामा मरेका कुल ३७ पशुपन्छीमध्ये २४ वटामा बर्डफ्लु पुष्टि भएको पशुसेवा विभागका प्रवक्ता डा. उपाध्यायले बताए । ‘पुष्टि भएकामध्ये कुनैमा लो प्याथोजेनिक र कुनैमा हाई प्याथोजोनिक देखिएको छ,’ उनले भने ।

Bird flu also in migratory birds and crows: How at risk are humans?सरसफाइ र निःसंक्रमणका काम भइरहेका छन्, मानव स्वास्थ्यका लागि संवेदनशील विषय भएकाले चिडियाखाना खोल्न हतार गर्नु हुँदैन । - गणेश कोइराला, प्रवक्ता, सदर चिडियाखानाचिडियाखानामा प्रवक्ता गणेश कोइरालाका अनुसार १२ असारयता यहाँका जीवजन्तुमा संक्रमणका घटना भएका छैनन् । ‘लाटोकोसेरो, हुचिल, बकुल्ला, सावरी, गिद्ध, कालिजजस्ता चरा र स्तनधारीमा जंगल क्याट, सिभेट क्याट, चरीबाघ, चितुवामा पनि बर्डफ्लु देखियो,’ उनले भने । भाइरस पुष्टि भएदेखि नै नियन्त्रणका लागि निरन्तर निःसंक्रमण गर्ने, सरसफाइजस्ता काम नियमित भइरहेको उनले बताए ।

चिडियाखानाको घटनापछि संक्रमण फैलिनुको कारण, सूचना व्यवस्थापन र समग्र अवस्थाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाएको थियो । समितिको प्रतिवेदन आएपछि र सरकारले निर्णय लिएपछि मात्रै चिडियाखाना खुल्ने प्रवक्ता कोइराला बताउँछन् । ‘काठमाडौंमा बर्डफ्लुको अवस्था अझै भयावह छ । मानव स्वास्थ्यका लागि संवेदनशील विषय पनि भएकाले तत्काल खोल्न हतार गर्नु पनि भएन । यहाँको वातावरणीय अवस्थाको विषयमा पनि अध्ययन र निरीक्षणका काम भइरहेका छन् ।’

पछिल्लो प्रकोपमा साढे ७ लाख पन्छी नष्ट

बर्डफ्लुको पछिल्लो लहर चैत ४ मा पूर्वबाट सुरु भएको हो । झापा, मोरङ, सुनसरीमा देखिएको यो प्रकोप डेढ महिनापछि मात्रै नियन्त्रणमा आयो । बारा, महोत्तरी, चितवन र नवलपरासीमा पनि बर्डफ्लु देखिएको थियो । काठमाडौं उपत्यकामा जेठको मध्यबाट सुरु भएको बर्डफ्लु संक्रमणको विस्तार चिडियाखानासम्म पुगेको हो ।

Bird flu also in migratory birds and crows: How at risk are humans?चैतयता ११ जिल्लाका ८२ ठाउँमा यसको प्रकोप देखिएको विभागको भनाइ छ । ‘यस अवधिमा ७ लाख ५० हजार हाराहारी पन्छी र करिब १० लाख ९० हजार अन्डा नष्ट गरिए,’ विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले भने, ‘दानासमेत अढाई लाख केजी नष्ट हुँदा किसानको क्षति करिब ७० करोड रुपैयाँभन्दा माथि हुन आउँछ ।’

विशेषगरी कुखुरासँग प्रत्यक्ष रूपमा काम गर्ने व्यक्ति, कुखुरापालक किसान, फार्ममा काम गर्ने श्रमिक, व्यापारीमा बर्डफ्लुको जोखिम रहँदै आएकामा अब यो दायरा बढेको र जोखिम थपिएको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘कागमा समेत बर्डफ्लुका घटना बढ्दै गएपछि आम मानिसले नै सावधानी अपनाउनुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘यो घटना सावधानीको सूचक पनि हो । मरेका कागको पखेटा उखेल्ने, खुला हातले समातेर कतै फालिदिने गर्नु हुँदैन । विशेषगरी बच्चाहरू यसको नजिक जानु अर्को जोखिम हुन सक्छ ।’

नेपालमा एच–फाइभ एन–वानको पहिलो प्रकोप सन् २००९ जनवरी १६ मा झापाको मेचीनगर नगरपालिकास्थित एक कुखुरा फार्ममा पुष्टि भएको थियो । मानिसमा भने संक्रमणको पहिलो घटना २०१९ मार्च २४ मा पुष्टि भयो, जसका कारण एक पुरुषले ज्यान गुमाएका थिए ।

बर्डफ्लु कुखुरा, हाँस लगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल घातक रोग हो । त्यस्ता पन्छीसँग प्रत्यक्ष सम्पर्क, फोहोर वा संक्रमित सामग्रीमार्फत यो रोग फैलिने र मानिसमा समेत संक्रमण हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

सन् २००३ जनवरी १ देखि २०२४ डिसेम्बर १२ सम्म २४ देशमा यो भाइरसबाट मानिसमा संक्रमण भएको घटना ९ सय ५४ वटा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । त्यसमध्ये ४ सय ६४ जनाको मृत्यु भएको छ । यसअनुसार संक्रमणको मृत्युदर ४९ प्रतिशत छ ।

फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Link copied successfully