जावलाखेल चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

चिडियाखानामा रहेका बकुल्ला, लाटोकोसेरो र गिद्धलगायतका पन्छीमा बर्डफ्लु देखिएको हो । त्यस्तै नीरबिरालो र चरीबाघमा पनि बर्डफ्लु पुष्टि भएको छ ।

असार ५, २०८३

कान्तिपुर संवाददाता

Bird flu in animals at Jawalakhel Zoo, closed indefinitely

What you should know

काठमाडौँ — सदर चिडियाखाना, जावलाखेलका पन्छी र जनावरमा बर्ड्फ्लु पुष्टि भएको छ । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लुका कारण केही चरा र जनावरसमेत मरेका छन् । 

पशु सेवा विभागमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । 'बिहीबार साँझ आएको ल्याब रिपोर्टमा बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना बन्द गर्ने निर्णय गरेका हौँ । अहिले हामीले जैविक सुरक्षाका उपायहरू अवलम्बन गरेका छौँ,' उनले भने । 

प्रवक्ता कोइरालाका अनुसार चिडियाखानामा रहेका बकुल्ला, लाटोकोसेरो, गिद्धमा बर्डफ्लु देखिएको हो । त्यस्तै नीरबिरालो र चरीबाघमा पनि बर्ड्फ्लु पुष्टि भएको छ । पन्छी र जनावर गरी ८/१० वटा मृत्युको केस रहेको उनले जानकारी दिए । अब चिडियाखानामा रहेका पन्छी र जनावरहरूको स्याम्पल लिएर बर्डफ्लु परीक्षण गरिने पनि उनले बताए । उनले भने, 'अब हामीले चिडियाखाना परिसर र परिसरबाहिरको बाटोमा पनि निसंक्रमण गर्छौं । स्यानिटेसनको काम गर्छौं ।'

कोइरालाका अनुसार कागबाट चिडियाखानाका पन्छी र जनावरमा बर्डफ्लु संक्रमण भएको अनुमान गरिएको छ । यसअघि कीर्तिपुर र टौदहमा बर्डफ्लु संक्रमणका कारण काग मरेका थिए । 

चिडियाखानाले शुक्रबारदेखि अर्को सूचना जारी नहुँदासम्म चिडियाखाना बन्द गरिने जानकारी दिएको छ । चिडियाखानाको सूचनामा भनिएको छ, 'राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ साल असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं । यसबाट दर्शकहरूमा पर्न गएको असुविधाका लागि सदर चिडियाखाना क्षमाप्रार्थी व्यक्त गर्दछ ।'

गत चैतमा मोरङबाट फैलिएको बर्डफ्लु(एच-फाइभ एन-वान) पछिल्लो समय काठमाडौं उपत्यकामा फैलिएको छ । पशु सेवा विभागका अनुसार चैत ४ गते मोरङको सुन्दरहरैचा-४ र उर्लाबारी-८ बाट फैलिएको बर्डफ्लु १० जिल्लाका ५५ फार्ममा देखिएको छ । 

उपत्यकाका कीर्तिपुर, गोकर्णेश्वर, तारकेश्वर, गोदावरी, सूर्यविनायक र भक्तपुर नगरपालिकामा रहेका फार्ममा बर्डफ्लु देखिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका १३ वटा फार्म बर्डफ्लुबाट प्रभावित भएका छन् । काठमाडौंका ८ फार्ममा ३९ हजार ४ सय ८१ कुखुरा नष्ट गरिएको छ । त्यस्तै काठमाडौंमा ६३ हजार ८ सय ५४ अण्डा र २१ हजार ५ सय किलो दाना नष्ट गरिएको छ । त्यस्तै भक्तपुरका २ वटा फार्मका ४ सय १७ कुखुरा नष्ट गरिएको छ । ललितपुरका ३ वटा फार्मका ९ हजार ७ सय ३० कुखुरा, ३ हजार १ सय ५० गोटा अण्डा र ३ हजार ७ सय किलो दाना नष्ट गरिएको छ ।

Bird flu in animals at Jawalakhel Zoo, closed indefinitely

कान्तिपुर

Link copied successfully