कीर्तिपुरपछि टौदह क्षेत्रमा पनि भेटिए १५ वटा मरेका काग

केही दिनअघि त्रिवि परिसरमा भेटिएका मरेका ५० भन्दा बढी कागमा 'बर्डफ्लु' पुष्टि भइसकेको छ ।

चैत्र ११, २०८२

फणीन्द्र संगम

After Kirtipur, 15 dead crows found in Toudaha area

What you should know

काठमाडौं — त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका कागमा 'बर्डफ्लु' पुष्टि भएको केही दिनमै टौदह क्षेत्रमा पनि १५ वटा काग मरेका छन् । त्रिविबाट ५ किलोमिटर दुरीमा रहेको टौदहमा बुधबार बिहान ती काग मृत फेला परेका हुन् ।

कीर्तिपुर नगरपालिकाले घटनाबारे अध्ययन गरिरहेको जनाएको छ । 'यो केस त्रिविमा भेटिएकै कागको जस्तो हो कि भनेर चिकित्सक टोली अध्ययनमा हुनुहुन्छ,' नगरपालिकाका प्रवक्ता दिवाकर अधिकारीले भने, 'परीक्षणपछि मात्रै यकिन होला । पशु तथा पन्छी शाखाले यसमा सक्रियतासाथ काम गरिरहेको छ ।'

उनका अनुसार एक साताअघि त्रिवि परिसरमा ५१ वटा काग मृत भेटिएका थिए । बीपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालय भवनछेउ र क्रिकेट मैदान माथ्लोपट्टि ती काग भेटिएका हुन् । पशु सेवा विभागमा नमुना परीक्षण गर्दा तिनमा 'बर्डफ्लु' पुष्टि भएको हो । 'सुरुमा हाम्रो टोली गएर हेर्दा ३० वटाजति मरेको अवस्थामा भेटिएका थिए,' विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले कान्तिपुरसँग भने, 'परीक्षणमा एच-फाइभ एन-वान (बर्डफ्लु) देखियो ।'  

After Kirtipur, 15 dead crows found in Toudaha area

संक्रमण भएकै अरू चराबाट सरेको वा सिनोबाट संक्रमण हुन सक्ने उनले बताए । काठमाडौंमा उपत्यकामा अन्यत्र हाल बर्डफ्लु देखिएको छैन ।

नगरपालिकाले सबै ५१ वटै कागलाई नि:संक्रमण गरी पुरेको जनाएको छ । त्यहाँ कागबाहेक अन्य पन्छी भने मरेको नभेटिएको प्रवक्ता अधिकारीले बताए । घटनास्थलबाट संक्रमण फैलन नदिन पाउडर र औषधि छर्कने काम गरेको उनको भनाइ छ । कागमा मात्रै संक्रमण देखियो भनेर ढुक्कले बस्न सक्ने अवस्था नरहेको उनले बताए । 'काग उड्ने पन्छी भएकाले नियन्त्रण गर्न सकिन्न,' उनले भने, 'गाईवस्तुको किर्ना खान पुग्ने भएकाले जोखिम बढ्ने हो कि भन्ने चिन्ता छ ।'

After Kirtipur, 15 dead crows found in Toudaha area

पशु सेवा विभागले बर्डफ्लुबाट जोगिन पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउन, प्रयोग भइसकेको अण्डा राख्ने क्रेट पुन: प्रयोग नगर्न आग्रह गरेको छ । मरेका पन्छीलाई जतिसक्दो चाँडो खाडलमा गाड्नुका साथै पन्छी फार्ममा काम गर्ने व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि विभागले सचेत गराएको छ ।

फणीन्द्र फिचर र साहित्य लेखनमा सक्रिय संगम ईकान्तिपुरमा कार्यरत छन् । उनी डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् ।

Link copied successfully